१४ बैशाख २०८१, शुक्रबार

रङ्गशाला निर्माणबारे सरकारले चासो लिएपछि धुर्मुस भए भावुक : टुहुरोजस्तो थिएँ, बोलाएर सोध्नुभो


ईश्वर पोखरेल र धुर्मुस

काठमाडौँ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका अभियानकर्मीसँग भेटेर आज सोबारे जानकारी लिएका छन् ।

क्रिकेट रङ्गशाला निर्माणका अभियानकर्मी एवं धुर्मस-सुन्तली फाउन्डेशनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’लाई आज सिंहदरबारस्थित आफ्नै कक्षमा भेटेर उपप्रधानमन्त्री पोखरेलले रङ्गशाला निर्माणमा भइरहेका प्रगति र सरकारले गर्नसक्ने सहयोगका विषयमा छलफल गरेको उपप्रधानमन्त्रीका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए ।

चितवनमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकट रंगशाला बनाइरहेका हास्य कलाकार धुर्मुसले सरकारको यथेष्ट सहयोगको जरुरत परेको बताएका छन् । उपप्रधानमन्त्री ईश्वर पोखरेलसँग बिहीबार भेट संवाद गर्दै धुर्मुसले नागरिकहरूको सहयोग, सद्भावले मात्रै क्रिकेट रंगशाला ठडिन गाह्रो भएकाले सरकारले नै सहयोग गनुपर्ने खाँचो औंल्याएका हुन् ।

भेटका क्रममा धुर्मुसले आफूहरू राज्यलाई सघाउने अभियन्ता भएको र क्रिकेट रंगशाला पनि सरकारको समृद्धिको अभियानको एउटा अंग भएको जिकिर गरेका थिए । उपप्रधानमन्त्री पोखरेलले प्रेरणादायी, प्रसंशनीय कार्य गरेको भन्दै धुर्मस–सुन्तली फाउन्डेशनलाई सहयोगको वचन दिएको सचिवालयले बताएको छ ।

भेटका क्रममा धुर्मुस निकै भावुक भएको पोखरेलको सचिवालय बतायो । “म त टुहुरोजस्तो अनुभूत गरिरहेको थिएँ, बल्ल ‘बल्ल सरकार छ, राज्य छ भन्ने महसुस भयो, हामीेले निकै पीडा भोग्यौं, धेरैपटक बुढाबूढी रोएका छौँ,” धुर्मुसको भनाइ उद्धृत गर्दै पोखरेलको सचिवालयले भन्यो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !