२४ पुस २०८१, बुधबार

इन्डक्सन चूलो कसरी बल्छ ?


इन्डक्सन चूलो यसरी बल्छ

वर्तमानको यस लकडाउनको समयमा इन्डक्सन चूलोको प्रयोगको लागि सरकारबाट नै आव्हान भईरहेको छ तर यसले कसरी काम गर्छ भन्नेबारे सबैलाई जानकारी नहुन सक्छ । हामी सत् (नित्य/अबिनाशी) – चित (पूर्ण ज्ञान भएको) – आनन्द स्वरूपा भगवान श्रीकृष्णको अंश भएकोले हामीमा पनि भगवानका सत् (नित्य/अबिनाशी) – चित (पूर्ण ज्ञान भएको) – आनन्द प्रवृत्तिको केही अंश आंशिक रुपमा रहेको हुन्छ जसको कारण प्रत्येक मनुष्य स्वभाबैले नित्य/अबिनाशी रहने चाहने, ज्ञानी हुन चाहने र आनन्द चाहने प्रकृतिको हुन्छ ।

भगवान् श्रीकृष्णद्वारा नै बनाईएको यस प्रकृतिका नियमहरू पत्ता लगाई आफु उपयोगी ढाल्न खोज्ने मनुष्यको प्रवृत्ति, भगवानको अंश भएकोले भगवानबाटै प्राप्त भएको “चित” अर्थात पूर्ण ज्ञानी हुन चाहने तत्वको प्रभावले गर्दा नै हो । यसै परिप्रेक्ष्यमा भगवान श्रीकृष्णद्वारा बनाईएका बिधुतीय भौतिक नियमहरूको अध्ययन गराउने शास्त्र इलेक्ट्रिकल इंजिनीयरिंगको अध्ययन गर्ने अवसर मलाई पनि प्राप्त भयो फलस्वरूप अहिलेको भौतिक समाजले इलेक्ट्रिकल इंजिनीयरिंगको क्षेत्रमा दिने स्नातकोत्तरको मान मलाई पनि प्राप्त भयो, सरल सबैले बुझ्ने भाषामा इन्डक्सन चूलो कसरी बल्छ भनेर बुझाउने प्रयास गरेको छु ।

अब हेरौं कसरी मनुष्यले भगवान श्रीकृष्णद्वारा बनाईएका अकाट्य प्राकृतिक भौतिक नियमहरूको अध्ययन गरी र भगवान श्रीकृष्णद्वारा बनाईएका प्राकृतिक भौतिक नियमहरूको यथोचित बुद्धिमत्तापूर्ण ढंगले प्रयोग गरी आफुलाई उपयोगी हुने बिधुतीय इन्डक्सन चूलो बनाई बाल्न सफल भए ।

१. इन्डक्सन चूलो विद्युतमा जोड़नुहुन्छ ।

२. इन्डक्सन चूलो भित्र हज़ारौ फन्कामा डल्लो पारेर बेरिएको तारमा विद्युत प्रबाह हुन्छ ।

३. हाम्रो घरमा आउने विद्युतको प्रकृति अल्टनेटिंग अर्थात घरमा आएको विद्युतको दुई प्वालमध्ये पहिलो + र दोश्रो – हुन्छ भने अर्कों क्षण पहिलो – र दोश्रो + हुन्छ । यो फेरबदल ५० हर्ज आवृति भएको कारणले एक सेकेण्डमा ५० पटक हुन्छ । यसले गर्दा हज़ारौ फन्कामा डल्लो पारेर बेरिएको तारको बीचमा चुम्बकिय क्षेत्र पैदा हुन्छ, अनुमान गर्नुहोस, एउटा लामों चुम्बक तारको बीचमा ठाडो पारिएर राखिएको छ जसको ध्रुब पनि अल्टनेटिंग प्रकृतिको विद्युतको कारण एक क्षण माथि “उत्तर” र तल “दक्षिण” ध्रुब हुन्छ भने अर्कों क्षण माथि “दक्षिण” र तल “उत्तर” हुन्छ जुन एक सेकेंडमा ५० पटक हुन्छ ।

४. अब तपाईले इन्डक्सन चूलोमा पकाउन लायकको भाडो चूलोमाथि राख्नुभयो ।

५. चूलोमा पैदा भैरहेको ठाडो पारिएर राखिएको अनुमान गरिएको चुम्बकिय क्षेत्र जुन माथि “उत्तर” र तल “दक्षिण” ध्रुब र फेरी माथि “दक्षिण” र तल “उत्तर” एक सेकेण्डमा ५० पटक भईरहेको छ, अब यो अदृश्य चुम्वकीय शक्ति इन्डक्सन चूलोमा पकाउन राखिएको भाडोको पिंधबाट छिर्दछ ।

६. एक सेकेंडमा ५० पटक ध्रुब परिवर्तन गर्ने यस अदृश्य चुम्वकीय शक्ति जब इन्डक्सन चूलोमा पकाउन राखिएको भाडोको पिंधबाट छिर्दछ जसले भाडोको पिंधमा शक्तिशाली बिधुत प्रवाह ग़र्दछ। यस बिधुतलाई हामी इडी करेन्ट (Eddy Current) भन्छौ ।

७. यस इडी करेन्ट भाँडोको पिँधमा घुमाउरो पारामा बहन्छ । एक क्षण घडिको सुईको दिशामा बहन्छ भने अर्कों क्षण घडिको सुईको बिपरीत दिशामा बहन्छ जुन पनि एक सेकेण्डमा ५० पटक परिवर्तन हुंछ तसर्थ इन्डक्सन चुलोमा खाना पकाउने भाँडोको पिँध विशेष प्रकारको हुन्छ ।

८. यसरी शक्तिशाली इडी करेन्ट भाँडोंको पिँधमा घुमाउरो पारामा बहन्छ । करेन्ट बग्नु भनेकै इलेक्ट्रोन बग्नु हो । इलेक्ट्रोन बग्दा भाँडोको पिँधका परमाणुहरुका न्युक्लियस, न्युट्रोंनसंग ठोक्किदै बग्नुपर्ने हुन्छ । यसरी ठोक्किदै बग्दा ताप पैदा हुन्छ अर्थात भाँडोको पिँधमा ताप पैदा भयो र यही भाँडोको पिँधमा पैदा भएको तापले खाना पाक्दछ ।

आधुनिक इन्डक्सन हिटर यहाँ व्याख्या गरिएभन्दा धेरै जटील हुन्छ । आन्तरिक आवृत्तिदेखि भोल्टेज आदि कम्पनीको बनावट पिच्छे फरक-फरक हुन्छ तर मूल कार्यविधि भने यही हो । यहाँ प्रस्तुत व्याख्या मूल कार्यविधी बुझ्नको लागि मात्र हो ।

पुनश्च : तर इन्डक्सन चुलो चांडो विग्रने गरेको देखिएको छ तसर्थ खरीद गर्नुपूर्व ग्यारेन्टी/वारेन्टीको सुविधा कस्तो छ ? विग्रेको खण्डमा बनाउने सुविधा के छ ? बुझेर मात्र खरीद गर्नुपर्दछ ।

हरे कृष्ण !

वल्लभ चैतन्य दास साधक, चिन्तक तथा अध्येता हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्

भाइरस विरुद्ध पुर्वीय दर्शनका प्रभावशाली घरेलु उपायहरु

कोरोनाबिरुद्ध लड्ने एकमात्र विकल्प – रोग प्रतिरोधात्मक शक्ति गर्ने वृद्धि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !