७ मंसिर २०८१, शुक्रबार

सरकारी विद्यालयहरुले गुणस्तर बढाएमा निजी विद्यालयहरुप्रतिको आकर्षण कम हुदै जान्छ – प्रा. डा. अवस्थी


प्रा. डा. जयराज अवस्थी

२००९ साल असोज १३ गते दार्चुला जिल्ला, शंकरपुर गा.वि.. गोठचुडी भन्ने बिकट गाउँमा जन्मनु भएका  प्रा. डा. जयराज अवस्थी सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका प्रथम उपकुलपति हुनुहुन्छ नेपालमालिन्गुस्टिक्स’ (भाषाविज्ञान) विषय भन्ने वितिक्कै हरेक व्यक्तिले शुरुमा उहाँलाई पनि सम्झिन्छन् मास्टर्स गरिसकेपछि २०४२ मा फुल ब्राइट स्कलरशिप मार्फत अमेरिकाको ख्याति प्राप्त मिसिगन विश्वविद्यालयवाट लिन्गुस्टिक्समा पुन: मास्टर गर्नु भएका प्राध्यापक अवस्थीले भारतको हैदरावाद विश्वविद्यालयवाटअप्लाइड लिन्गुस्टिक्सअन्तर्गत  ‘Error Analysis’ विषयमा २०५२ मा पी.एच.डी. गर्नु भएको हो

४० बर्ष त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गर्नु भएका अवस्थीले सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको आधार स्तम्भ राख्नमा ठुलो योगदान गर्नु भएको भाषा विज्ञानका ज्ञाता तथा शिक्षाविद् अवस्थीले भिजिटिंग प्रोफेशरको रुपमा विश्वका ख्यातिप्राप्त विश्वविद्यालयमा प्राध्यापन गरी सक्नु भएको यसरी लामो समयसम्म देश तथा विदेशको शैक्षिक प्रणाली अवस्थाको बारेमा अनुभव भएका प्राध्यापक अवस्थीसँग नेपालमा शिक्षाको बर्तमान अवस्था भविष्यको बारेमा केन्द्रित रहेर नेपालपत्रका प्रधान-सम्पादक गोपाल भण्डारीले गरेको कुराकानी

१. नेपालमा ‘लिन्गुस्टिक्स’ (भाषाविज्ञान) विषय भन्ने वितिक्कै हरेक व्यक्तिले सुरुमा यहाँलाई सम्झिन्छन् । नेपालमा भाषा विज्ञानको बर्तमान अवस्था कस्तो रहेको छ ?

सन् १९७९ मा भाषाविज्ञान समाजको स्थापना भएको थियो । म पनि त्यसको संस्थापक सदस्य हो । नेपालमा भाषाहरुको तथ्यांक हेर्ने हो भने नेपालमा १२३ भाषा बोलिने देखिन्छ  भन्ने नेपाली, मैथिली, भोजपुरी, थारु, तामांग, नेवार, बजिका, मगर, डोटेली र उर्दु लगायत भाषाहरु बोल्ने जनसंख्या ठुलो छ । तर हामीले सन् २०११ को जनगणना हेर्ने हो भने १४ वटा भाषाहरु १  प्रतिशत भन्दा बढी मानिसले बोल्छन् । केहि भाषाहरु लोप हुँदै गई रहेका छन् । भाषाविज्ञान समाज र भाषाविज्ञान बिभागले बिगतमा भाषा सर्भे पनि गरेका छन् । प्राध्यापक तेजरत्न कंसाकार, प्राध्यापक चुडामणि बन्धु, प्राध्यापक नोवेल किशोर राई, प्राध्यापक माधव पोखरेल,  प्राध्यापक दान राज रेग्मी लगायत अहिलेका जल्दाबल्दा भाषा विज्ञानका प्राध्यापकहरु भाषाविज्ञानको सर्भेमा जुटिराख्नु भएको छ । अहिलेको मुख्य विषय भनेको भाषाको संरक्षण  कसरी गर्ने तथा लोप हुन् लागेका भाषाहरुलाई कसरी जोगाउने भन्ने हो । सरकारले पनि भाषा आयोगको गठन गरेको छ । यसले पनि भाषाको क्षेत्रमा काम गरी राखेको छ भन्ने सुनेको छु । केहि न केहि काम भई रहेको छ तर जति हुनुपर्थ्यो त्यति सन्तोषजनक भएको छैन ।

२. सर त सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका प्रथम उपकुलपति पनि हुनुहुन्छ । नेपालको एउटा विश्वविद्यालय पनि विश्वका एक हजार विश्वविद्यालयहरुको सुचीभित्र पर्न सकेको छैन, अब विश्वविद्यालयहरुमा शैक्षिक गुणस्तर अभिबृद्धि गर्न के गर्नुपर्ला ? विश्वविद्यालयहरु मध्ये सबैभन्दा टपमा आउनको लागि केके कुराले निर्धारण गर्छ ?

नेपालमा खोज, अध्ययन, अनुसन्धान गर्ने काममा बजेट वृद्धि भएको नै छैन विश्वविद्यालयको मुख्य काम भनेको खोज, अध्ययन, अनुसन्धान गर्ने नै हो । हामीले अनुसन्धानलाई प्राथमिकता दिएर त्यसलाई शिक्षणसँग जोड्ने हो जसले क्वालिटीमा पनि सुधार ल्याउछ । नेपालको  सबैभन्दा ठुलो समस्या भनेको शिक्षामा राष्ट्रिय बजेट कम हुँदै गएको प्रसंग हो शिक्षामा र अनुसन्धानमा बजेट बढाएर शैक्षिक गुणस्तर बढाउन सकिन्छ शिक्षामा छुट्याइएको बजेट एकदम न्यून छ । शिक्षामा २० प्रतिशत बजेट नपुर्याईकन अन्तर्राष्ट्रिय स्तरको शैक्षिक गुणस्तर अभिबृद्धि गर्न सकिदैन ।

विश्वविद्यालयको रेकिंगमा सबैभन्दा अघि आउन अन्तर्राष्ट्रिय स्तरमा त्यो विश्वविद्यालयमा कति  खोज, अध्ययन, अनुसन्धान भएको छ र अन्तर्राष्ट्रिय स्तरका ख्यातिप्राप्त जर्नलमा कति अनुसन्धान प्रकाशन भएको छ भन्ने कुराको साथै त्यहाँ भएका प्रोफेसरहरु कुन तहका छन् र कति जना विश्वमा नाम चलेका वा नोबेल पुरस्कार विजेता छन् भन्ने कुराले निर्धारण हुन्छ ।

३. सर शिक्षा क्षेत्रको धेरै लामो समयसम्म काम गरेको अनुभवी विज्ञ पनि हुनुहुन्छ नेपालको वर्तमान शैक्षिक प्रणालीलाई तपाइले कसरी विश्लेषण गर्नुहुन्छ ?

शिक्षा प्रणाली भन्ने वितिकै हाम्रो विद्यालयदेखि विश्वविद्यालयसम्म भएका शिक्षण प्रणाली र योजनाहरु हेर्नुपर्ने हुन्छ । यी सबै कुरा हेर्दा हामीले भोलिको पुस्तालाई सम्बोधन गर्ने खालको शिक्षा अहिले दिइरहेका छौ वा छैनौ भन्ने हेर्नु पर्दछ । अहिले नेपालमा बेरोजगार जनशक्ति मात्र तयार भई रहेको छ भने दक्ष जनशक्ति तयार भई रहेको छैन । Education for coming  Decades भन्ने खालको शिक्षा योजना हाम्रो तयार भएको छैन । हाम्रो देशमा दीर्घकालीन मानव संसाधन योजना (Human Resource Planning) पटक्कै भएको छैन । कस्तो खालको जनशक्ति के को लागि तयार पार्ने भन्ने योजना र त्यो जनशक्तिलाई अवलोकन कसले गर्ने भन्ने खालको संयन्त्र तयार पार्नुपर्छ । भोलीको लागि नेपाल र विश्वको लागि काम लाग्ने सक्ने दक्ष जनशक्ति तयार पार्न सक्नुपर्छ ।

. सर बिदेशी विश्वविद्यालयमा भिजिटिंग प्रोफेशर भएर प्राध्यापन पनि गर्नुभयो नेपाली विश्वविद्यालयको शिक्षा बाहिरी विश्वविद्यालयको शिक्षामा के फरक पाउनुभयो ?

यो एकदम गहन प्रश्न हो । University is for learning and Higher education for learning भन्ने कुरा बिर्सिनु हुँदैन । अर्को कुरा हामीले विश्वविद्यालयलाई University for World Knowledge को रुपमा हेर्नुपर्छ । बिदेशी विश्वविद्यालयमा विद्यार्थीहरुले म यहाँ सिक्नको लागि आएको हो र मैले धेरै सिक्नुपर्छ भन्ने भावना राख्छन् । हामीले नेपालमा  Certificate oriented शिक्षा दिइएका छौं भने Job oriented शिक्षा दिन सकिरहेका छैनौ । विद्यार्थीहरुले यहाँ मेरो कति प्रतिशत आयो वा कुन ग्रेड आयो भनेर चिन्ता लिन्छन् तर उसलाई मैले कति, के के सिकेको छु भन्ने चिन्ता दिएको देखिदैन । अरु देशका विद्यार्थीहरु पढाईप्रति लगनशील हुन्छन र उनीहरु सिर्जनशील पनि हुन्छन । नयाँ खोज, अध्ययन र अनुसन्धान  गर्न विश्वविद्यालयले छात्रवृति, अनुदान र सहयोग गर्छ । विश्वविद्यालयमा राजनीति पटक्कै हुँदैन । हाम्रोमा त विद्यार्थी, प्रोफेसर सवैलाई राजनीतिको हावाले छोएको हुन्छ । राजनीतिको बारेमा चासो राख्छन तर विश्वविद्यालयमा राजनीति गर्दैनन् । कुनै पनि प्रोफेसरले म फलानो पार्टीको भनेको सुनेको छैन । त्यसैले गर्दा शिक्षकले विद्यार्थीवाट सिक्ने र विद्यार्थीले शिक्षकवाट सिक्ने वातावरण हुन्छ । तर हाम्रोमा भने एउटा विषयमा स्नातकोत्तर उपाधी प्राप्त गर्दा उक्त विषयको ठुलो विज्ञाता सम्झिने चलन छ । तर अन्य देशमा शिक्षकहरु जीवनप्रयन्त सिकारुकै रुपमा भेटिन्छन् ।

५. नेपालमा शैक्षिक संस्थाहरुको गुणस्तर बढाउन नसक्नु कारण के हो ?

शिक्षण संस्थाको गुणस्तर बढाउनको लागि शैक्षिक वातावरणको आवश्यक हुन्छ । यदि हामीले उचित शैक्षिक वातावरण बनाउन सक्यौ भने  नेपालमा पनि शैक्षिक संस्थाहरुको गुणस्तर अवश्य पनि बढ्छ । एउटा विद्यार्थीहरुमा म सिक्नको लागि आएको हो भन्ने चिन्तन हुनुपर्छ र शिक्षकमा पनि मैले पढाएको विद्यार्थी राम्रो होस् भन्ने र आफ्नो बिद्यार्थीको उन्नतिमा गौरव मानोस । त्यो शिक्षकले मलाई पढाएको भन्ने विद्यार्थीमा पनि मान सम्मान गर्ने बानी रहोस् । दोस्रो शिक्षक पूर्वाग्रही हुनुहुदैन । आफुलाई मनपर्ने मात्र विद्यार्थी र अरु होइन भन्ने कुदृष्टि राख्न थालियो भने गुणस्तर आउदैन । शिक्षण संस्थाहरुले गुणस्तरीय शिक्षा  दिने वातावरण बनाई दिनुपदर्छ । अत्याधुनिक पुस्तकालय, इन्टरनेट सुविधा र अन्तर्राष्ट्रिय जर्नलहरुको व्यवस्था एउटा असल शिक्षण संस्थाको गहना हुन् । शिक्षकहरुलाई उनीहरुको प्राज्ञिक उन्नतिको समुचित वातावरण बनाउन सके शिक्षाको गुणस्तर बढाउन सकिन्छ ।

६. नेपालमा शिक्षाको गुणस्तर खस्कनुमा राज्यको मात्र कमजोरी हो की यहाँ जस्ता शिक्षाविद्हरुको भूमिका र जिम्मेवारी कत्तिको रहन्छ ?

मलाई लाग्छ दोष र कमजोरी सबै हो ।  पहिलो कुरा, राज्यको कमजोरी भनेको राज्यले The Right Man in the Right Place at the Right Time मा राख्न नसक्नु हो । दोस्रो कुरा भनेको जिम्मेवारी मात्र दिइन्छ योजना छैन । जिम्मेवारी दिनुभन्दा पूर्व योजना बनाउनुपर्छ, योजना बनाएर ल्याउन लगाउनुपर्छ । मलाई लाग्छ योजना भनेको धेरै महत्वपूर्ण हो । हामी शिक्षकहरूको पनि कमजोरी होला किनकी हामीले पाएको जिम्मेवारी इमान्दारीपूर्वक बहन गर्न नसकेको हुनुपर्छ । त्यसरी नै राज्यवाट शिक्षण संस्थालाई दिनुपर्ने बजेट यथेष्ट नदिएर पनि गुणस्तर खस्केको हुनुपर्छ, बिद्यार्थीहरुमा पनि अध्ययन गरेर सिर्जनसीलता प्राप्त गर्न कोशिस नभएको हुन सक्दछ ।

७. शैक्षिक प्रणालीमा देखिएका कमजोरीलाई सुधार गर्न संघीय संरचनामा अबको शिक्षा नीति कस्तो हुनुपर्छ ?

स्थानीय सरकारहरुलाई पुरै जवाबदेही बनाएर उनीहरुलाई शैक्षिक प्रणाली संचालनको जिम्मा दिनुपर्छ तर केन्द्र सरकारले सुपरिवेक्षण र अनुगमन चाही गर्नुपर्छ । केन्द्र सरकारले पनि केहि धेरै राम्रा केन्द्रिय विद्यालय र विश्वविद्यालय खोलेर तिनीहरुको संचालन र अनुगमन गर्नुपर्दछ भने राज्यले प्रदेश भित्रका अन्य विद्यालय र विश्वविद्यालयको संचालन र अनुगमन गर्नुपर्दछ । प्रदेश सरकारले ठाउँ अनुसारको प्राविधिक शिक्षामा विशेष गरी दिनुपर्दछ ।

८. शिक्षक सेवा आयोगले लिने सबै परीक्षामा शतप्रतिशत अंक पाउने व्यक्तिहरु मात्रै शिक्षक बन्न योग्य हुने व्यवस्था गर्न विज्ञहरुले दिएको सुझावलाई कसरी विश्लेषण गर्नुहुन्छ ?

शतप्रतिशत अंक ल्याउनको लागि त गार्हो होला तर उच्च क्षमता भएको शिक्षक पाउन सकियो भने राम्रै हुन्छ । राम्रो शिक्षक भयो भने विद्यार्थी पनि राम्रो बन्छ। शिक्षक हुनको लागि मोटिभेसन पनि हुनुपर्छ । जस्तै राजनीतिज्ञ र सरकारी कर्मचारीहरुले पाउने जत्तिकै सेवा र सुविधाहरु यदि शिक्षकले पाउने हो भने शतप्रतिशत अंक ल्याउने र धेरै मेधावी बिद्यार्थीको यो पेशामा आकर्षण बढन् सक्छ।

९. सरकार, शिक्षाविद् लगायत शिक्षा सरोकारवालाहरुले सामुदायिक विद्यालयलाई प्राथमिकतामा राखेर कार्यक्रमहरु अगि बढाइरहेको अवस्था छ । यसले निजी विद्यालय संचालनमा के कस्तो प्रभाव पार्दछ ?

मलाई लाग्छ निजी विद्यालयहरु पनि राष्ट्रको आवश्यकताले नै आएका हुन् । त्यो समयमा हामीलाई निजी विद्यालय आवश्यक  नै थियो । नेपालमा २०३७ सालवाट शिक्षामा निजीकरण शुरुवात भएको हो । २०३७ सालदेखि त्रिभुवन विश्वविद्यालयले पनि Affiliation दिन शुरु गर्यो । २०२८ सालमा सरकारले सबै शिक्षाको अधिकार आफ्नो हातमा लियो र फेरि २०३७ सालमै किन विस्थापित गर्नुपर्यो यो अध्ययनको विषय हो ।  त्यतिखेर त अमेरिकी सरकार अन्तर्गतको USAID ले शिक्षामा ५७ करोड बजेट सहयोग दिएको थियो । त्यतिखेरको लागि त्यो ठुलो बजेट थियो । त्यो सकिने बितिकै त्रिभुवन विश्वविद्यालयवाट Affiliation पनि सुरुवात भयो । अनि सरकारले पनि विद्यालयलाई शिक्षकहरुको तलव मात्र बिनियोजन गर्न सकिने तर भौतिक संरचना र सेवासुविधामा बजेट दिन नसकिने भन्यो । निजी स्कुल र कलेजलाई कम्पनीमा दर्ता गर्न दिएर बिकृति भित्र्याउने काम पनि सरकारले नै गरेको हो । ट्रष्टमार्फत स्कुल र कलेज खोल्ने प्रावधान बनाएको भए सवै ब्यबस्थित हुन्थे । यस अवस्थामा निजी विद्यालय तथा क्याम्पसहरुको उचित नियमन गर्नु समय सापेक्ष हुन्छ । तिनीहरुलाई बन्द गर्ने प्रश्नको अन्त्य नियमनवाट गर्न सकिन्छ ।

१०. नेपालमा निजी विद्यालयलाई खारेज गर्नुपर्छ भन्ने आवाज चर्को रुपमा आएको छ । यसले पार्ने दीर्घकालिन प्रभाव र असर व्यवस्थापन गर्न सरकारसंग क्षमता छ ? यसमा यहाँ को धारणा के छ ?

सरकारी अनुदान प्राप्त विद्यालयहरुले गुणस्तर बढाएर लाँदा निजी विद्यालयप्रतिको आकर्षण काम हुदै जान्छ । हालसम्म सरकारी सेवा लगायत प्रमुख क्षेत्रहरुमा सरकारी अनुदान प्राप्त विद्यालयका उत्पादनहरु अधिकांश ठाउँमा पुगेको देखिन्छ ।

११. नेपालमा अव शिक्षाको गुणस्तर बढाउन विदेशी दातृ निकायको सहयोग बन्द गर्नुपर्छ भन्ने धारणा पनि आउन थालेको छ । दातृ निकायको सहयोग बन्द गर्दा हाम्रा विश्वविद्यालयहरु संचालन हुन सक्छन ? यसमा यहाँको धारणा के छ ?

शिक्षाको गुणस्तर बढाउनको लागि नै भनेर विदेशीको सहयोग आएको छ । विदेशी दातृ निकायको शिक्षामा सहयोग हामी नेपालीको हितमा हुनुपर्छ । हामी नेपालीले आफै योजना बनाएर आफ्नो माटो सुहाउँदो शिक्षाको लागि मात्र विदेशी सहयोग लिनुपर्छ । नेपाली अर्थतन्त्रले मात्र नेपालको शिक्षाको गुणस्तर बढाउन नसक्ने भएकोले आवश्यकताको आधारमा सहयोग लिने प्रावधान गर्दा राम्रो हुन्छ ।

१२.विकास उन्मुख जस्तो देश अन्तर्राष्ट्रिय स्तरको दीर्घकालीन वा अल्पकालीन खालको योजनाहरु नेपालको राष्ट्रिय योजना आयोगले बनाउन सकेको छ जस्तो लाग्छ ?

अहिलेसम्म त्यस्तो देखिएको छैन । नेपालको राष्ट्रिय योजना आयोगले अन्तर्राष्ट्रिय स्तरको दीर्घकालीन वा अल्पकालीन खालको योजनाहरु बनाई देशको विकास गर्नतिर अघि बढ्नुपर्छ । अव राज्य सरकारको आफ्नै योजना आयोग हुने हुनाले राज्यका अल्पकालीन र दीर्घकालीन योजना यिनैले बनाउने भएकोले पहिले हुन नसकेका कार्य हुन् सक्ने विश्वास गर्न सकिन्छ ।

१३. आजसम्म जीवनमा देश, विदेश भ्रमण, शिक्षण, प्राध्यापन, उपकुलपति जस्ता धेरै अरोह–अवरोहका भोगाईका अनुभववाट भन्दा वास्तवमा जीवन के रहेछ ?

जीवन भनेको संघर्ष हो, हामीले आफ्नो अनुभववाट सिक्दै जानुपर्दछ

१५. अरु भन्न छुटेका केहि कुराहरु छन की ?

शिक्षित व्यक्तिहरुले धरातलीय यथार्थ भन्दा माथि उठेर म शिक्षित व्यक्ति हु, म जे गर्छु मेरो देशलाई अगाडी राखेर गर्छु र त्यसप्रति म समर्पित छु भन्ने भावनावाट कार्य गर्नुपर्दछ र आफुले पाएको जिम्मेवारी राम्रोसँग बहन गर्न सिकौ

१६. अन्त्यमा, नेपालपत्रमार्फत आम पाठकलाई के भन्न चाहनुहुन्छ ?

नेपालपत्रलाई धन्यवाद दिन चाहन्छु किनकी मलाई आफ्ना भावना राख्ने अवसर दिनुभएकोमा हाम्रो अनि सुन्दर देशलाई विश्व आकर्षणको केन्द्र बनाउन हामी सवै शिक्षित व्यक्तिहरुले आ-आफ्नो ठाउँवाट नि:स्वार्थ सक्दो सहयोग गरौ


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !