८ पुस २०८१, सोमबार

केसिकद्वारा राष्ट्रपतीय अभियान परित्याग


republician

अमेरिकामा रिपब्लिकन पार्टीकोतर्फबाट राष्ट्रपति पद लड्ने आकांक्षा राखेका ओहायोका गभर्नर जन केसिकले उक्त दौड परित्याग गरेका छन्। टेड क्रुज बाहिरिएपछि आएको उक्त घोषणापछि रिपब्लिकन पार्टीमा राष्ट्रपति पदको दौडमा अब डोनाल्ड ट्रम्पमात्रै छन्।

केसिकले आफ्नो गृहराज्यमा मात्रै प्राइमरी भनिने पार्टीगत चुनाव जितेका थिए तर उनले जुलाईमा हुने रिपब्लिकन अधिवेशनमा आफ्नो उम्मेदवारीका लागि पहल गर्ने अपेक्षा गरेका थिए। तर त्यो अपेक्षा पूरा नहुने देखिएपछि अब उनी दौडबाट बाहिरिएका छन्।

आफ्ना समर्थकहरुलाई भावपूर्ण सम्बोधन गर्दै उनले भने, “मैले आज आफ्नो अभियान अन्त्य गर्दैगर्दा मलाई भगवानले अगाडिको बाटो देखाउनेछन् र मेरो जिन्दगीको उद्देश्य पूरा गर्नेछन् भन्नेमा पुनर्जीवित र गहिरो विश्वास छ। धन्यवाद, र भगवानले हामी सबैको कल्याण गरुन्”।

योसंगै रिपब्लिकन पार्टीबाट डोनाल्ड ट्रम्प ह्वाइट हाउसका एक्ला दावेदार देखिएका छन्। रिपब्लिकनकोतर्फबाट उम्मेदवारबारे टुंगो लगाउन करिब एक वर्ष लाग्यो तर अहिले सबैथोक एकै झट्कामा सकिएजस्तो देखिन्छ। मंगलबार बेलुका टेड क्रुज बाहिरिएपछि, ट्रम्पलाई लिएर विभाजित पार्टीले आफ्नो अधिवेशनमा केसिकलाई सम्झौताको उम्मेदवारको रुपमा चयन गर्ने सम्भावना सकिएको थियो।

ओहायोमा जुलाईमा हुने पार्टी अधिवेशनअघि नै, उम्मेदवार बन्नका लागि आवश्यक १२३७ प्रतिनिधिहरुको समर्थन ट्रम्पले पाउने अब निश्चित जस्तै देखिन्छ। राष्ट्रपति निर्वाचनमा ट्रम्पकी सम्भावित डेमोक्र्याटिक प्रतिस्पर्धी हिलरी क्लिन्टन हुनेछिन्। उनले ट्रम्पलाई नकारात्मक र अरुलाई होच्याउने अभियान चलाउने अनियन्त्रित व्यक्तिको रुपमा चित्रण गरिन्।

श्रोत : BBC


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !