१४ बैशाख २०८१, शुक्रबार

भोलिदेखिका सबै पूर्वनिर्धारित परीक्षा स्थगित गर्ने सरकारको निर्णय


कोभिड–१९ संकट व्यवस्थापन केन्द्र

काठमाडौँ । सरकारले पूर्वनिर्धारित सबै तहका परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । आज आइतबार सिंहदरबारमा बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले सबै तहका पूर्वनिर्धारित परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

यो सिफारिस अनुसार अब विद्यालय र क्याम्पसका सबै परीक्षाहरु स्थगित हुनेछन् । स्रोतका अनुसार यो सिफारिस नभएर सोमबारदेखि नै लागू हुनेगरी निर्णय नै गरिएको हो ।

कोरोना भाइरसको बढ्दो संक्रमणका कारण देशभरका शिक्षालयमा तय भएका पूर्वनिर्धारित परीक्षा स्थगित गर्ने निर्णय भएको हो । कोरोनाको जोखिम कम भएपनि उपयुक्त समयमा परीक्षाको नयाँ तालिका तय गरिने बताइएको छ ।

सोमबारदेखिका सबै परीक्षा स्थगित गर्ने सीसीएमसीले निर्णय गरे पनि जेठमा हुने एसईई परीक्षाका सम्बन्धमा भने कुनै निर्णय भएको छैन । यसअघि बसेको मन्त्रिपरिषद बैठकले विद्यालय र कलेजको पठन पाठन भौतिकरुपमा गर्न नपाइने भने पनि परीक्षा चाहिँ नरोकिने बताएको थियो ।

साथै मेडिकल कलेजको पढाइ पनि नरोकिने क्याबिनेटको आदेशमा उल्लेख थियो । तर, आइतबार बसेको सीसीएमसीको बैठकले सोमबारदेखि हुने सबै परीक्षाहरु स्थगित गरेको हो ।

पहाडमा २०० र शहरी क्षेत्रमा ५०० संक्रिय संक्रमित भएमा डीसीसीएमसीले निषेधाज्ञा गर्न सक्ने गरी सिफारिस गरिएको एक अधिकारीले जानकारी दिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आइतबारको तथ्यांक अनुसार काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका साथै मोरङ, पर्सा, कास्की, दाङ, बाँके र रुपन्देहीमा संक्रिय संक्रमितको संख्या ५०० नाघेको छ ।

बालुवाटारको शनिबारको ब्रिफिङमा प्रधानमन्त्री ओलीले सरकारको आदेश र स्वास्थ्यसम्बन्धी मापदण्डको पालना नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए । प्रधानमन्त्री ओलीले कोरोना रोकथामका लागि प्रभावकारी योजना ल्याउन निर्देशन दिएपछि आइतबार सीसीएमसीको बैठक बसेको हो ।

कोभिड-१९ संकट व्यवस्थापन केन्द्र


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !