४ बैशाख २०८१, मंगलबार

नेपाल नबन्नुमा यहाँका शासकहरु र राजनीतिक नेतृत्वहरु दोषी – डा. केसी


प्रा. डा. सुरेन्द्र केसी

ताप्लेजुङमा जन्मिएका प्रा. डा. सुरेन्द्र केसी ३ दशकभन्दा बढी त्रिभुवन विश्वविद्यालय इतिहास बिभागमा प्राध्यापन पेशामा आवद्ध हुनुभयो । २०५२ सालमा ‘नेपाली कम्युनिजम’ विषयमा विद्यावारिधि गरेका केसीले ५० भन्दा बढी पुस्तक लेखन तथा सम्पादन, ६०० भन्दा बढी लेख रचना प्रकाशित गरिसकेका छन् । अमेरिकन लाइब्रेरीबाट पब्लिक स्पिकिङमा ग्राजुएट गरेका डा. केसी खरो विचारका लागि प्रख्यात छन् । नेपाली राजनीति तथा अन्य जुनसुकै समसामयिक विषयमा खरो टिप्पणी गर्ने केसी राजनीतिक विश्लेषक, चिन्तक तथा बौद्धिक व्यक्तित्व हुनुहुन्छ । 

नेपालमा माओवादी दन्द्व शुरु भएदेखि दुईतिहाई बहुमतप्राप्त स्थिर सरकार बन्न नसकेकोले राजनीतिक अस्थिरता भई  देश विकास हुन् सकेन भन्ने ठहर धेरै राजनीतिक पार्टीको थियो । नेपाली राजनीतिमा विद्यमान बिकृति र विसंगतिको खरो टिप्पणी गर्ने राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसी दुईतिहाइ बहुमतको कम्युनिष्ट सरकारले पनि जनअपेक्षा अनुसार पटक्कै काम गर्न नसकी हात्ती आयो हात्ती आयो फुस्सा भनेझै नेपाली जनतालाई भएको पनि बताउनुहुन्छ । नेपालका ५० वटा जिल्लाहरु र संसारका १५ वटा भन्दा बढी देशहरु घुमिसकेका अनुभवी प्राध्यापक केसीसँग नेपाल किन बन्न सकेन भन्ने गहन विषयमा केन्द्रित रहेर नेपालपत्रका प्रधान-सम्पादक गोपाल भण्डारीले गरेको कुराकानी ।

१. म कुरा शुरु गर्छु यहि Topic वाट छोटोमा भन्नुपर्दा नेपाल किन बन्न सकेन ?

नेपाल नबन्नुमा यहाँका शासकहरु र राजनीतिक नेतृत्वहरुसँग भिजन, मिसन, कमिटमेन्ट र अनेस्ट्री जस्ता कुराहरुको अभावले गर्दा नै नेपालले विकासको वाटो लिन नसकेको हो भन्ने मेरो निष्कर्ष छ ।

२. पृथ्वीनारायण शाहको पालादेखि २००७ सालसम्म कुरा गर्दा नेपाल नबन्नमा कस-कसको दोष वढी छ ?

यसमा मूल नेतृत्व नै बढी जवाफदेहिता हुनुपर्छ किनभने झन्डै १०/१२ पुस्तासम्म राजाहरुले शासन गरे । राजाहरुले शासन गर्दा पृथ्वीनारायण शाहको पालामा भिजन, मिसन सहित प्रतिवद्धताको नेपाल निर्माणको योजना थालिएको हो । त्यसपछि उनका जुन उत्तराधिकारीहरु भए ती  उत्तराधिकारीहरु महेन्द्र अपवाद मान्ने हो भने सबै बेइमान र गैरजिम्मेवारी चरित्रका देखिए । स्त्रीलम्पट, भ्रष्ट र अराष्ट्रिय चिन्तन र सोच भएकाले उनीहरुले हाम्रो देशलाई आजको समयसम्म ल्याई पुर्याए। त्यसपछि २००७ सालमा प्रजातन्त्रको उदय भयो । यो समयसम्म हेर्दा यो बेलासम्मका सवै शाहबंशीय राजाहरुको दोष रहेको छ ।

३. नेपाल बनाउनेमा शाह वंशीय राजाहरुमा पृथ्वीनारायण शाह र महेन्द्रको नाम लिनुभयो त्यसमा राजा नभएपनि बहादुर शाहको योगदानलाई कसरी लिनुहुन्छ ?

राष्ट्र निर्माणमा उनको योगदान भयो तर दरवारिया सङ्घर्षलाई कसरी व्यवस्थापन गर्ने भन्नेमा उनको पनि दुरदर्शिता रहेन किनभने पहिलो दरबारिया कलहको मारमा परेका सर्वजित राना थिए र सर्वजित रानाको हत्या गर्ने स्वयं बहादुर शाह थिए । त्यसपछि दरबारभित्र हत्याको श्रीखला प्रवेश भयो । हत्याको श्रीखला प्रवेश यति विस्तारित भयो की स्वयं बहादुर शाह अर्को शिकार भए र बिरेन्द्रको बंशबिनाश पनि पछिल्लो घटनाको रुपमा देखापर्यो त्यसकारण बहादुर शाहले राज्य विस्तारमा उचित योगदान गरे । पृथ्वीनारायण शाहको भन्दा ठुलो राज्य आर्जन गर्ने काम उनीवाट भयो । तर पृथ्वीनारायण शाहले दरबारभित्र कुनै पनि किसिमको काटमार गर्नुहुँदैन भनेर जुन उपदेश थियो त्यसलाई लत्याउने पनि पहिलो व्यक्ति बहादुर शाह नै थिए । फलस्वरूप आफै पनि दरबारभित्र परेर मारिए ।

४. जंगबहादुरको उदयपछि राणा शासन सुरु भइसकेपछि मोहन शम्सेरसम्म आउँदा देश नबन्नुमा सबैभन्दा बढी देशलाई बिगार्ने र बनाउने राणा प्रधानमन्त्री को को थिए ?

जंगबहादुरले राजनीतिक निरंकुशता शुरु गरेतापनि कतिपय आर्थिक, सामाजिक सुधारमा, दीर्घकालीन र ऐतिहासिक महत्वका कामहरु पनि गर्दै गए । जस्तैः जंगबहादुरले मुलुकी ऐन ल्याए, निरंकुश शासन शुरु गरेतापनि एउटा शुशाशन अवलम्बन गरे त्यसपछि योगदान गर्नेमा वीर शम्शेर आए । उनले वीर अस्पताल दिए, बिर पुस्तकालय दिए । यी पनि उनको ठोस योगदान थिए । काठमाडौं उपत्यकाभित्र पिउने पानीको व्यवस्थापन गरे त्यसपछि देव शम्सेरले एउटा उदारवादी अभ्यास गर्न खोजेतापनि उनलाई निष्काशन गरियो त्यसपछि चन्द्र शम्सेर आए । उनले पनि युगान्तकारी काम गरे । त्रिचन्द्र क्याम्पस खोले, दास प्रथा उन्मुलन, सतीप्रथा उन्मुलन गरे । त्यसपछि जुद्द शम्सेर आए । उनले नेपाल बैंक ल्याए औद्योगिक अध्यायको सुत्रपात गर्ने पनि उनी नै थिए । पद्म शम्सेरले २००७ सालमा संबिधान जारी गर्ने प्रयास गरे । त्यसपछिका राणा प्रधानमन्त्रीहरुको योगदान छैन ।

५. सबैभन्दा बढी देशलाई बिगार्ने राणा प्रधानमन्त्री को को थिए ?

अब सापेक्षतामा मूल्यांकन गर्ने हो भने मोहन शम्सेरले १९५० को सन्धिमा हस्ताक्षर जसको घाडो अहिलेपनि छदैछ । पद्म शमसेरको पालामा गोर्खा भर्तीलाई लिएर अंग्रेजसँग त्रिपक्ष सम्झौता भयो । त्यसले पनि त्यति विवाद त ल्याएको छैन । तर त्यो पनि ४७ को सन्धि पनि गोर्खा भर्तीमा विवादित नै छ । अरु राणा प्रधानमन्त्रीको समयको सापेक्षतामा अघि मैले उल्लेख गरे । त्यो खालको योगदान छ । मुख्य विवादित र आलोचित अन्तिम राणा प्रधानमन्त्रीको रुपमा मोहन शम्सेर नै थिए ।

६. राणा शासनपछि २०४६ सम्मको कुरा गर्दा देशलाई सबैभन्दा बढी बिगार्ने र बनाउने कुन कुन राजा र प्रधानमन्त्री थिए ?

बिडम्वना भन्नुपर्छ राजा महेन्द्र र वीपी कोइराला दुवैजना दुरदर्शी भएतापनि उनीहरु वीच भएको शीतयुद्धले गर्दा देशमा अपेक्षा गरे अनुसारको विकास हुन् सकेन। अब बिपी कोइरालासँग एउटा भिजन थियो । उनीसँग मिसन पनि थियो । तर उनले त्यो मिसनलाई कार्यन्वयन गर्न पाएनन् । त्यसपछि बिपी कोइराला इतिहासमा सुरक्षित नै रहे । पंचायात शुरु भएपछि राजाले निर्णायक भूमिका खेल्थे भने प्रधानमन्त्रीहरु राजाले अह्राएको काम गर्ने पंचायतका प्रधानमन्त्रीहरु खाली कामदार, अरौटे भरौटे जस्ता मात्र थिए । प्रधानमन्त्रीको रुपमा स्थान दिनु बेकार थियो किनकी प्रधानमन्त्री हुनुको कनै अर्थ नै थिएन । तर राजनीतिक रुपमा पंचायतकालमा यसको जस अरुलाई नगई सवै राजालाई मात्र जान्छ । देश बनाउन महेन्द्र राजाले ठुलो योगदान गरेका थिए ।

७. २०४६ सालमा बहुदल आएपछि अहिलेसम्म कुरा गर्दा सबैभन्दा बढी देश बिगार्ने पार्टी र प्रधानमन्त्री को को हुन् जस्तो लाग्छ ?

अब अरुले नेपाली काँग्रेस र गिरिजाप्रसाद कोइरालालाई दोष लगाउँछन् । तर म सबैभन्दा कम्जोर कम्युनिष्ट पार्टीहरुको देखिन्छ किनभने उनीहरुमाथि जनताको ठुलो अपेक्षता पनि हो उनीहरु राष्ट्रियता र तल्लो बर्गका लागि प्रतिबद्ध राजनीतिक नेतृत्व पनि हुन् । दुर्भाग्य उनीहरुवाट नै त्यो वाटो नलिएपछि अनि कसले समृद्धि र शु:शासन दिन्छ त्यो कोणवाट मेरो नजरमा सबैभन्दा आलोचित कम्युनिष्ट नेतृत्व नै छ । तर राजनीतिक समीक्षकहरु नेपाली काँग्रेस र गिरिजाप्रसाद कोइरालाको रहेको भन्छन् । ठोस रुपमा त हाम्रो यो नेतृत्वले देश र जनताको लागि यो नै गरेको छ भन्ने केहि छैन ।

८. समग्रमा भन्दा पृथ्वीनारायण शाहदेखि अहिलेसम्म देश बनाउने एउटा पनि राजनेता जन्मिएको छ कि छैन जस्तो लाग्छ तपाईलाई ?

अहिलेसम्म देश बनाउने राजनेता नै जन्मिएको छैन ।

९. पृथ्वीनारायण शाहदेखि अहिलेसम्म देश बनाउन योगदान गरेका शाशकहरु र नेताहरुको नाम लिदाँ कसकसको नाम लिनुहुन्छ ?

पृथ्वीनारायण शाहले नेपाल राज्यको जग बसाले । त्यो जगलाई ठोस बनाउनमा योगदान गर्ने राजा भनेको महेन्द्र नै हुन् । अरुको सहायक भूमिका मात्रै रहेको छ । निर्णायक भूमिका कसैको पनि छैन । भीमसेन थापाले बिदेशी थिचोमिचोको रुपमा जुन नेतृत्वदायी संघर्ष गरे त्यसको लागि उनको नाम लिनुपर्ने हुन्छ । तर एकतिहाइ भू-भाग पनि उनकै पालामा गुमेको हो । त्यसैले गर्दा उनी आलोचित पनि छन् । त्यसपछि काटमारको कुरामा पनि भीमसेन थापा चुकेका छन् । जंगबहादुरले ३० जनालाई काटेर राणा शासन स्थापना गरेका थिए भने भीमसेन थापाले ९० जनालाई काटेर ३० वर्षको शासन गरे ।

१०. देश नबन्नुमा नेपाली जनताको कतिको दोष  छ ?

देश नबन्नुमा जनताको दोष केहि पनि छैन । जनता भनेको सरकारले भनेको काम गर्ने हो । बिचरा हामी नेपाली जनता भनेको नेताले उक्साएर जनआन्दोलन र जनयुद्धमा गएर शहिद हुने मात्र हो । त्यो काम त गरेकै छ । त्यसैले नेपाली जनताको कुनै पनि दोष छैन । दोष त शाशक र नेतृत्व गर्ने  नेताको छ ।

११. नेपाल नबन्नुमा विदेशी हस्तक्षेपको दोष कतिको देख्नुहुन्छ ?

हस्तक्षेपको भूमिका त छ । तर प्रथम उनीहरुको केहि भूमिका मात्र छ । प्रथम भूमिका हाम्रै शाशक र नेतृत्व गर्ने नेताको छ । विदेशीहरुलाई ठाउँमा राख्ने जस्तैः भीमसेन थापाले नै विदेशीहरुलाई राजनीतिमा हस्तक्षेप गर्न नदिने भन्ने नीति ल्याएका थिए । विदेशीहरुले प्रयास गरे । त्यसपछि जंगबहादुरको कालमा पनि हस्तक्षेप भएतापनि उनले नियन्त्रणमा राखेका थिए । बिस्तारै विदेशीहरुको हस्तक्षेप हाम्रो आन्तरिक राजनीतिमा पनि हुन थाल्यो । यसको दोष विदेशीलाई जादैन आन्तरिक कारणले गर्दा नै बाह्य हस्तक्षेप बढेको हो ।

१२. नेपाल नबन्नुमा दुई छिमेकी देशहरु चीन र भारतको कत्तिको दोष रहेको छ ?

अब चीनको त दोष खासै देखिदैन किनभने असल छिमेकीको रुपमा चीन छ । उसको स्वार्थ के छ भने तिव्वत विरोधी गतिविधिको अखडा नेपाल हुनुहुदैन भन्ने बाहेक चीनको कुनै स्वार्थ छैन । त्यो स्वार्थमा उसले जुनसुकै कदम चाल्छ जस्तो लाग्छ । भारतले नेपाललाई आफ्नो प्रभाव क्षेत्रको रुपमा लिने र राख्न चाहन्छ । जस्तैः अहिले इपिजीको प्रतिवेदन खुलमखुल्ला लिन्न भन्यो । भारतले नेपाललाई आफ्नो प्रभावमा राख्न चाहेको हो । त्यस्तै पर्यो भने बृहत भारतको परिकल्पनालाई पनि नेपालमा लाद्ने स्वार्थ भारतको छ ।

१३. अब नेपाल नबन्नुमा पश्चिमा देशहरुको कत्तिको दोष रहेको छ ? 

पश्चिमा देशको स्वार्थ भनेको अप्रत्यक्ष रुपमा नेपाललाई एउटा अस्थिर खेलमैदान बनाएर भविष्यको विश्व राजनीतिकका उदाउदा शक्तिहरु चीन र भारत माथि हो । यो सबैलाई थाहा छदैछ । अहिले व्यापारिक युद्धपनि चलिरहेको छ ।

१४. नेपाल बनाउनको लागि यहाँको प्राकृतिक स्रोत र साधनको समुचित परिचालन हुन नसक्नुको कारण के हो ?

एउटा दुरदृष्टि भएको नेतृत्व नहुनु नै कारण हो । सम्पूर्ण प्राकृतिक स्रोत साधनहरुलाई प्रयोग गरेर देशलाई समृद्धितिर लाने भन्ने सोच नभएको राजनीतिक नेतृत्व नभएर नै हो ।

१५. त्यसो भए नेपाललाई बनाउन राजनीतिक नेतृत्वहरुले किन चाहेनन् ?

नेपाललाई बनाउन राजनीतिक नेतृत्वहरुले किन चाहेनन् किनभने उनीहरुले राजनीतिकलाई आफ्नो व्यवस्थापन गर्ने माध्यम बनाएका छन् । राजनीतिक भनेको समाज बदल्ने हो । शुशासन, समृद्धि, जनतालाई शुशासन दिने भनेको राजनीतिक नेतृत्वले नै हो । राजनीतिक भनेको जसरी पनि सत्तामा जाने अनि आफ्नो छोरा बुहारीहरुलाई व्यवस्थापन गर्ने हो भन्ने जुनदिन बुझे यसको कारण यहि हो ।

१६. नेपाललाई ककसले बनाउन दिएनन् ?

अब बाहिरी रुपमा छिमेकिहरु कै कुरा आयो अर्काले बनाउन दिएनन् भनेर रोदनको अर्थ हुँदैन । हाम्रो देशको मूल नेतृत्व नै जवाफदेही भएन । त्यो जवाफदेहिताको अभाव नै हाम्रो विकास नहुनुको मूलभुत कारण हो ।

१७. नेपालमा बहुदलीय व्यवस्था आएपछि राजनीतिक अस्थिरताको कारणले नै देश नबनेको हो त ?

मलाई सत्य जस्तो लाग्दैन अहिले दुईतिहाइ बहुमतको सरकारले खोई त देश बनाउन देखाएको सोचको संकेत । त्यसकारणले यो दुईतिहाइ भन्ने एउटा अंकको कुरा मात्र हो । राजनीतिक अस्थिरताको वीचवाट पनि देशले विकास गरिरहेका छन् । इटाली, इजरायल लगायत अन्य देशहरु छन् । त्यसकारणले गर्दा यो नमच्चिने  पिंगको सय झड्का भने जस्तो नेताहरुले बाहाना मात्र गरेका हुन् ।

१८. कुनै देश बन्नु र नबन्नुमा त्यहाँको राजनीति, भूगोल, इतिहास, हावापानी र सस्कृतिको भूमिका कतिको हुन्छ ?

रहन्छ तर त्यसलाई प्रयोग गर्न सक्नुपर्छ । जस्तैः हाम्रो नेपालको ८१ % भुमि कृषियोग्य छ । इजरायल ३ % मात्र कृषियोग्य छ । तर हामी अन्न आयात गरेर खान्छौं । इजरायलले अन्न निर्यात गर्छ । त्यसकारण हावापानी, माटो एउटा फ्याक्टर हो । जापानमा कच्चा पदार्थहरु बाहिरवाट ल्याउछन् । तर विकास निर्माण रोकिएको छैन । हाम्रोमा अधिकांस कच्चा पदार्थहरु प्राप्त छ । तर विकास निर्माण गर्न सकेको छैन । त्यसकारण मानवीय शक्ति र नेतृत्व नै मूल कुरा हुन् अरु सहायक मात्र  हुन् ।

१९. जापान, चीन, सिंगापुर, मलेशिया, दक्षिण कोरिया कसरी बने त ?

जापान, चीन, सिंगापुर, मलेशिया, दक्षिण कोरियामा त्यहाँका शासकहरु र राजनीतिक नेतृत्वहरुसँग भिजन, मिसन, कमिटमेन्ट र अनेस्ट्री जस्ता कुराहरुको भएकोले गर्दा नै ती देशहरु बने ।

२०. अहिलेसम्म नेपाल बनाउने राजनेता नजन्मिनुको कारण के देख्नुहुन्छ ?

यो त हाम्रो नियति र दुर्भाग्य  हो । अब नेता आयात गर्न सकिदैन । यहि माटोले जन्माउनुपर्छ । हामीले पाएनौं त्यो नै कारण हो ।

२१. नेपालमा प्राकृतिक स्रोत साधनमा एकदमै धनी तैपनि हामी गरिव किन ?

राजनीतिक नै सबै व्यवस्थापनको मुख्य कडी हो । जबसम्म नेताहरुले सहि बाटो लिदैनन् । तबसम्म विकास हुदैन ।

२२. नेपाल नबन्नुमा यहाँ जस्ता प्राध्यापक, प्राज्ञ, बौद्धिक व्यक्तिहरुको दोष कति देख्नुहुन्छ ?

अब सानो अंशमा हाम्रो पनि दोष देखिन्छ किनभने हामीले गुण दोषको आधारमा विषयवस्तु उठान गरी पद र प्रतिष्ठानको पछि लागेका छौं । त्यो हिसाबले हाम्रो कमजोरी छ । तर हामी निर्णायक हैनौं । हामीलाई हाम्रो नेतृत्वले आफ्नो ठाउँमा बसेर देश र जनताको सेवा गर्नु उनीहरुको दायित्व हुन्छ ।

२३. नेपाललाई यसरी बनाउनुपर्छ भनेर खोज तथा अनुसन्धान किन नभएको हो ?

बौद्धिक व्यक्तित्वलाई प्रेरित गर्ने काम सरकारको हो । त तपाईहरु देश बनाउने भिजन ल्याउनुहोस् भनेर आव्हान गर्नुपर्यो, सम्मेलन गर्नुपर्यो। देश विदेशमा भएका सवै बौद्धिक व्यक्तित्वहरुसँग सोचको विषयमा छलफल गर्नुपर्यो । राम्रो काम गर्यो भने के हुन्छ ? नराम्रो काम गर्यो भने के हुदैन ? भने जस्तै बौद्धिकहरुले विश्व रुपमा हेर्दा नोबेल पुरस्कार पाउँछ । ती दिने विधि र हाम्रो नेपालमा नेपाल तारा दिने विधिमा कति फरक छ । हाम्रो देशमा राम्रो काम गर्दा कसरी पुरस्कृत हुने र नराम्रो काम गर्दा कसरी दण्डित हुने भन्ने कुरामा फरक छ जबसम्म त्यो फरक हुँदैन ।

२४. नेपाल बनाउनलाई कस-कसले चाहिँ के के सोच बनाएका थिए ?

राजनीतिक रुपमा योजना दिन खोजेको विपी कोइराला देखिन्छ । त्यसपछि पुष्पलालमा पनि एउटा योजना भएको भन्ने देखिन्छ । एउटा विज्ञको रुपमा बाबुराममा पनि देखिन्छ । निर्णायक रुपमा प्रचण्डको नै देखिन्छ । उनले गणतन्त्रको परिचालन गरे जात-जातिलाई जागृत बनाएर उनीहरुलाई शशक्तिकरण गराउनुपर्छ भन्ने परिकल्पना गरे जनसेना, जनयुद्धको परिकल्पना गरे ।

२५. मदन भण्डारी भएको भए देश कहाँ पुगिसक्थ्यो भन्ने एक खालको भनाई अझपनि धेरै नेपालीमा रहेको छ त्यसलाई कसरी हेर्नुहुन्छ ?

त्यो भ्रम मात्र हो । त्यसको दोस्रो सस्करण विद्यादेवी भण्डारी हुन् । वास्तवमा मदन भण्डारीको कुरा भ्रम नै हो किनभने उनी सबैभन्दा चाडै गई हालेको हुनाले दोष लगाउने भएन । तर सिद्दान्त र व्यवहारको एउटा सिक्काको  दुईवटा पाटो भन्ने कुरालाई मान्ने हो भने बहुदलीय जनवाद मात्र राम्रो बहुदलीय जनवादले ल्याएको बिकृति विसंगति हाम्रो भन्ने हो भने बेग्लै कुरा हो । होइन भने मदन भण्डारीमा त्यति धेरै महानता देख्नु ठुलो भ्रम हो ।

२६. नेपाल बनाउन कस-कसले चाहिँ प्रयास गरेका थिए ?

अब यसमा पृथ्वीनारायण शाह, बहादुर शाह, महेन्द्र, बिपी कोइराला, सिपि मैनालीहरु हुन् । सिपि मैनाली नेपालमा पहिलो जनसेनाको परिकल्पना गर्ने व्यक्ति हुन् । उनले त्यसमा काम गर्न सकेनन् किनभने जनसेनाको परिकल्पनालाई अस्विकार गर्ने प्रवृति त्यहाँभित्र हावी भयो । पार्टी स्वतन्त्रता पक्षधरले जितिसकेपछि सिपि मैनालीको विचार क्रमश: पाखा लगेर गयो । तर उनीसँग थियो त्यसपछि त प्रचण्ड र बाबुरामको कुरा गरि सकेको छ ।

२७. नेपाल बनाउनलाई के चाहिँ गर्नुहुँदैन ?

बेईमानी गर्नु भएन । सक्दैन भने सक्दिन भन्नुपर्यो सक्नेहरुलाई अगाडी बढाउनुपर्छ । राजनीतिक नेतृत्वमा चरित्रता, इमान्दारिता, प्रतिवद्धता चाहियो देशलाई मूलमन्त्र मान्नुपर्यो । राजनीतिकलाई पेशा बनाउनु भएन । जे हो त्यो ठाउँमा राजनीतिलाई उभ्याउनुपर्छ किनभने समाज बदल्ने राजनीति नै हो ।

२८. नेपाल बनाउनलाई के चाहिँ गर्नुपर्छ ?

कुनै पनि देश बनाउनको लागि अघि मैले भनेको बाहेक यहि कारण अन्तर्गत नै हामीले सबै कुरालाई व्यवस्था गर्नुपर्दछ । हाम्रो देशलाई कसरी समृद्ध बनाउने, कसरी शु-शासन दिने, कसरी रोजगारको दायरा विस्तार गर्ने, कसरी औद्योगीकरणमा जाने, कसरी जमीनको उवरशीलता  र उत्पादनशीलतालाई कृषिको व्यवसायीकरण मार्फत किसानको उत्पादनहरुलाई कसरी बजार दिने ? अनि कसरी मुलुकलाई आत्मनिर्भर बनाई अहिले भएको व्यापार घाटालाई सुधार गरी कसरी सन्तुलनमा राख्नको लागि विदेशी मुद्रा आर्जन गर्नुपर्छ । विदेशी मुद्राको भण्डार बढाउनको लागि आयातमुखी भन्दा नियातमुखी र सेवामुखी भन्दा उत्पादनमुलकवाट बजार व्यवस्था गर्न सक्नुपर्दछ । नेपाल बनाउनलाई भिजन, मिसन, कमिटमेन्ट र अनेस्ट्री जस्ता सोच भएको दुरदर्शी राजनीतिक नेतृत्वले देश हाक्नुपर्छ ।

२९. अन्यमा नेपालपत्र मार्फत सम्पूर्ण  पाठकहरु  र आम नेपालीहरुलाई के सुझाव दिन चाहनुहुन्छ ?

हाम्रो देशको जीवनयात्राको अन्तिम र संकट घडीमा आएको भन्ने मेरो बुझाई छ । जिम्मेवारी बनौं । पुर्खाले दिएको यो बिरासत थपेर खान सकिएन भने हामी जन्मिनुको कुनै अर्थ रहदैन । जन्मलाई सार्थक बनौं । सबैले आफ्नो जिम्मेवारी र जवाफदेहितालाई मुल्यांकन गरेर बुझौं । यो देश भोलिको पिडीहरुको लागि सुरक्षित हस्तान्तरण गरौं ।

यो पनि पढ्नुहोस्

देशको आर्थिक सम्वृद्धिका लागि सरकारले अनुसन्धान तथा विकासमा बजेट छुट्याउनुपर्छ – प्रा. डा. नन्द बहादुर सिंह


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !