काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले राष्ट्रपति जस्तो सम्मानित संस्थामाथि आँच पुु¥याउने गरी सडकमा नाराबाजी भएकामा आपत्ति जनाउनुभएको छ । सिंहदरबारमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री गुरुङले राष्ट्रपतिमाथि आक्षेप लगाउने अक्षम्य काम गरेर संविधान, कानून र राजनीतिक प्रणालीमाथि नै प्रहार गर्ने प्रयास भएको जनाउँदै राजनीतिक दल र समूहलाई जिम्मेवाररुपमा प्रस्तुत हुन अनुरोध गर्नुभयो ।
राजनीतिक दलहरुले गरिरहेको सडक आन्दोलन निर्वाचनको तयारीकै लागि भइरहेको बताउँदै सरकारका प्रवक्ता गुरुङले भन्नुभयो, “विनाराजनीतिक एजेन्डा राजनीतिक दलहरुले निर्वाचनको तयारीका लागि नै सडक आन्दोलन गरिरहेका छन्, तिनीहरुले निर्वाचन भएरै छाड्छ भन्ने मनोविज्ञान जनतालाई दिन नै आन्दोलन गरिरहेका हुन् ।”
मुलुक निर्वाचनमा गइसकेको जनाउँदै मन्त्री गुरुङले राजनीतिक दलदेखि नागरिक समाज, पत्रकारलगायत सबै पेशा र समुदायलाई निर्वाचनका लागि तयार हुन आह्वान गर्नुभयो । उहाँले निर्वाचन आयोगलाई सघाउन सरकारले आवश्यक पर्ने कार्य थालिसकेको पनि जानकारी दिनुभयो ।
सरकारका प्रवक्ता गुरुङले सरकारले संविधानअनुसार पूर्णअधिकारसहितको कार्य गरिरहेकाले कर्मचारी तथा कुनै पनि वर्ग, समुदायलाई सरकारको कामकारवाहीप्रति भ्रममा नपर्न अनुरोध गर्नुभयो ।