स्याङ्जा, १० कात्तिक । वालिङ नगरपालिका-१२ का डोलराज पराजुलीले यसवर्ष पहिलोपटक घर बाहिर दशैको टीका लगाउनुपर्यो । विश्वव्यापी कोरोना महामारीका कारण पराजुली जन्मघरमा जान नपाउनुभएको हो ।
गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयका अधिकृत पराजुलीले भन्नुभयो, “विगतका दशैँमा गाउँघरमै पुगेर टीका लगाउने गरेको थिएँ, यो वर्ष कोरोना संक्रमण बढ्दै गएकोले आवतजावतमा समेत समस्या हुने र सरकारले समेत जो जाहाँ बसेको छ त्यही ठाउँमा चाडबाड मनाउन भनेकोले कर्मथलो पोखरामै दशैँ मनाइयो ।”
कोरोना भाइरस (कोभिड १९) को जोखिमका कारण धेरैको यसपालिको दशैँ आफ्नो घरमा सीमित बन्न पुग्यो । रोजगारी र व्यावसायका क्रममा विदेशमा रहेकाहरुले उतैबाट दशैँ मनाए भने स्वदेशका शक्तिपीठहरुमा भीडभाड र बलि दिने कार्यक्रम भएनन् ।
वालिङ नगरपालिका १२ मा रहेको लोकप्रित अकलादेवीको मन्दिरमा दर्शनमा रोक लगाइएपनि यहाँ भारत गोरखपुरबाट समेत आउने दर्शनार्थी यसपल्ट देखिएनन् । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भवीराज गुरुङले स्वास्थ्य जोखिमका कारण भीडभाडमा रोक लगाइएको बताउनुभयो ।
मन्दिरका पुजारी गम्मरसिङ गुरुङले सो मन्दिरमा भक्तजनले भाकल गर्ने र मनोकाङ्क्षा पूरा भएपनि बलि र भेटी लिएर आउने गरेको बताउनुभयो । सो मन्दिरमा बाख्राको पाठी र कुखुराको पोथीको मात्रै बलि चढाइन्छ ।
शाकाहारीले भने दूध चढाउने गर्दछन् । कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले आलमदेवी मन्दिरमा पनि कोरोना जोखिम भएकाले पूजापाठमा पनि रोक लगाइएको जनाउनुभयो ।