काठमाडौं । हुम्ला जिल्लाका कतिपय स्थानका नेपाल टेलिकमको बिटीएस टावरमा क्षति पुग्दा सेवा अवरुद्ध भएको छ ।
कर्णाली प्रदेश अन्तर्गत हुम्ला जिल्लामा रहेका नेपाल टेलिकमका बिटिएस टावरहरुमा अनधिकृत रुपमा केही समूह तथा व्यक्तिहरुले अवाञ्छित क्रियाकलाप गरी क्षति पुर्याएकोले गर्दा सेवा अवरुद्ध हुन पुगेको नेपाल टेलिकमले जनाएको छ ।
‘सर्केगाड गाउँपालिका–५ स्थित बरै माइक्रो वी.टी.एस. टावरमा पौष ४ गते सोलार प्यानल, भीएसएटीका उपकरणहरु तथा अर्थिंङ केवलमा क्षति पुगेको र विकट भौगोलिक अवस्थितिका कारणले मर्मत कार्य सम्पन्न भई सेवा सुचारु हुन केही समय लाग्न सक्ने भएको हुँदा यसबाट सेवाग्राहीमा पर्न गएको असुविधाप्रति कम्पनी क्षमा प्रार्थी छ ।’ टेलिकमका प्रवक्ता हरि ढकालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
सार्वजनिक महत्वका सरकारी सम्पत्तिमा क्षति पुर्याउने र सर्वसाधारणको अविच्छिन्न सञ्चार सेवा उपभोग गर्न पाउने अधिकारमाथि आघात पुग्ने किसिमका गतिविधिहरू नगर्न नगराउन समेत टेलिकमले अनुरोध गरेको छ ।