२६ पुस २०८१, शुक्रबार

काठमाडौंँ उपत्यकामा ‘सिजी इन्टरनेट’ सेवा आजदेखि शुरु


सिजी इन्टरनेट

काठमाडौँ । सिजी कम्युनिकेसन प्रालीले आजदेखि काठमाडौंँ उपत्यकामा उच्च गतिको इन्टरनेट सेवा शुरुआत गरेको छ । यसबाट सार्वजनिक एवम् निजी क्षेत्रबाट प्रवाह हुने सेवाका गुणस्तरमा सुधार आउने अपेक्षा गरिएको छ । हाल इन्टरनेट प्रदायक कम्पनीका तुलनामा सिजीको सेवा सस्तो रहेको दाबि समेत गरिएको छ ।

कम्पनीद्वारा आज यहाँ जारी विज्ञप्तिमा १२० एमबिपिएस गतिको ‘सिजी नेट’ रु ९९९ मा उपलब्ध हुने जनाइएको छ । कम्पनीका प्रबन्ध निर्देशक निर्वाण चौधरीले सिजी नेट सेवाले उपभोक्ताका जीवनमा नयाँ अनुभव गराउने बताए । कम्पनीले शुरुआती चरणमा इन्टरनेट सेवा शुरु गरेपनि चाँडैनै आइपिटिभी तथा अन्य सेवा ल्याउने तयारी भएको जनाएको छ ।

विज्ञप्तिमा शुरुआती चरणमा काठमाडौं उपत्यकाका तीनै जिल्लामा उपलब्ध हुने, तत्कालका लागि जावलाखेल, झम्सिखेल, भनिमण्डल र एकान्तकुनामा क्षेत्रमा जडान हुने र एकवर्षभित्र उपत्यकाका सबै क्षेत्रमा सेवा विस्तार हुने उल्लेख छ ।

यस्तो छ प्याकेज

१२० एमबीपीएस गति भएको इन्टरनेट १ महिनाका लागि ९९९ रुपैयाँ तोकिएको छ भने ३ महिनाका लगि २९९७ रुपैयाँ, ६ महिनाका लागि ५९९४ रुपैयाँ र १२ महिनाका लागि ११९८८ रुपैयाँ तोकिएको छ ।

यसका लागि इन्स्टलेसन शुल्न, ड्रप वायर शुल्क भने निःशुल्क गरिएको छ । त्यसका साथै सिंगल राउटरका लागि एक महिनाको प्याकेज लिँदा २५००, ३ महिनाको प्याकेज लिँदा २ हजार, ६ महिना प्याकेज लिँदा १५०० रुपैयाँ र १ वर्षको प्याकेज लिँदा निःशुल्क गरिएको छ ।

त्यसैगरी डबल राउटर राख्नेले एक महिनाको प्याकेज लिँदा ३५०० रुपैयाँ, ३ महिनाको प्याकेज दिँदा ३ हजार रुपैयाँ, ६ महिनाका प्याकेज लिँदा २५०० रुपैयाँ र १ वर्षको प्याकेज लिँदा निःशुल्क गरिएको छ । साथै रिफन्डेबल डिपोजिटका रुपमा ५ सय रुपैयाँ बुझाउनुपर्ने छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !