२ असार २०८१, शनिबार

खाद्यान्न पसल खोल्न दिएर उपत्यकामा १० दिन निषेधाज्ञा थप्ने तयारी


निषेधाज्ञामा सुनसान काठमाडौँ

काठमाडौँ । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा जेठ २० गते सकिँदैछ । काठमाडौँ उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले संक्रमणको चेन ब्रेक रोक्न निषेधाज्ञा जारी गरेका छन् ।

आज मंगलबार अपराह्न बसेको उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुका बैठकले काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाका कारण कोरोना संक्रमणदर कम हुँदै गएकोले थप १० दिने लम्ब्याउनेबारे छलफल भएको छ । साथै केही क्षेत्रहरुलाई सहज बनाउन आंशिक रुपमा खुला गर्ने तयारी थालिएको छ ।

खाद्यान्न, किराना पसल, खाद्यान्न मात्र बिक्री गर्ने डिपार्टमेन्ट स्टोर बिहान ९ बजेसम्म खोल्न दिनेबारे छलफल भएको छ । आजको बैठकमा छलफल मात्रै भएको र भोलि बुधबार बिहान निर्णय गरिने बताइएको छ ।

साथै निर्माण क्षेत्रमा काम रोकिएकोले निर्माण स्थलमै आवासीय रुपमा कामदार राखेर निर्माणका काम गर्न दिनेबारे पनि छलफल भएको छ । कोरोना संक्रमणदर उच्च भएपछि गत बैशाख १६ देखि उपत्यका लगायत देशका विभिन्न जिल्लाहरुमा निषेधाज्ञा जारी गरिएको थियो ।

उपत्यकाको तीनै जिल्लामा जारी निषेधाज्ञा थप १० दिन लम्ब्याइने भएतापनि अघिल्‍लो पटक जस्‍तो कडाइ नहुने बताइएको छ । अघिल्लो साताको जस्तो निषेधाज्ञा कडाइ नहुने काठमाडौँ जिल्ला प्रशासन कार्यायका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद अधिकारीले बताए ।

जनजीवन कष्टकर बन्दै गएकाले २० गतेपछि निषेधाज्ञा खुकुलो पार्दै लैजाने तयारी भएको काठमाडौँका प्रजिअ पराजुलीले बताए । उनका अनुसार खाद्यान्न पसल, डिपार्टमेन्ट स्टोर र सार्वजनिक निर्माण स्थलका क्षेत्रलाई खुकुलो बनाउँदै लगिने भएको छ ।

तर होटल, विद्यालय जस्ता बढी भिडभाड हुने ठाउँ तत्काल खुला नगरिने उनको भनाइ छ । पछिल्लो समय थप गरिएको निषेधाज्ञाको समय सकिन दुईदिन मात्र बाँकी छ । संक्रमणको अवस्था अवस्था हेरेर थप निर्णय लिने पराजुलीले बताए । निषेधाज्ञाको विषयमा स्वास्थ्य मन्त्रालयसँग थप छलफल गरिने उनको भनाइ छ ।

२० गते पछि पनि जनस्वास्थ्यको मापदण्डमा पूर्ण रुपमा कडाइ गरेर निजी सवारीसाधनलाई सञ्चालनमा कडाइ गरिनुका साथै पास बिनाका कुनै पनि सवारीसाधन बाहिर निस्कन पाउने छैनन् । उनी संक्रमण फैलन नदिन नागरिक आफैँ सचेत हुनुपर्ने बताउँछन् । पछिल्लो समय थप गरिएको निषेधाज्ञाको केही हदसम्म पालना भएको उनले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !