१० मंसिर २०८१, सोमबार

विश्व रक्तदाता दिवस : ११ जिल्लामा रक्तदान


रक्तसञ्चार दिवस

काठमाडौँ । विश्व रक्तदाता दिवसका अवसरमा मानव अधिकार तथा शान्ति समाजका आयोजनामा ११ जिल्लामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नयाँ भेरियन्टसहितको कोभिड कहरका कारण सिर्जित असहज परिस्थितिमा रगतको अभाव हुन नदिनका लागि समाजले आवश्यक सावधानीसहित रक्तदान कार्यक्रम आयोजना गरेको हो । प्रत्येक वर्ष १४ जुनमा विश्व रक्तदाता दिवस मनाइन्छ ।

गोकर्णेश्वर नगरपालिका– ७ दक्षिण ढोकास्थित शान्ति बाटिकामा काठमाडौँ शाखाले आयोजना गरेको कार्यक्रममा २७ जनाले रक्तदान गर्नुभएको थियो । नवलपरासी वर्दघाट सुस्ता पश्चिम शाखाद्वारा बर्दघाटमा आयोजित कार्यक्रममा शाखा सभापति सन्तोष अधिकारी क्षेत्रीसहित १८ जनाले र सिरहा शाखाद्वारा लाहानमा आयोजित रक्तदान कार्यक्रममा शाखा सचिव इन्द्रनारायण चौधरी र सदस्य पानालाल दाससहित १५ जनाले रक्तदान गर्नुभएको थियो ।

रौतहट शाखाद्वारा चन्द्रपुरमा आयोजित रक्तदान कार्यक्रममा केन्द्रीय सदस्य गणेश पौडेलसहित १६ जनाले रक्तदान गर्नुभयो । नुवाकोट शाखाद्वारा विदुरमा आयोजित रक्तदान कार्यक्रममा शाखा सभापति नारायण श्रेष्ठसहित आठ जनाले रक्तदान गर्नुभएको थियो । यसैगरी सुर्खेत शाखाद्वारा वीरेन्द्रनगरमा आयोजित रक्तदान कार्यक्रममा डा रेखा रेग्मीसहित २० जनाले र चितवन शाखाद्वारा रक्तदाता दिवसकै अवसरमा आयोजित कार्यक्रममा छ जनाले रक्तदान गर्नुभएको थियो ।

ललितपुर शाखा र एकता बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको आयोजनामा ललितपुरको नखिपोटमा आयोजित रक्तदान कार्यक्रममा ८४ जनाले रक्तदान गर्नुभएको थियो । रुपन्देही शाखा र नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीको आयोजनामा रुपन्देहीको वुटवलमा सम्पन्न रक्तदान कार्यक्रममा केन्द्रीय सचिव मीना ढकाल, शाखा सदस्य कृष्णप्रसाद पाण्डेसहित २४ जनाले रक्तदान गर्नुभएको थियो । कपिलवस्तु शाखा र नेपाल रेडक्रस सोसाइटी वाणगङ्गा उपशाखाको संयुक्त आयोजनामा वाणगङ्गामा सम्पन्न रक्तदान कार्यक्रममा ४१ ले रक्तदान गर्नुभएको थियो ।

पर्सा शाखा र युवा समाज वीरगञ्जको आयोजनामा वीरगञ्जमा सम्पन्न रक्तदान कार्यक्रम समाजका सभापति प्रेम पटेल, उप सभापति जिनुमाया मानन्धर, सचिव सुनिन्द्र ठाकुर, सदस्य मृतुञ्जय वर्णवाल, बिमल अग्रवाल लगायत ५२ जनाले रक्तदान गर्नुभयो । दाङ शाखाले लामो समयदेखि रक्तदान गर्दै आएका ब्यक्ति र सङ्घ संस्थाको सहभागितामा रक्तदान जीवनदान विषयक भर्चुअल अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !