९ असार २०८१, आइतबार

लोकतन्त्र सिद्धान्तसँगै संस्कार हो : सभामुख सापकोटा


अग्निप्रसाद सापकोटा

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले जिम्मेवार निकायबाट लोकतान्त्रिक अभ्यासको व्यवहारिक पुष्टि भए मात्र जनस्तरमा यसप्रति गहिरो विश्वास पैदा हुने बताएका छन् ।

उनले भनेका छन्, “लोकतन्त्रप्रतिको साँचो प्रतिबद्धता र यसको रक्षाको दायित्व हामी सबैको हो । थप सजग र सचेत भएर लोकतन्त्रको संस्थागत अभ्यास सुनिश्चित गर्न सक्दा नागरिकमा सकारात्मक सन्देश प्रवाह हुने विश्वास लिएको छु ।”

राष्ट्रिय प्रजातन्त्र दिवस-२०७८ का अवसरमा शुभकामना दिंदै सभामुखले लोकतन्त्र सिद्धान्तसँगै हाम्रो चिन्तन, जीवन पद्धति, व्यवहार र पुस्तान्तरणको महत्वपूर्ण संस्कारसमेत भएको बताएका छन् । उनले यसको विकास, विस्तार र सुदृढीकरणको प्रक्रिया निरन्तर चलिरहनु अनिवार्य हुने बताएका छन् ।

लोकतन्त्रको समीक्षा र यसको अभ्यासमा आधारित रहने उल्लेख गर्दै सभामुखले संविधानको मर्म र भावना अनुसार अघि बढ्न एवं लोकतन्त्रको उन्नत अभ्यासका लागि सबैमा प्रेरणा मिलोस् भन्ने कामना गरेका छन् ।

देशमा लोकतन्त्र प्राप्ति एवं राष्ट्रियताको संवद्र्धनका लागि विभिन्न समयमा भएका सङ्घर्षमा जीवन आहुति दिनुभएका सम्पूर्ण महान् सहिदप्रति स–सम्मान भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

लोकतन्त्र प्राप्तिका लागि भएका सबैखाले सङ्घर्षका क्रममा घाइते, अपाङ्ग हुनुभएका र तत्कालीन राज्यबाट बेपत्ता पारिएका सम्पूर्ण योद्धाको अमूल्य योगदानकोे स्मरण गर्दै उनीहरूप्रति सभामुखले उच्च सम्मान व्यक्त गरेका छन् ।

सभामुख सापकोटाले सन्देशमा भनेका छन्, “हामी सात दशक यताका सबैखाले सङ्घर्ष र आन्दोलनबाट प्राप्त उपलब्धिको साँचो अर्थमा कार्यान्वयनको चरणमा छौँ । यस क्रममा हाम्रा सामु थुप्रै चुनौती देखापरेका छन् । चुनौतीको सामना गर्दै लोकतन्त्रका मूल्य, मान्यता र आदर्शलाई स्थापित गर्नु अहिलेको मुख्य कार्यभार हो ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !