१ मंसिर २०८१, शनिबार

गणतन्त्रका विरोधीहरुबाट यसका मूल्य-मान्यतामाथि निरन्तर प्रहार भइरहेको छ : प्रचण्ड


प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गणतन्त्रका विरोधीहरुबाट यसका मूल्य-मान्यतामाथि निरन्तर प्रहार भइरहेको बताएका छन् ।

संघीय लोकतान्त्रिक गणतन्त्र दिवसको अवसरमा शुभकामान दिंदै उनले प्रतिशोधी भावना, अहंकारी सोच र शैली गणतन्त्रवादी संस्कार हुनै नसक्ने बताउदै पारस्परिक सम्मान, सहअस्तित्व र सहभागितामुलक राजनीतिले मात्र मुलुकको सर्वाङ्गीण विकास सम्भव हुने प्रष्ट पारेका छन् ।

उनले नेपाली जनताको बलिदानीपूर्ण संघर्र्षबाट प्राप्त उपलब्धीहरुको रक्षा गर्दै गणतन्त्रात्मक संस्कार र संस्कृति निर्माण गर्न प्रतिगामी तत्व विरोधी सम्पूर्ण लोकतन्त्रवादी शक्तिहरुबीच सुदृढ राष्ट्रिय एकता अपरिहार्य भएको पनि उल्लेख गरेका छन् ।

उनले निरंकुश सामन्ती व्यवस्थाको अन्त्य गर्दै नेपाली जनताको ठूलो त्याग र बलिदानबाट मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको स्मरण गरेका छन् ।

विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्डहरुको पालना गर्दै आफू र आफ्नो समाजलाई सुरक्षित राख्न सबैमा हार्दिक अपिल पनि गरेका छन् ।

पछिल्लो समयमा फैलिएको यस भाइरसको दोस्रो लहरले नेपालमा धेरै व्यक्तिको ज्यान गएको र स्वदेशमै उपलब्ध साधनस्रोतको उचित व्यवस्थापन नहुँदा पनि नागरिकले ज्यान गुमाउनु परिरहेको तीतो यथार्थ व्यक्त गरेका छन् ।

उनले कतै अस्पतालमा विद्युत आपूर्ति बन्द हुँदा संक्रमितले ज्यान गुमाइरहेका छन् भने कतै अस्पतालभित्र स्वास्थ्यकर्मी र चिकित्सकमाथि सांघातिक आक्रमण हुँदा उपचार नपाई नागरिकको ज्यान गइरहेको दृष्टान्त प्रस्तुत गर्दै यस प्रकारका घटनाको निन्दा र भत्र्सना गर्दै अस्पताल क्षेत्रको सुरक्षा र अत्यावश्यक सामग्रीको आपूर्तिका लागि हाम्रो पार्टी सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !