४ बैशाख २०८१, मंगलबार

अध्ययन बिना संरचना भत्काइएपछि स्थानीय आतङ्कित


सडक खन्दा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको १४नं वडा कार्यालयले बल्खुस्थित बन्धुदत्त मार्ग र नक्षत्र मार्गको सङ्मस्थलमा ढल व्यवस्थापनका नाममा सडक खन्दा त्यस क्षेत्रमा आवतजावत गर्ने बासिन्दालाई असर परेको छ ।

त्रिभुवन विश्वविद्यालय डिन कार्यालय, जनप्रशासन क्याम्पस र परीक्षा नियन्त्रण कार्यालयमा आउने विद्यार्थी, कर्मचारी तथा सेवाग्राहीलाई समस्या भएको हो । दैनिक १०औँ हजार मानिस हिँड्डुल गर्नुपर्ने त्यस क्षेत्रमा अध्ययन नगरीकन वडाले जथाभावी सडक भत्काएकाले समस्या भएको छ ।

वडाले स्थानीय उपभोक्ता समितिसँग समन्वय नगरी डोजर सञ्चालन गरेकाले सडक वरपरका घर तथा कम्पाउन्ड थर्केका र केही चर्केका छन् भने स्थानीयवासीका खानेपानीका पाइप भाँचिएका छन् । पाइपलाइन भाँचिएपछि खानेपानी सेवा अवरुद्ध भएकाले पनि स्थानीवासीलाई थप समस्या भएको छ ।

वडाले त्यस क्षेत्रको प्राविधिक रुपमा विस्तृत अध्ययन नगरीकन डोजर चलाएपछि स्थानीयवासीद्वय डम्बर थापा र विदुर श्रेष्ठको हाल बनाइएको ढलको संरचना पनि भत्किएको छ ।

त्यसैगरी किशोर गौतमको पर्खाल चर्किएको छ भने प्रयोग भइरहेको खानेपानीको ट्याङ्कीमा ढल पस्न सक्ने सम्भावना देखिएको छ । स्थानीय क्षेत्रमा बिग्रिएका संरचना तथा फुटेका ढलले दुर्गन्ध फैलनाका साथैे वर्सादले पैदल यात्रु हिलाम्य सडकमा चिप्लिने र लड्ने जोखिम बढेको छ । सवारी साधन गन्तव्यमा पुग्न नसकेर फर्काएर जान सक्ने अवस्था छैन ।

वडा सदस्य रश्मी खड्काले स्थानीयवासीका बिग्रिएका संरचना चाँडो निर्माण गरिने बताउनुभयो । वडाका इन्जिनियर कवीन्द्र मुनिकारले प्राविधिकरुपमा गहिरो अध्ययन नभएको स्वीकार्दै समस्या समाधानका लागि पहल भइरहेको छ भन्नुभयो ।
–––


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !