८ मंसिर २०८१, शनिबार

नयाँ नेपाल बनाउन बिल्कुलै नयाँ विचार र दूरदर्शी सोचको टड्कारो आवश्यकता – डा. संग्रौला


प्रा. डा. युवराज संग्रौला फाइल फोटो

पाँचथरमा जन्मिएका प्रा. डा. युवराज संग्रौला तीन दशकभन्दा लामो समयदेखि कानुन बिषयमा प्राध्यापन गर्दै आउनु भएको छ । कानुन तथा मानव अधिकार सम्बन्धी पुस्तक प्रकाशित गरेका बहुआयामिक व्यक्तित्व संग्रौला पुर्व महान्यायधिवक्ता, वरिष्ठ अधिवक्ता, कानुनविद्, राजनीतिक बिश्लेषक, चिन्तक तथा बौद्धिक व्यक्तित्व हुनुहुन्छ । नेपालको कानुनी क्षेत्रका स्थापित व्यक्तित्व संग्रौला राजनीति, समाज, संस्कृति, राष्ट्र, कानुन, राष्ट्रिय सुरक्षा आदिबारे पत्रपत्रिकामा नियमित बिश्लेषण र अनुसन्धानमुलक लेख प्रकाशित गर्दै आउनु भएको छ ।

चर्चित पुस्तक नि:सङ्कोच अभिव्यक्तिका लेखक संग्रौलाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जुनसुकै समसामयिक बिषयमा टेलिभिजनमा आफ्ना धारणा राख्दै आउनु भएको छ । नेपाल नबन्नुका पछाडी यहाँका शासकहरु र राजनैतिक नेतृत्वमा नयाँ सोच र विचारको अभाव तथा बिदेशी खेल रहेको धारणा राख्दै आउनु भएको छ । अव नयाँ नेपाल बनाउन नयाँ सोच र विचारको टड्कारो आवश्यकता रहेको धारणा राख्नु हुने डा. संग्रौलासँग नेपाल किन बन्न सकेन्, नेपाललाई बन्न किन दिएन र अव नयाँ नेपाल बनाउन के गर्नुपर्छ भन्ने गहन विषयमा केन्द्रित रहेर नेपालपत्रका प्रधान-सम्पादक गोपाल भण्डारीले गरेको कुराकानी ।

१. म यहि Topic वाट कुरा शुरु गर्छु, छोटोमा भन्नुपर्दा नेपाल किन बन्न सकेन ?

नेपाल नबनेको होइन इतिहासलाई हामीले हेर्ने हो भने ६४० पछि हामीले भारतलाई कागज बेच्न थालेका थियौ । कौटिल्यको अर्थशास्त्रमा नै लेखिएको छ की हामीले ऊन बेच्ने गरेका थियौं । लगभग मगतलाई पुग्ने ऊन उत्पादन गर्थौं भनेपछि कल्पना गर्नुस् नेपालले कति उत्पादन गर्थ्यो भनेर । तिव्वतलाई हामी सिलवलर र गोल्डका क्वीनहरु बेच्थ्यौं त्यहि कारण नेपाल हिजो यस्तो बनेको थियो । त्यसैले यो दुईवटा देशको वीचमा बस्दाखेरि हिजो हामीले आर्थिक उन्नति गरेका थियौ । शासक कुनै समयमा कम्जोर भईसकेपछि नेपाल विखण्डित भएको हो । करिव ५००/६०० वर्ष नेपाल विखण्डित हुँदा स-साना रजौंटाहरुमा देश बाँडियो । जतिबेला हामी संसारको अरु देशहरुमा जस्तै अर्थतन्त्र कन्सलुटेड हुनुपर्ने बेला थियो त्यो समयमा हाम्रो देश १३/१४ शताब्दीवाट १६ औं शताब्दीसम्म विखण्डित भएर बस्यो । त्यसैले गर्दा देशको अर्थतन्त्र केन्द्रित हुन सकेन । पृथ्वीनारायण शाहको एकिरणपछि फेरि देशले राजनीतिक स्वरूप ग्रहण गर्यो । आयस्रोत त नभएको होइन । यदि आयस्रोत नभएको भए कसरी पृथ्वीनारायण शाहले टिष्टादेखि कांगडासम्म एकीकरण गर्थे । हामीसँग पैसा नभएको भए त्यत्रो अंग्रेजसंग लडाई कसरी हुन्थ्यो र ?

पछिल्लो समयमा के भयो भन्दाखेरी हाम्रो नेपाल बन्न नसक्नुका केहि खास कारणहरु छन् । आधुनिक राजनीतिमा सन् १९४९ पछि चीनमा कम्युनिष्ट व्यवस्था शुरु भयो । भारत स्वतन्त्र भयो र सीभियत संघको नजिक गयो । भारत र चीन दुवै पश्चिमी साम्राज्यवादी शक्तिको विरुद्धमा लडे । जो सधै एउटा उपनिवेशिक शासक प्रणालीको पक्षधर रहन्छन् । जति-जति चीन माथि गयो त्यति-त्यति नै नेपाल संक्रमणमा गयो कारण चीनले जति प्रगति गर्दै गयो त्यति नै पश्चिमाहरुले चीनको प्रगतिलाई रोक्नको लागि नयाँ नीतिहरु निर्माण गर्दै गए । भारत पनि सीभियत संघको नजिक भएको कारणले गर्दाखेरि उसलाई पनि नियन्त्रण गर्नको लागि नीति बनाउँदै जाँदा बस्ने थलो वा खेल मैदान नेपाल सजिलो भईदियो । अनि यहाँ बस्दाखेरि यहाँ नेपालमा स्थिर बहुमत प्राप्त सरकार हुँदा उनीहरुलाई खेल्न सहज नहने भएकोले हामी नेपालीलाई जाति, धर्म र भूगोलमा बाँडिदिए । नेपाललाई अस्थिर बनाउन आदिवासी जनजातिका कुरा, धर्म निरपेक्षता र संघियताको कुरा उठाईदिए । राजनीतिक आन्दोदन सकिदापनि हामीले आर्थिक समृद्धिका लागि काम गर्न पाई रहेका छैनौ । १९९२ मा नवउद्धारवाद ल्याएर हाम्रोमा हाल्दिए हाम्रो आर्थिक अवस्था डामाडोल भयो । उद्योगधन्दाहरु तहसनहस भए जबकी १९७८ देखि १९९४ सम्म हाम्रो आर्थिक अवस्था धेरै माथि भएकोले चीन भन्दा हामी अगाडि थियौ । त्यसपछि उद्योग सकियो सवै सिद्धियो । एउटा कुरा नेपाल किन बन्न सकेन भने मूल कुरा हामीलाई बन्न नै दिएनन् त्यसैले गर्दा नेपाल बन्न सकेन ।

२. नेपाल नबन्नुका पछाडी के के कारणहरु रहेका छन् ?

नेपाल नबन्नुको मूल कारण हामीलाई बन्न नै दिएनन् त्यसैले गर्दा नेपाल बन्न सकेन । अर्को कुरा समाजको राजनीतिक अस्थिरता एउटा रोगको रुपमा परिणत भयो । जब समाज राजनीतिक रुपमा अस्थिर हुन्छ त्यसले आर्थिक रुपमा उत्पादन गर्न बन्द गर्छ । जब आर्थिक रुपमा उत्पादन गर्न बन्द गर्छ त्यसले नागरिकहरुमा निराशाको निर्माण गर्दछ अनि सबै युवाहरु रोजगारीको लागि विदेशी जान बाध्य छन् । अफगानिस्तान लगायत अन्य देशहरुमा त्यहि भयो । अहिले बिगत ३० वर्षमा यति धेरै मान्छेहरु बाहिरिएर उनीहरुले कमाएर यहाँ बुवा-आमा, छोराछोरीहरु पालिरहेका छन् । दोस्रो कुरा उनीहरुले यहाँ बसेर काम नगरेको हुनाले त्यहाँवाट पैसा पठाएको हुनाले नेपालमा उनीहरुको परिवार काम गरेर नखाने बसेर खाने परेवाको चल्ला जस्तै भईदियो । उनीहरुले कमाउने अनि यहाँ खाने गरेपछि उत्पादन नभएकोले गर्दा हाम्रो आर्थिक उत्पादन सबै बर्बाद भयो । अर्को कुरा उनीहरु बिदेशमा गएर कमाएर पठाउने गरेको हुनाले देशभित्रको प्राकृतिक स्रोत साधनहरु जस्तै खानी, जल र जंगलको उचित रुपमा सदुपयोग नभएकोले उत्पादन गर्न सकिएन । तेस्रो कुरा देशमा भएका शिक्षित व्यक्तिहरु विदेशिएपछि देशमा काम गर्ने मान्छे छैनन् । अर्धशिक्षित व्यक्तिहरु सबै विदेशमा काम गर्न गएका छन् । यी दुबै खालका मान्छेहरु प्रविधि ल्याउने शिक्षित मान्छेहरु र श्रम गर्ने अर्धशिक्षित व्यक्तिहरु विदेशिएपछि हाम्रो प्राकृतिक स्रोत-साधन निस्क्रिय भएकोले उत्पादन नै भएन । उत्पादन नभएपछि हामी तल भयौ जति बढी आर्थिक उत्पादन घट्यो त्यति नै निराशा आउने हो । त्यो मनोवैज्ञानिक कुरा हो । त्यसैले गर्दा बिद्रोह गराउने भन्दा नेपालीहरुलाई यसरी खतम बनाउने जुन खेल हो त्यसैले गर्दा हामी बिग्रिएका हौं ।

३. पृथ्वीनारायण शाहको पालादेखि कुरा गर्दा कहिलेदेखि पश्चिमाहरुले नेपाललाई अस्थिर बनाउने खेलमा लागे जस्तो लाग्छ तपाईलाई ?

पहिलो कुरा त पृथ्वीनारायण शाहको एकिरणलाई रोक्नलाई पश्चिमाहरुले प्रयत्न गरे । पृथ्वीनारायण शाहको एकिरणलाई रोक्न प्रयत्न गर्दा काठमाडौंका राजाहरुलाई आफ्नो उपनिवेशिक शासकहरुले काठमाडौंलाई प्रयोग गरेर पृथ्वीनारायण शाहलाई रोक्न खोजे । त्यो रणनीतिक रुपमा पृथ्वीनारायण शाह चतुर भएकोले काठमाडौंलाई उनले पहिला लिए र ब्रिटिसहरुको चाहना नेपाललाई आक्रमण गरेर नेपाललाई भित्र हाल्ने थिएन । थियो के भन्दा तिव्वतको बजार क्याप्चर गर्ने र काठमाडौंको बजार क्याप्चर गर्ने थियो । त्यसपछि पृथ्वीनारायण शाहसंग उनीहरुको मनोवैज्ञानिक लडाई शुरु भयो । यसपछि नेपालको विरुद्धमा ब्रिटिसहरुले सधै काम गरे । राणाहरु आईसकेपछि उनीहरुलाई खुसी पारेर सन् १९२९ को सन्धि गरे । त्यसपछि नेपालीमा शिक्षित भए भयो भने गोर्खा भर्तीमा मान्छे पाइदैन भनेर शिक्षाका सबै ढोका बन्द गर्दिए । उद्योगहरु खोल्यो भने नेपाली फेरी भर्तीमा जादैन र विदेशतिर भाग्दैन भनेर उद्योगहरु खोल्न दिएनन् । राणाहरुलाई १०/१२ लाख भारु दिए । राणाहरु यहाँ मोज गरेर बसे बने गरीवहरु जति समाप्त भए । त्यतिबेला पनि पश्चिमाहरुले उत्तरलाई नियन्त्रण गर्नु नै थियो ।

ब्रिटिसहरु स्वतन्त्र भएर गई सकेपछि विश्वमा अचम्म खालको परिवर्तन आयो । चीनमा १९४९ मा कम्युनिष्ट देश भयो । भारत स्वतन्त्र देश भयो । यी दुई वटालाई नियन्त्रण गर्नको लागि पुरै पश्चिमी शक्तिहरु लाग्यो त्यसकारण खास नेपाललाई भत्काउने र बिगार्ने खेल १७६५ वाट शुरु भयो किनभने पृथ्वीनारायण शाहको उद्धेश्य नेपालको एकीकरण गर्नु मात्र थिएन । उनी एउटा अद्भूत चेतना भएका मान्छे थिए । त्यो अद्भूत चेतनाको कारणले गर्दा उनले के गरे भने एसियावाट त्यो उपनिवेशवादलाई खेद्नुपर्छ भन्ने उनको नीति थियो । त्यो समयमा उनी मरेकोले गर्दा उनले त्यो गर्न सकेनन् । नेपाललाई स्वतन्त्र बनाएर यदि उनी लामो समयसम्म बचेको भए वास्तवमा ब्रिटिसहरु भारतमा पहिला नै भाग्नु पर्दथ्यो किनभने उनले कयौं भारतका राजाहरुलाई एकीकरण गर्थे तर पृथ्वीनारायण शाह मरेपछि नेपाल त एकीकरण भयो त्यसकारण उपनिवेश विरुद्धको चेतना बढाउन सकेनौं । उपनिवेशको चेतना के हो भन्दाखेरी दक्षिणकोलाई कहिले विश्वाश नगर्नु । यो देशघाती हुन्छ, यो धोकेबाज हुन्छ तर उत्तरकासंग अलिक नजिक हुनु तर यो पनि अलि चिसो शक्ति छ भन्थे । त्यसैले नेपाल दुई ढुंगा वीचको तरुल हो त्यसकारण हामीले सतर्क भएर बस्नुपर्छ भन्ने जुन चेतना नै हिजोको उपनिवेशवाद विरुद्धको चेतना हो ।

४. पृथ्वीनारायण शाहको पालादेखि कुरा गर्दा नेपाल नबन्नमा कस-कसको दोष वढी देख्नुहुन्छ ?

उत्पादनको विकास र प्रविधिको विकास नगरेसम्म समाजको विकास हुँदैन । समाजको विकास भनेको विस्तारै क्रमवद्ध ढंगवाट आधुनिकतातिर जाने एउटा प्रक्रिया हो । रातारात देशलाई विकास गर्न सकिदैन र समाजलाई परिवर्तन गर्न पनि सकिदैन । क्रान्ति भनेको मानिसको मनोविज्ञानको परिवर्तन, आर्थिक अवस्थाको परिवर्तन, सोचाईको परिवर्तन र भूगोलको परिवर्तन पनि हो । त्यस्तै क्रान्ति भनेको भूगोल समृद्ध हुदै जाने कुरा पनि हो तर हामीले क्रान्तिलाई के बुझियो भने पुरानो सबै कुरा तोडिदिने मात्र बुझियो । एउटा त हामीले क्रान्तिको परिभाषा गलत बुझ्यौ । अव पृथ्वीनारायण शाहपछि हेर्दा भीमसेन थापाको हत्या, माथवरसिंह थापाको हत्या त्यसपछि क्रमश: त्यो हत्या सकल जंग बहादुर राणाको परिवारको हत्या र त्यसपछि राणाहरु पुरै ब्रिटिसहरुको दास भएर १९५१ सम्म आउँदा पनि देश पराधिन स्थितिमा थियो । त्यसपछि त्रिभुवनको नेहरुसंगको साँठगाठ । महेन्द्रले सत्ता लिई सकेपछि महेन्द्रको मृत्यु भनेर भनिन्छ तर हामीले उनको मृत्यु हो वा के हो त्यो अहिलेसम्म खोजी गरेका छैनौ ।

अहिलेसम्म आउँदा करीव २५० बर्षसम्म निरन्तर हामी कसैको षडयन्त्रको चक्रब्यूमा फसेका छौ । विकास भएन भन्दा पनि म यसो भन्छु २५० बर्षसम्म निरन्तर नेपालीले आफ्नो देश जोगाएर बसेका छन् हामीले त्यसरी सोच्नुपर्छ र अव हामीले नयाँ सोच, नयाँ मान्यता र नयाँ दृष्टिकोणका साथ सवै नेपाली एकतावद्ध अघि बढ्नुको विकल्प छैन । मैले भन्ने गरेको छु अवको हाम्रो नारा भनेको राजनीतिक नारा होइन अव प्रत्येक नेपालीलाई आत्मनिर्भर बनाउन उत्पादनमा सरिक हुने नारा लिएर अघि जानुपर्छ । हरेक नेपालीलाई उत्पादनको लागि प्रेरित गर्नुपर्छ । त्यो उत्पादनमा सक्षम भएको आत्मनिर्भर नागरिक मात्र सच्चा देशभक्त राष्ट्रवादी नेपाली नागरिक हो । अवको क्रान्ति भनेको उत्पादनको प्रतिस्पर्धाको क्रान्ति हो । हरेक यूवालाई संगठित गरेर अव हामीले देशमै उत्पादन आत्मनिर्भर हुन सिकौ । बाहिरको बस्तु ल्याउन छोडौ । अव हामीले हाम्रो देशमा नै हरेक कुराको उत्पादन र प्रविधिको विकास गरेर आत्मनिर्भर र स्वावलम्वी भएमा मात्र हाम्रो देशलाई बचाउन सक्छौ । अहिलेको समय भनेको उत्पादन र प्रविधिको विकासलाई राष्ट्रियतासंग जोड्ने समय हो । अव म प्रश्नको सटिक उत्तरमा आउँदा नेपाल नबन्नमा दोष कुनै व्यक्तिलाई दिन चाहन्न । यो देश नबन्नुमा व्यक्तिको असफलता नभई विचारको असफलता हो । नेपालमा नयाँ विचार जन्मन सकेन । विचार नजन्मेसम्म शासक वा नागरिक कसको दोष हो भन नै सकिदैन । अहिलेसम्म विचार जन्मन सकेन अव विचार जन्माउने बेला हो ।

५. देश नबन्नुमा नेपाली जनताको दोष कत्तिको छ ?

जनताको पनि दोष र नेताको पनि दोष छ । समस्या सोच र विचारको हो । विचार नभएपछि सबैलाई दोष देखिन्छ । यतातिर कुरा नगरौ नेताले कति गल्ती गर्यो र जनताले कति गर्यो भन्नेतिर गयौं भने गलत निष्कर्ष निकालिन्छ । अहिलेसम्म नेपालमा राजनीतिक नेतृत्वले विचार निर्माण गर्न सकेन । जसजसले विचार निर्माण गर्न प्रयत्न गर्यो उसलाई समाप्त पारियो । जनताले उनीहरुलाई सहन सकेन । त्यसैले अबको युग भनेको विचारको निर्माण गर्ने नेतृत्वलाई अघि बढाउनुपर्छ र त्यो विचारको नेतृत्व गर्ने नेतालाई जनताले संरक्षण गर्नुपर्छ । त्यो विचार के हो भने देशमा उत्पादन बढाउनुपर्छ र राष्ट्रियतालाई संरक्षण गर्नुपर्छ ।

६. नेपालमा नेपाल बनाउने राजनेताको नाम लिनुपर्दा कस-कसलाई सम्झिनुहुन्छ ?

नेपाल बनाउने राजनेता थुप्रै छन् । बनाउने भनेको सम्पन्न आर्थिक विकास गर्नेलाई मात्र मान्नु हुदैन । नेपाल बनाउनलाई राजा नरेन्द्रदेवले लाहसाको राजासँग सम्पर्क गरेर त्यतिबेला अभिरहरु र भारतीयलाई परास्त गरे । त्यो भन्दा अगाडी अंशुवर्माले भारतको आक्रमणलाई निस्तेज बनाएर नेपाललाई स्वतन्त्र राखे । पहिलो त किराँत राजाहरु छन् । यलम्बरहरुदेखि अरु किराँत राजाहरु छन् जसले पटक-पटक दक्षिणका बादशाहहरुसंग लडेर उनीहरुले देशलाई जोगाए । त्यसपछि अंशुवर्मालाई देख्न सकिन्छ । नरेन्द्रदेव, जयस्थिति मल्ल, राम शाह, पृथ्वीनारायण शाह, अमरसिंह थापा, भक्ति थापा र भीमसेन थापालाई देख्न सकिन्छ । माथवरसिंह थापा, गगनसिंह भण्डारी पनि राष्ट्रवादी महान् व्यक्तिहरु थिए । अरु कुरा बिर्सेर राष्ट्रियताको केहि कुरामा जंग बहादुर राणालाई सम्झन सकिन्छ । २००७ सालदेखि पछि कुरा गर्दा राजा महेन्द्र र डा. के आई सिंहलाई सम्झनैपर्छ । बिपी कोइराला जसले चीनसँग नेपाललाई जोड्ने काम गरे । गणेशमान सिंह, मनमोहन अधिकारी र मदन भण्डारीको नाम लिन सकिन्छ भने त्यसपछि अहिलेसम्म हेर्दा त्यस्तो राजनेता देखिई सकेको छैन ।

७. देश नबन्नुमा चीन र भारतलाई छोडेर अन्य युरोपियन, पश्चिमाहरुको कत्तिको भूमिका छ ?

यसलाई वेस्टन ब्लक भनौं वेस्टन ब्लक भनेपछि तीनवटा कुराहरु आउँछ । एउटा कुरा वेस्टन सिभिलाईजेसन भर्सेस इस्टन सिभिलाईजेसन, वेस्टन एकोनमी भर्सेस इस्टन एकोनमी, वेस्टन डीके एण्ड इस्टन राइज । वेस्टन सिभिलाईजेसनले इस्टन सिभिलाईजेसनलाई सिबिलाईजेसन नै मान्दैन । इस्टन सिबिलाईजेसनलाई उनीहरुले ट्राडिशन मान्छन् भने आफूलाई मात्र आधुनिक मान्छन त्यसैले उनीहरुले अरु धर्मलाई धर्म मान्दैनन् । क्रिश्चियनिटीलाई मात्र धर्म मान्छन् अनि उनीहरु एसिया विकास भयो भने आफ्नो एकोनमीलाई अफ्ठ्यारो हुने हुनाले एसियाका देशहरुलाई एक ठाउँमा आउन दिनु हुदैन र एसियाको एकोनमीलाई एकत्रित हुन् दिनुहुदैन भन्ने यो उनीहरुको भित्री क्लासिकल स्ट्राटेजी हो । चीन र भारत भन्ने कुरो होइन पूरै एसियाकै विकासको ढाँचामा अबरोध पुर्याउने उनीहरुको नीति हो किनभने एसिया संसारको एकोनमी हब भयो भने वेस्टन एकोनमी तल जान्छ भन्ने छ किनभने हिजो उनीहरुले उपनिवेश बनाउनु भन्दा अगाडि एसियाको एकोनमी युरोप भन्दा धेरै थियो । सन् १८३० मा एक्लै भारतको परक्यापिटा १३ प्रतिशत थियो जीडीपी जबकी युरोपको ३ प्रतिशत थियो त्यसैले गर्दाखेरी यो एउटा एकोनमी कन्सफ्रन्टेसन हो । अर्को कुरा उनीहरु आफुलाई आधुनिक देख्छन् एसियालाई परम्परावादी शक्ति देख्छन् तर भईरहेको के छ भने चीनले ३० वर्षमा ५०० मिलियन मानिसहरुलाई गरिवीवाट उठायो भारतले अहिले झरेर १८ प्रतिशतमा पुर्यायो तर अमेरिकामा १ प्रतिशत जनसंख्याले पुरै ९९ प्रतिशत सम्पति हातमा लिएको छ र ४० मिलियम जनसंख्या केहि वर्षमा गरीव बन्दैछ ।  युरोप दिन प्रतिदिन गरीव भई रहेको छ भने सम्पति सबै एक प्रतिशतको हातमा आई रहेको छ भने एसियामा त्यो खालको आर्थिक उतारचढाव छैन त्यसकारण एसिया माथि गई रहेको छ । यदि पश्चिमाले आर्थिक रुपमा एशियालाई तल पार्न सकिएन भने सैनिक रुपमा एशियालाई पछाडि धकेल्नुपर्छ भन्ने उनीहरुको मान्यता अन्तर्गत नै साउथ चाइना सिकोको प्रोबलम र इन्डियन ओसनको प्रोबलम यी सारा कुराहरु छन् । त्यसकारण यी तीनवटा कुराहरु भनौ न एउटा मिलिटेरी कन्ट्रेस्ट एसिया र युरोप तथा अमेरिकाको । अर्को एकोनमिक कन्सफ्रन्टेसन एसियाले भनी रहेको छ की सबै मिलेर जाउँ सबै धनी हौ शेयरको कुरा गरी रहेको छ भने अमेरिका अमेरिका फस्ट कुरा गर्दैछ अर्को कुरा सिभिलाईजेसन हो त्यसकारण एसियामा क्रिश्चियनिटी जुन प्रचार र कन्भर्सन छ देखिरहनु नै भएको छ नी यति धेरै ठुलो सम्मेलन काठमाडौंमा भई रहेको छ ।

८. देश नबन्नुमा चीन र भारतको कत्तिको भूमिका रहेको छ ?

तपाई हाम्रो राजनीति विचारवाट नै संचालन भएको छैन । समाज पूर्ण रुपमा अराजकता छ । यस्तो अराजकता स्थितिमा न चीनले केहि गर्न सक्छ न भारतले । १९५१ देखि २०१८ सम्म पश्चिमवाट ७०० विलियम सहयोग नेपालमा आयो । सत्तरी खर्व रुपैयाँ खोई त कहाँ गयो ? न विद्यालय बन्यो ? न राजमार्ग बन्यो ? यी सबै कुरा सामाजिक विकास भनेर कहाँ गयो ? शिक्षामा गयो शिक्षा बर्वाद भयो । पहिचानको मुद्धा भनेर बाहुन, क्षेत्री, राई, लिम्बु भनेर बाँडियो । अहिले संघियतामा गएको छ आईपुग्यो भनेपछि यति धेरै रकम सामाजिक क्षेत्रमा गएको छ । मानव अधिकार र पहिचानको अधिकार भन्दाभन्दै नेपाल पुरै भाँडिएको छ । यो देशमा कसैले केहि बनाई दिएको छ भने त त्यहि भारत, त्यहि चीन र जापानले केहि बाटाहरु बनाइदिएका छन् जतिसुकै गाली  गरेपनि पूर्वपश्चिम राजमार्ग भारतले बनाइएको हो उसले त नेपालमा खेल्दाखेल्दै बाटो बनाई दिएको छ । चीनले बनाई दिएकोले पोखरा पुग्छौं भने त्यही जापानले बनाई दिएको बाटोले गर्दा हामी बर्दिवास पुग्छौं । खोई त पश्चिमाले विकास निर्माणको काममा सहयोग गरेको ? पश्चिमीले गरेको सवै सहयोग सबै सामाजिक विकास, मानव अधिकार, प्रजातन्त्र  र राजनीतिक प्रशिक्षणमा गएको छ । यदि यो साँचो थियो भने १९९२ देखि हाम्रो राजनीति र हाम्रो प्रजातन्त्र दह्रो हुनुपर्ने यस्तो खतम किन भयो त । हामी उनीहरुको एजेन्डामा काम गरिरहेका छौ । हामी अहिले पनि उनीहरु कै एजेन्डाहरु प्रजातन्त्र, मानव अधिकार, निजीकरणमा काम गरिरहँदा देश किन बर्वाद भइरहेको छ यो जवाफ दिनुपर्दैन उनीहरुले ? उनीहरुको एजेन्डाले भारतको नर्थईष्टमा सबै मान्छेहरु क्रिश्चियन भएर जातियताको आधारमा राज्य बन्यो भने यो ठाउँ स्वर्ग हुन्छ भनेको होइन त्यहि कारणले नागाहरुलाई क्रिश्चियन बनाए नागालयन बन्यो, मणिपुरहरुलाई क्रिश्चियन बनाए मणिपुर बन्यो र आसासम्म आउँदा भनेपछि जातीयता र धर्मको परिवर्तनले समाजको आर्थिक विकास हुँदोरहेनछ भन्ने बुझियो। १९५१ देखि २०१८ सम्म आउँदा पश्चिमाहरुको सहयोग प्रणाली र उनीहरुका एजेन्डाहरु असफल भए त्यसकारण नेपालको केहि न केहि विकास त चीन र भारतले नै गरिदिएका छन् ।

९.  कुनै पनि देश विकास हुन आधारभूत रुपमा के के चाहिन्छ ?

कुनै पनि देश विकास हुन् आधारभूत रुपमा ४ वटा कुराहरु चाहिन्छ । पहिलो कुरा नागरिकहरु सिर्जनशील हुनुपर्छ, दोस्रो कुरा नागरिकहरुले उत्पादन बढाउनुपर्छ, तेस्रो कुरा नागरिकहरुमा कुनै कामको निरन्तरता हुनुपर्छ भने चौथो कुरा नागरिकहरुमा प्रविधि र ज्ञानको विकास हुनुपर्छ ।

१०. नेपाल बनाउनलाई किन नेपालका नेताहरुले चाहेनन् ?

नेपाल नबनाउनमा नेताहरुको मात्र दोष देख्छौ तर विचार गर्नुपर्ने कुरा के हो भने राजनीतिक नेतृत्वलाई सल्लाह दिने बौद्धिकहरुको पनि ठुलो दोष छ । किन यत्रो मेहनत गर्दा पनि बिरामी निको भएन मात्र भनेर बस्यौ तर धामी ठिक थियो वा थिएन भन्ने कुरा विश्लेषण गरेनौ । धामीलाई गाली गरेनौ खाली बिरामीलाई मात्र गाली गरेर बस्यौ । नेपालका राजनीतिक नेतृत्वलाई सल्लाह दिने बौद्धिकहरु योग्य भएनन् । नेपालका राजनीतिक नेतृत्वले विकास गर्न नसक्नुका तीनवटा कारणहरु छन् । पहिलो कुरा त अल्प ज्ञान भएका बौद्धिकले पार्टीलाई घेर्यो र तिनै व्यक्तिहरु सत्तामा गए विशेषज्ञहरुले काम गर्न पाएनन् । अर्को बेईमान बुद्धिजीवीहरुले पदका लागि पार्टीलाई समाते देशका लागि काम गरेनन् उनीहरुले व्यक्तिगत स्वार्थको लागि मात्र काम गरे । तेस्रो थुप्रै इमान्दार बुद्धिजीवीहरु जो देशका लागि काम गर्न चाहन्थे तर उनीहरुको शिक्षा वेस्टर्न प्रोडक्ट भएकोले हरेक कुराको विकास युरोपको जस्तो मात्र कुरा गर्यो । न्याय र शिक्षाको कुरा गर्यो बेलायतको जस्तो, उद्योगको कुरा गर्यो फ्रान्सको जस्तो भन्छ । वेस्टर्नको कुरा ल्याउने बाहेक हामीले ल्याउने मौलिक प्रणालीभित्र विकास गर्ने बौद्धिकहरु पाएनौं । त्यसकारण नेपालका राजनीतिज्ञहरुको असफलता भनेको अल्पज्ञान भएका नेपालका बेईमान वेस्टर्न प्रोडक्ट बौद्धिकहरु हुन् र ती नेताहरुले पनि त्यहि सिकेका हुन् । त्यसैले यदि नेताले सिक्ने हो भने नँया विचार, बुद्धिजीवी र शिक्षाको कुरा गर्नुस् । त्यसैले गर्दा उत्पादन र राष्ट्रियतालाई नजोडीकन अब देश बन्न सक्दैन ।

११. नेपाललाई कस-कसले बनाउन दिएनन् जस्तो लाग्छ ?

नेतृत्व गलत बुद्धिजीवीहरुको बहकाउमा लाग्यो । अनि नेतृत्व आफ्नो सत्ताको लागि विदेशीहरुको सहयोग खोज्न थाल्यो । त्यो नेतृत्वलाई राम्रो पार्नु भन्दा बुद्धिजीवीले उसलाई आफ्नो स्वार्थको लागि तपाईले गरेको ठिक छ भनेर भन्यो । बुद्धिजीवी र नेतृत्व दुबैले देशको आवश्यकता अनुसार खोज, अध्ययन र अनुसन्धान गरी नयाँ नीति निर्माण गरी सरकारलाई सल्लाह सुझाव दिने थिंक ट्यांकद्वारा नयाँ सोच र विचार बन्न नै सकेन ।

१२. जापान, चीन, सिंगापुर, मलेसिया, दक्षिण कोरिया लगायत अन्य देशहरु कसरी बने ?

जापान हिजो युद्द पछाडी विकास भयो । जापानिजहरुले के भने भने इतिहासले गल्ती गर्यो । इतिहासमा हाम्रो मान्छेहरुले गल्ती गरे । अब संसारलाई शान्तिको बाटो देखाउँदै हामी विकासको बाटोमा जानुपर्छ भन्ने सोच निर्माण गरे र विकास पनि भयो । अर्थतन्त्र पनि बढ्यो । जापान दुनियाँको लागि अहिले चुनौंति पनि छैन । दक्षिण कोरिया पनि यहि हो । त्यहाँ पनि लामो समयसम्म शोषण भयो । हामी फुट्यौ हाम्रोमा आन्तरिक लडाई भएर देश टुक्रियो । अब हामी जानुपर्छ अगाडि भनेर उनीहरुले नागरिकलाई उत्पादन बढाउन प्रोत्साहन गरे । आधुनिक शिक्षा र प्राविधिक शिक्षाको कुरा गरे । उनीहरु पनि अगाडी गए । चीनले पनि यस्तै भन्यो । यति लामो इतिहासमा सधै सामन्तवाद, राजा, विदेशीहरुको लुटवाट शिकार भयौ अब एउटा खुसीको जीवन बाँच्न पाउनुपर्छ भनेर उनीहरुले मास प्रोडक्शन र समाजवादको कुरा गरे । अनि हरेक नागरिकले उत्पादन गरे र त्यसको बजारको ब्यबस्था राज्यले गर्दियो । राज्यले देशलाई नेटोर्किंग र कार्यगत विकास गर्नुपर्छ भने र गरे । एउटा मानिसलाई विकास गर्दै समृद्ध बनाएर अगाडि लानुपर्छ भने र गरे । यहि कुरा भारतले गर्न सकेन भारत अहिले पनि अन्योलमा छ यहि कुरा हामीले गर्न सकेनौं हामी पनि अन्योलमा छौं । यिनै भारत र चीनलाई अलग्याउनका लागि अन्य खालका  भाइरसहरु छन् त्यसकारण हाम्रा नेताहरु उनीहरुसँग नजिक पुग्छन् । वुद्धिजीवीहरु यिनीहरुकै पछाडि लगेर कन्सल्टेन्सी भएर नेताहरुलाई गलत सल्लाह दिन्छन् । काँग्रेस काँग्रेस रहेन् अथवा प्रजातान्त्रिक समाजवाद प्रजातान्त्रिक समाजवाद रहेन् । साम्यवाद साम्यवाद रहेन् । त्यसकारण हामीले पुराना विचारहरुलाई नष्ट गरिसक्यौ त्यसैले अव युगको नँया परिवर्तन गर्ने काम यूवाहरुको हो अब यूवाले देशअघि लाने हो बुढाहरुलाई गाली गर्ने होइन ।

१३. नेपाल बनाउन कस-कसले चाही के के सोच बनाएका थिए ?

धेरै मान्छेले दिएका छन् । पृथ्बीनारायणले पनि केहि भने हिजो भीमसेन थापाले फ्रेन्च प्रविधिका बिद्यालयहरु बनाउनुपर्छ भने । देब शमशेरले जापानका जस्ता उद्योगहरु र विद्यालयहरु बनाउनुपर्छ भने । त्यसपछि विपी कोइरालाले समाजवादी ढाँचाको विकास गर्नुपर्छ तर यो सुकिला लुगाहरुले समाजवादी हुन नदिने भने । त्यसपछि मनमोहन अधिकारीले वैज्ञानिक समाजवादको नाममा त्यस्तो समाजवादी क्रान्ति होइन हामीले समाजसँग अन्तरघुलित  प्रतिस्पर्धावाटै हामी अघि जानुपर्छ भने । मदन भण्डारीले जनताको बहुदलीय जनवादको सोच ल्याए । राजा महेन्द्रले पनि माटोसंग मिल्ने विकास गर्नुपर्छ भनेर त्यस्तै खालका उद्योगहरु आए । राजा बिरेन्द्रले पनि एसियाली मापदण्ड हो भनेर भने । थुप्रै वुद्धिजीवीहरुले सोचहरु ल्याए तर ती सोचहरुको बारेमा अध्ययन गर्नुपर्थ्यो वुद्धिजीवीहरुले तिनीहरुलाई सश्लेषण गरेर बाटो बनाउनुपर्थ्यो तर त्यो गरिएन ।

१४. यो दुई तिहाइ कम्युनिष्टहरुको सरकारले विकास गर्ने कत्तिको संकेत देख्नुहुन्छ ?

यो सरकारले गतिला बुद्धिजीवीहरु, राम्रा इन्नोभेटर, योजनाविद्हरु र राम्रा प्राविधिकहरुसंग छलफल गरेर देश विकासको दिर्घकालिन सोच बनायो भने देश बन्न सक्छ । यो पार्टीको उ पार्टीको नभनी राष्ट्रका राम्रा वौद्धिक व्यक्तिहरुलाई काम दिनुपर्छ । अनि उत्पादनको कुरा गर्यो भने अगाडि जान्छ । यति चिज काम गर्न सकिएन भने वादले केवल जिउन सकिदैन । मानिस त कामले बाँच्छ ।

१५. नेपाल बनाउनलाई के गर्नुहुँदैन जस्तो लाग्छ ?

कोहि पनि व्यक्तिले आफ्नो राष्ट्रको विरुद्धमा बोल्नुहुँदैन । राष्ट्रघाती काम गर्न हुँदैन । राष्ट्रको अपमान गर्नुहुँदैन । पहिला असल स्वावलम्बी नागरिक बन्नुस् अनि देश विकास हुन्छ । अहिले नेपालमा थुप्रै विदेशीको पछाडी नागरिक नबन्ने क्रममा दौड़ीएका छन् त्यसकारण यो कुरा रोक्नुपर्छ । जब मान्छेहरु राष्ट्रघाती हुन्छन् तब देश बर्वाद हुन्छ ।

१६. देश बनाउनलाई के के गर्नुपर्छ ?

देश बनाउनलाई हामी सवै नेपाली श्रमिक बन्नुपर्छ । बाहिरको कुरा किनेर खान छोड्नुपर्छ । आफ्नै घरमा उत्पादन गर्नुपर्छ । हाम्रो सबैको थोरैथोरै पूजीहरु निकालेर स-सानो उद्योग संचालन गर्नुपर्छ । उद्यमशिलाता विकास गर्नुपर्छ।

१७. अन्त्यमा नेपालपत्र मार्फत पाठकहरुलाई के सन्देश दिन चाहनुहुन्छ ?

निराश नबन्नुस नकरात्मक सोच राखेर सोच्न बन्द गर्नुस् । कसैलाई गाली गर्न वन्द गर्नुस् । आफ्नो कोठा, घर सफा राख्नुस् र सफा गरेर खाना खानुस् । आफुसंग भएको दुई सय रुपैयाँ उत्पादनमा लगाउनुस् । चारजना साथी बनाउनुस् । यसले गर्दा म विदेश जान पाएन भन्ने कुरा बन्द गर्नुस् । उत्पादन नहुनुको कारण राष्ट्रियताप्रतिको गलत सोचले पनि हो । राष्ट्र रहेन भने हाम्रो परिचय रहदैन ।

यो पनि पढ्नुहोस्

नेपाल नबन्नुमा यहाँका शासकहरु र राजनीतिक नेतृत्वहरु दोषी – डा. केसी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !