१४ बैशाख २०८१, शुक्रबार

‘ समाजको विकासमा पोखरेलको महत्वपूर्ण योगदान’


काठमाडौँ, २४ वैशाख । वाचन शिरोमणि पण्डित नारायण पोखरेलले छुवाछूत र जातीय विवेकका विरुद्धमा गरेको योगदानको स्मरण गरिएको छ ।

पोखरेलको १६औँ स्मृति दिवसका अवसरमा नारायण पोखरेल प्रतिष्ठानले आज यहाँ वेभिनारबाट आयोजना गरेको ‘श्रद्धाञ्जलिसभा’ का वक्ताले आध्यात्मिक चिन्तनका माध्यमबाट समाज विकासमा पोखरेलले खेलेको भूमिकाको स्मरण गर्नुभयो ।

कार्यक्रममा प्रतिष्ठानका संरक्षण अध्यक्ष एवम् वाचनप्रवीण दीनबन्धु पोखरेलले अध्यात्म क्षेत्रबाट पण्डित पोखरेलले मुलुकको विकासका लागि ठूलो भूमिका खेलेको बताउनुभयो । भौतिकवाद र आध्यात्मिकवादको संयोजनबाट देशलाई अगाडि बढाउनुपर्ने उहाँको भनाइ थियो ।

विसं २०११ जेठ ३२ गते गोरखाको बगुवामा जन्मनुभएका पोखरेलले देशभरका ६५ भन्दा बढी जिल्लामा एक हजार १३६ पुराण वाचन गर्नुभएको थियो । धार्मिक क्रियाकलापबाट मानिसलाई सामाजिक विकासमा अभिप्रेरित गर्ने पण्डित पोखरेल नेपालका पहिलो धार्मिक शहीद हुनुहुन्छ । उहाँको विसं २०६२ वैशाख २३ गते रुपन्देहीको रामापुरमा हत्या गरिएको थियो । उहाँलाई जनस्तरबाट वाचन शिरोमणिको उपाधि दिइएको थियो ।

पण्डित पोखरेलका स्मृतिमा प्रतिष्ठान स्थापना गरेर काठमाडौँको नागार्जुन नगरपालिकास्थित रामकोटमा २० रोपनी क्षेत्रफलमा बद्रीनारायण धामसहितको नारायण आध्यात्मिक केन्द्र स्थापना गरिएको छ । उक्त धामसहितको केन्द्र निर्माणका लागि रु ४० करोड लाग्ने प्रतिष्ठानका संरक्षक अध्यक्ष पोखरेलले बताउनुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !