२५ पुस, पोखरा । पर्यटकीय शहर, तालैतालको शहर, प्रकृतिले बरदान दिएको शहर, कला, साहित्य र संगीतको शहर लगायत थुप्रै उपमा पोखराको पोल्टामा पर्छ । अर्को एउटा उपमा पनि पोखरालाई दिन थालिएको छ । त्यो हो, महोत्सवै महोत्सवको शहर । यो शहरमा महोत्सवको होडबाजी नै चल्छ ।
पोखरामा एक महोत्सव सकिएलगत्तै अर्को महोत्सव सुरु भइहाल्छ । अंग्रेजी नयाँ वर्षमा हुने महोत्सवको मैजारो सकेर बसेको पोखराले एकै पटक अर्को दुई महोत्सव गर्दैछ । पोखरा उद्योग वाणिज्य संघले गर्ने औद्योगिक व्यापार मेला र युनाइटेड क्लबले गर्ने पोखरा महोत्सव एकै मितिबाट सुरु हुँदैछ । जम्मा २ किलोमिटरको दुरीमा हुने दुई महोत्सवका आकर्षण भने एउटै खालका छन् ।