६ जेष्ठ २०८१, आइतबार

कोरोनाको त्रासले रितिंदै राजधानी काठमाडौँ : २ दिनमा १ लाखले उपत्यका छाडे


काठमाडौँ । नेपाल सरकारले १६ गते बिहीबारदेखि काठमाडौँ उपत्यकाका ३ जिल्लाहरु काठमाडौँ, ललितपुर र भक्तपुरमा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ ।

यस्तै काठमाडौँ उपत्यकाका ३ जिल्लासहित संक्रमण हवात्तै बढेका जिल्लामा १५ दिनका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेकोले काठमाडौँ उपत्यका छोड्नेको संख्या अत्यधिक रुपमा बृद्धि भएको छ ।

कोरोना संक्रमण तीव्र रुपमा बढेपछि हिजो सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आफ्नो जन्मथलो जान चाहनेहरुलाई ध्यानमा राखेर ३ दिनपछि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो । सर्वसाधारण चापागाउँ, नागढुंगा, साँगा, बालाजु, कोटेश्वर, बल्खु र थानकोट नाका भएर उपत्यकाबाट यति धेरै संख्यामा बाहिरिएका हुन् ।

ट्राफिक प्रहरी महाशाखाका अनुसार हिजो सोमबार मात्र ५२ हजार जनाले काठमाडौँ उपत्यका छाडेका हुन् । ट्राफिक प्रहरीका अनुसार आज मंगलबार दिउँसोसम्ममा ५० हजार भन्दा बढीले उपत्यका छाडिसकेका छन् ।

त्यस्तै कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले पहाडी क्षेत्रमा २०० र सहरी क्षेत्रमा ५०० सक्रिय संक्रमितको संख्या नाघेमा निषेधाज्ञा जारी गर्ने जिम्मेवारी स्थानीय प्रशासनलाई दिन गरिएको सिफारिस पनि मन्त्रिपरिषद्को बैठकले पारित गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !