१३ बैशाख २०८१, बिहिबार

निदायो काठमाडौँ महानगर : घरघरबाट फोहर फाल्न थालेपछि वाग्मती बन्यो डम्पिङ साइट


विद्यासुन्दर शाक्य र बाग्मतीमा फोहर

काठमाडौँ । डेढ महिनादेखि काठमाडौँ उपत्यकाबाट फोहर उठ्न नसक्दा घरघरबाट वाग्मती नदीमा फोहरको थुप्रो फाल्न थालेको भेटिएको छ । यसरी घरघरबाट गैरजिम्मेवार नागरिकले फोहरको डंगुर फाल्न थालेपछि पवित्र वाग्मती नदी डम्पिङ साइट बनेको छ ।

यसरी काठमाडौँ महानगरपालिका दिउसै निदाए जस्तो गरेर बसेको छ । काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य  गैरजिम्मेवार देखिएका छन् । काठमाडौँ उपत्यकाको फोहर नउठ्दा नागरिकको स्वास्थ्यमा प्रतिकूल असर पर्ने देखिन्छ । यसरी नागरिकको स्वास्थ्यमाथि कुन खेलबाड गर्दैछ महानगर ?

बञ्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन ल्याण्डफिल साइटको पहिलो ‘सेल’ निर्माणको काम सक्न अझै केहि समय लाग्ने हुँदा फोहर व्यवस्थापनमा थप ढिला भएको हो । यो बारेमा पहिल्यै सोच्नुपर्ने होइन र ?

केवल महानगरपालिका र सरकारलाई दोष मात्र दिएर हुँदैन । नागरिक आफै संचेत र जिम्मेवार पनि हुनुपर्छ । आखिर किन महानगरवासीले पनि पवित्र नदी बाग्मतीमा फोहर फाल्ने गर्छन । नागरिक स्वयं जिम्मेवार हुनुपर्दैन । ५ करोडको आफ्नो घर छेउ भएको एउटा सानो खाल्टो पुर्न नसक्ने गैरजिम्मेवार नागरिक पनि यही काठमाडौँ महानगरपालिका नागरिकको रुपमा भएर आलिशान महलमा बस्ने गरेका छन् । कुरा गर्यो कुराकै दु:ख !

पहिलो सेल निर्माणको काम अन्तिम चरणमा पुगेको छ, सिसडोल पार गरेर मात्रै बञ्चरेडाँडा पुग्नुपर्ने भएकाले थप समस्या भएको सहरी विकास मन्त्रालयका पदाधिकारीहरु बताउछन् । साँघुरो ठाउँ तर लामो समयदेखि फोहर व्यवस्थापन गरिँदै आएको स्थान सिसडोलमा व्यवस्थापन गरिएकाले उक्त फोहरको ढिस्कोलाई पार गरेर अहिले बञ्चरेडाँडामा गाडी जान सक्ने अवस्था छैन ।

सोका लागि पहिले सडक विभाग र काठमाडौँ महानगरपालिकाले समन्वय गरेर सिसडोल पार गर्ने पुल निर्माणको काम गर्नुपर्छ, अन्यथा समस्या समाधान हुन कठिन हुने उनीहरु बताउछन् । बिगत २ हप्ता भन्दा अघिदेखि काठमाडौँ उपत्यकाको फोहर नियमित रूपमा उठ्न सकेको छैन ।

त्यसो त गत साउन ३२ देखि नै कामपाले सार्वजनिक रूपमा सूचना जारी गरेर नगरवासीलाई एक हप्ता घर बाहिर फोहर ननिकाल्न आग्रह गरेको थियो । तर १४ दिन बितिसक्दा पनि उपत्यकाको फोहर अझसम्म उठ्न सकेको छैन । जसले गर्दा नदी किनार र सडक छेउछाउमा दुर्गन्ध फैलिन थालिसकेको छ ।

कामपा कर्मचारीहरु सहरी विकास मन्त्रालयले समयमा नै दीर्घकालीन ल्याण्डफिल साइट निर्माणको काम सम्पन्न नगर्दा थप समस्या भएको बताउछन् । उनीहरुका अनुसार निर्माणाधीन बञ्चरेडाँडामा फोहर व्यवस्थापनको काम शुरु नगरिएसम्म समस्या समाधान नहुने भएकोले सिसडोलमा पनि अब व्यवस्थापन गर्ने ठाउँ नभएको बताउछन् ।

सिसडोलमा विसं २०६२ मा दुई वर्षको मात्र फोहर व्यवस्थापन गर्न सकिने क्षमताको ल्याण्डफिड निर्माण गरिएको थियो तर पटक पटक त्यसैमा माटोले पुर्दै केही विस्तार गरेर अहिलेसम्म नै फोहर व्यवस्थापन गरिँदै आइएको छ । हरेक दिन उपत्यकाबाट एक हजार २०० मेट्रिक टन फोहर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । यसमध्ये सबैभन्दा बढी कामपाको मात्र ५०० मेट्रिक टन फोहर निस्किने गर्दछ । निजी र कामपाको गरी दैनिक कम्तीमा २०० गाडी फोहर लाने गरिएकामा अहिले मुस्किलले ५० गाडीमात्र सिसडोल पुग्ने गरेका छन् ।

हाल फोहर व्यवस्थापन गरिँदै आएको सिसडोलभन्दा दुई किलोमिटर टाढा बञ्चरेडाँडामा दीर्घकालीन फोहर व्यवस्थापनस्थल निर्माण गरिएको छ । हाल निर्माण भइरहेको दीर्घकालीन ल्याण्डफिल साइट नुवाकोट र धादिङको सिमानामा पर्छ । तेह्र वर्षदेखि नुवाकोटको सिसडोलमा उपत्यकाको १८ स्थानीय तहको फोहर विसर्जन गरिँदै आएको छ । काठमाडौँ उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहरमध्ये करीब ७५ प्रतिशत सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ ।

बञ्चरेडाँडामा स्यानिटरी ल्याण्डफिल साइट निर्माण गर्न विसं २०७६ वैशाख २२ गते एक वर्षभित्र काम सम्पन्न गर्ने गरी लुम्बिनी कोशी एण्ड न्यौपाने जेभी (उपक्रम) सँग ठेक्का सम्झौता गरिएको थियो । निर्माणका लागि निर्धारित समय सकिएको छ । काम सम्पन्न गर्नका लागि भ्याटबाहेक रु ३४ करोड ६८ लाख ७४ हजार ८९५ बजेट सम्झौता भएको थियो ।

निर्णयअनुसार बाँध निर्माणको काम सहरी विकास मन्त्रालयले गर्ने र विसर्जनस्थलसम्म जाने बाटो निर्माणको काम सडक विभागलाई दिइएको थियो । उता डिभिजन सडक कार्यालय काठमाडौँले सिसडोलको समस्या आफ्नो नरहेको बताएको छ । बञ्चरेडाँडा अब एक हप्तामा तयार हुन्छ, वैकल्पिक बाटो तयार नगर्ने हो भने उक्त स्थानमा फोहर विसर्जन गर्न सकिँदैन त्यसको लागि कामपाले अहिले नै बाटो तयार गर्नुपर्छ ।

डिभिजन सडक कार्यालय काठमाडौँका कर्मचारीका अनुसार यसमा सडक विभागले गर्नुपर्ने काम सकिएको छ । सिसडोलको फोहरको थुप्रो पन्छाएर सोही स्थानबाट बञ्चरेडाँडामा फोहरको गाडी लाने वा अर्को विकल्प खोज्ने काम कामपाको हो ।

वाग्मती सफाइ महाअभियानको ४३३औँ हप्तामा काठमाडौँ महानगरपालिका-११ स्थित थापाथलीको शिवमन्दिर क्षेत्रमा सफाइका क्रममा यस्तो भेटिएको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य एवं अभियानकर्मी डा. माला खरेलले जानकारी दिइन् ।

करिब १५० जना अभियानकर्मीको सक्रियतामा भएको सफाइबाट जम्मा भएको फोहर नदी किनारमै थुपार्नुपरेको अभियानकर्मीले जनाएका छन् । डेढ महिनाअघिदेखि नै राजधानीको फोहर नउठ्दा सफाइ गरेर फोहर नदी किनारमै थुपार्न बाध्य हुनुपरेको हो । आजको सफाइमा पनि खोलबाट फोहर टिपेर किनारमा राखिएको हो । पानीले फेरि फोहर नदीमै लैजाने चिन्ता रहेको अभियानकर्मी खरेलले बताइन् ।

सफाइमा अधिकार सम्पन्न वाग्मती समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सिना, ११ नं वडा अध्यक्ष हीरालाल तण्डुकार, ९ नं वडा सदस्य टेकराज अधिकारीलगायत अभियानकर्मीको सफाइमा सहभागिता थियो । थापाथली क्षेत्रको सफाइका क्रममा प्रसूति गृह पछाडिको सुकुम्बासी बस्तीको पनि अनुगमन गरिएको छ । सुकुम्बासी बस्तीका कारण पनि यस क्षेत्रको नदी फोहर बन्नेक्रम बढेको छ ।

विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको महाअभियान चाडपर्व, भूकम्प, नाकाबन्दी, कोरोना महामारीलगायत प्रतिकूल अवस्थामा जारी छ । वाग्मतीसँगै गुह्येश्वरीमाथिको वाग्मती खण्ड, रुद्रमती, विष्णुमतीका तल्लो र माथिल्लो खण्ड, मनोहरा, ललितपुरको गोदावरी खोला, चक्रपथको उत्तरी र पश्चिमी खण्डलगायत स्थानमा पनि सफाइ गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !