१५ बैशाख २०८१, शनिबार

एमआरपी विस्थापन गरेर आजदेखि ई-पासपोर्ट जारी गरिँदै


ई-पासपोर्ट

काठमाडौं । मेसिन रिडेबल पासपोर्ट (एमआरपी) विस्थापन गर्दै आजदेखि विद्युतीय राहदानी (ई-पासपोर्ट) जारी गरिँदै छ । यसअघि एमआरपी जारी गरिरहेको सरकारले आजदेखि ई-पासपोर्ट जारी गर्ने भएको हो ।

परराष्ट्रमन्त्री नारायण खड्काले आज दिउँसो ई-पासपोर्ट वितरणको औपचारिक शुरुआत गर्ने छन् । आज दिउँसो २ बजे एक समारोहमा ई-पासपोर्ट सार्वजनिक गरिन लगिएको हो । राहदानी विभागले आज त्रिपुरेश्वरमा रहेको नयाँ भवनबाट सेवा शुरु गर्न लागेको हो ।

६४ वटा पृष्ठ हुने ई-पासपोर्टको कभर पेजमा नेपालको नयाँ नक्सासहितको निशान छाप राखिएको छ । पहिलो र अन्तिम कभरको भित्री पृष्ठमा नेपालको राष्ट्रिय झण्डा हुने छ भने पहिलो पृष्ठमा सगरमाथा रहनेछ ।

ई-पासपोर्टका पृष्ठमा नेपालका सम्पदा, संस्कृति, जीवनयापन, वन्यजन्तु र चर्चित पर्यटकीय स्थलका तस्बिर रहने छन् । मोबाइलको जस्तै विद्युतीय ‘चिप’को प्रयोग हुने ई-पासपोर्टमा पासपोर्टसहित व्यक्तिगत विवरण र बायोमेट्रिक तथ्यांक राखिन्छ ।

साधारण (३४ र ६६ पृष्ठ), कूटनीतिक, विशेष, सर्भिस, अस्थायी, सिम्यान्स अभिलेख किताब गरी ७ प्रकारका पासपोर्ट जारी हुने विभागका महानिर्देशक डोरनाथ अर्यालले जानकारी दिए । यसअघि चार प्रकारका पासपोर्ट थिए ।

यो पासपोर्ट एकै दिनमा पाइने छ । नेपालले सन् २०२० डिसेम्बर २० तारिखमा २० लाख ई-पासपोर्ट छपाइका लागि फ्रान्सको आईडिइएमआईए आइडेन्टी एन्ड सेक्युरिटी कम्पनीसँग २ अर्ब ४८ करोड रुपैयाँमा सम्झौता गरेको थियो ।

राहदानी विभागका अनुसार विभागले केही दिन थोरै संख्यामा मात्रै ई-पासपोर्ट वितरण गर्ने छ भने पूर्ण क्षमतामा ई-पासपोर्ट वितरण नहुँदासम्म एमआरपी वितरणले पनि निरन्तरता पाउने छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आईकाओ) ले सुरक्षित भनेको ई-पासपोर्ट विभिन्न देशले प्रयोगमा ल्याइसकेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !