१३ बैशाख २०८१, बिहिबार

समय परिवर्तनसँगै राससको दायित्व र भूमिका अझै बढेको छ : प्रधानमन्त्री प्रचण्ड


प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तित सन्दर्भमा सत्यतथ्यपूर्ण, विश्वसनीय, आधिकारिक र भरपर्दो सूचना तथा समाचार शीघ्र प्रवाह गरी आमजनतालाई सुसूचित गराउने जिम्मेवारी राससको रहेको बताएका छन् । राससको ६२औँ वार्षिकोत्सवका अवसरमा शुभकामना सन्देश दिंदै प्रधानमन्त्री प्रचण्डले समय परिवर्तनसँगै राससको दायित्व र भूमिका अझै बढेको बताएका हुन् ।

उनले सूचना प्रविधिको विकाससँगै आमसञ्चार क्षेत्रले गुणात्मक फड्को मारिरहेको वर्तमान अवस्थामा राससजस्ता राज्यका समाचार संस्थाको जिम्मेवारी बढेको स्पष्ट गरे । मुलुकको राजनीतिक, आर्थिक र सामाजिक परिवर्तनमा सञ्चारमाध्यमहरूको भूमिका महत्वपूर्ण रहेको चर्चा गर्दै प्रधानमन्त्री प्रचण्डले हरेक परिवर्तनको पक्षमा राससले निर्वाह गरेको भूमिकाको प्रशंसा गरे ।

उनले सुदृढ सङ्घीय लोकतान्त्रिक गणतन्त्र, दिगो विकास र आर्थिक समृद्धिका पक्षमा सञ्चार पैरवी गर्नेतर्फ राससको ध्यान जानुपर्नेमा जोड दिए । पछिल्ला दिनमा भ्रामक, मिथ्यापूर्ण सूचना–समाचारले समाजमा विद्वेष बढ्न थालेको भनी चिन्ता व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले राससबाट सम्प्रेषित तथ्यपरक सूचना–समाचारले सामाजिक व्यवस्थालाई सकारात्मक पक्षपोषण गर्ने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री प्रचण्डले संविधानमा व्यवस्थित मौलिक हकको संरक्षण र प्रवद्र्धनमार्फत राज्यको नीति र कार्यदिशालाई स्वस्थ र सिर्जनशील ढङ्गबाट प्रवाह गरी जनमत निर्माण गर्नका लागि आफ्ना सेवाहरूलाई समयसापेक्षरूपमा परिमार्जन र विविधीकरण गर्दै अघि बढ्न राससको ध्यानाकर्षण गरे ।

राससलाई एक सशक्त, प्रभावकारी र सुदृढ संस्था बनाउने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्रीले रासस सेवालाई अझै प्रभावकारी, चुस्त र व्यावसायिक बनाउन समयानुकूल प्रविधिको विकाससँगै यस क्षेत्रका नयाँ आयामका विषयमा तालिम तथा क्षमता वृद्धि गराउनुपर्ने खाँचो औँल्याए ।

सामाजिक न्याय, सुशासन र समृद्धिलाई प्रमुख प्राथमिकतामा राखेर राजनीतिक स्थायित्व, आर्थिक पुनःउत्थान, सरल र सहज सेवा प्रवाह र विकास आयोजनाको प्रगतिमा तीव्रता ल्याएर मुलुकमा नयाँ परिणाम दिनका लागि आफ्नो नेतृत्वको सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले भनेका छन्, “यो जिम्मेवारी केवल प्रधानमन्त्रीको मात्र नभएर नेपाल सरकारका सम्पूर्ण संरचना, सङ्घीय प्रणालीका सबै तहहरू, निजी क्षेत्र, सञ्चार जगत् एवं आम नेपालीहरूको साझा जिम्मेवारी हो ।”

प्रधानमन्त्रीले सरकारको प्राथमिकतालाई केन्द्रमा राखेर राज्यका सबै पक्षका सुभावना मुखरित गरी एक अब्बल र नेतृत्वदायी सञ्चारमाध्यमका रूपमा स्थापित हुन राससलाई सफलता मिलोस् भनी कामना गरे । प्रधानमन्त्री प्रचण्डले समितिको ६२औँ वार्षिकोत्सवका अवसरमा राससमा कार्यरत पत्रकार, कर्मचारी, व्यवस्थापन एवं सेवाग्राही सबैमा शुभकामना व्यक्त गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !