१८ बैशाख २०८१, मंगलबार

विप्लवका जनसंगठनद्वारा मानसरोवर जाने सडक निर्माण रोक्‍न भारतीय राजदूतलाई पत्र


नेत्रविक्रम चन्द

काठमाडौँ । नेत्र विक्रम चन्‍द ‘विप्लव’ नेतृत्‍वको नेकपा निकट १२ जनवर्गीय संगठनले लिपुलेक, कालापानी र लिम्पियाधुरा हुँदै मानसरोवर जाने सडक निर्माण रोक्‍न माग गर्दै नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रालाई पत्र पठाएका छन् ।

आज मंगलबार १२ जनसंगठनले संयुक्‍त रूपमा जारी गरेको विज्ञप्‍ति इमेलमार्फत राजदूत क्‍वात्रालाई पठाइएको हो । उक्त पत्रमा भारतले सडक निर्माण गरिरहेकोप्रति आफूहरूको गम्‍भीर ध्‍यानाकर्षण भएको भन्‍दै तत्‍काल निर्माणको काम रोक्‍न चेतावनी दिइएको छ ।

दुई देशबीचको सीमा समस्‍या कूटनीतिक रूपमा आपसी समझदारीमार्फत समाधान गर्न सकिने विश्‍वास व्‍यक्‍त गर्दै नेपालको राष्ट्रिय सार्वभौमिकताको सम्मान गर्नुपर्ने माग पत्रमा गरिएको छ ।

नेपाली भू-भाग लिपुलेक, कालापानी र लिम्पियाधुरा हुँदै तिब्बतको धार्मिकस्थल मानसरोवर पुग्ने बाटो निर्माणलाई भारतले फेरि तीव्रता दिएको छ ।

भिडियो कन्फरेन्समार्फत् मानसरोवर जाने सिंगल लेन सडकको उद्घाटन गरेको एक वर्ष एक महिनापछि जेठ २८ गते शुक्रबार भारतका रक्षामन्त्री राजनाथ सिंहले सीमा क्षेत्रमा सडक निर्माण गर्ने सुरक्षा निकाय बोर्डर रोड अर्गनाइसेजन (बीआरओ) ले ‘कैलाश मानसरोवर यात्राको लागि नयाँ बाटो निर्माण गरेको’ भन्दै प्रसंशा गरेका थिए ।

भारतको उतराखण्ड राज्यको धार्चुला क्षेत्रबाट नेपालको सुदुरपश्चिम प्रदेशको दार्जुला जिल्लाको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र हुँदै चीनको स्वशासित क्षेत्र तिब्बतको धार्मिकस्थल मानसरोवरमा पुग्ने बाटोको सिंहले २०७७ वैशाख २६ गते दिल्लीबाट भिडियो कन्फरेन्समार्फत् उद्घाटन गरेका थिए ।
विप्लवका जनसंगठनद्वारा मानसरोवर जाने सडक निर्माण रोक्‍न भारतीय राजदूतलाई पत्र


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !