८ बैशाख २०८१, शनिबार

अर्घाखाँचीमा नयाँ घर पाएपछि वादी समुदायमा खुसी


नयाँ घर पाएपछि वादी समुदायमा खुसी

अर्घाखाँची । वर्षौंदेखि खोला किनारको जङ्गलमा छाप्रोमुनि बस्दै आएका सन्धिखर्क–२ भद्रीखोलाकी लक्ष्मी वादीले नयाँ घर पाएपछि दङ्ग देखिएका छन् । विगत ३५ वर्षदेखि जङ्गलमा छाप्रोमुनि बस्दै आएकी उहाँ सुविधा सम्पन्न घरमा बस्न पाएपछि औधी खुसी भएका हुन् ।

“वर्षामा भेल छाप्रोभित्र पस्दा भत्किएर सधैँ दुःख पाउँथेँ,” उनले भनिन्, “अब छाप्रो जलेर खुला आकासमुनि बस्नुपर्ने बाध्यता पनि टर्ने भो ।” दिनभरि खोलामा गिट्टी र बालुवा चालेर परिवार पाल्दै आउनुभएका उनले लुम्बिनी प्रदेश सरकारको जनता आवास कार्यक्रम अन्तर्गत दुईकोठे घर पाएकी हुन् ।

खोला किनारको जङ्गलको छाप्रोबाट उनी पक्की घरमा सर्दै छिन् । मजदुरी र बालुवा चालेर गुजारा चलाएको उनले बताइन् । “मजदुरीको पैसाले बिहान बेलुका छाक टार्न मात्रै पुग्छ,” उनले भनिन्, “घडेरी किन्ने उपाय थिएन ।

खोला किनारमा बस्दा बर्खामा भेलले घर बगाइदिने, हिउँदमा डढेलोले घर जल्ने गर्दा साह्रै दुःख भएको थियो ।” घडेरीसँगै नयाँ घर पाएपछि बल्ल गरिबको सरकार आएजस्तो भएको उनको भनाइ छ ।

त्यस्तै बाहिरबाट बाँसको चिमले बारेर स्याउलाको छानोमुनि वर्षौंदेखि बस्दै आउनुभएका मधु वादीले भनिन्, “धेरै समय खुला ठाउँमा बस्यौँ । बर्खामा छाप्रोभित्र भेल पसेर ओछ्यान र कपडा निथ्रुक्क भिज्ने र अन्नपात बगाउने जस्ता समस्या थियो । नयाँ घर पाएपछि बल्ल घरधनी भएको महसुस भएको छ ।” उनले नयाँ घर पाएपछि हामी औधि खुसी भएका छौँ भनिन् ।

लक्ष्मी र मधु मात्रै होइन, सन्धिखर्क–२ चुत्राबेंसीमा विगत लामो समयदेखि छाप्रोमुनि बस्दै आएका वादी समुदायका ११ र दलित समुदायका दुई गरी १३ घरपरिवारले घडेरीसहित नयाँ घर पाएका छन् ।

सन्धिखर्क नगरपालिकाले रु १० लाख ९९ हजार नौ सयमा भद्रीखोलामा दुई रोपनी चार आना एक दाम जग्गा खरिद गरेको र लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमअन्तर्गत सो जग्गामा रु ४३ लाख ६८ हजार खर्चेर १३ वटा घर निर्माण भएको प्रदेशसभा सदस्य रामजी प्रसाद घिमिरेले बताए ।

लामो समयदेखि कष्टकर जीवन बिताउन बाध्य भएका वादी समुदायको समस्या हल गर्न पाउँदा आफूलाई निकै खुसी र आनन्दको अनुभूति भएको नगरपालिकाका प्रमुख कमलप्रसाद भुसालले बताए ।

स्थानीय वडा समिति र नगरपालिकाको कार्यपालिकाको बैठकको निर्णयानुसार अत्यन्तै कष्टकर जीवन बिताएका बादी समुदायलाई घर बनाइदिने आफूहरुको चुनावी प्रतिबद्धताअनुसार उक्त घर निर्माण भएको सन्धिखर्क नगरपालिका–२ का वडाध्यक्ष मोतिजङ्ग रायमाझीले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !