११ बैशाख २०८१, मंगलबार

गोंगबु हत्या प्रकरणकी अभियुक्त कल्पनालाई आजीवन काराबासको सजाय

काठमाडौं जिल्ला अदालतले कल्पनाकी छोरीलाई दियो सफाइ


गोंगबु हत्या प्रकरण कल्पना मुडभरी पौडेल

काठमाडौँ । जिल्ला अदालत काठमाडौंले काठमाडौंको गोंगबुमा कृष्णबहादुर बोहराको हत्या गरी सुटकेशमा राखेर फ्याँक्ने कल्पना मुडभरी पौडेललाई आजीवन कारावासको सजाय सुनाइएको छ । केही दिनअघि न्यायाधीश राजेन्द्र अधिकारीको इजलासले उनलाई आजीवन काराबासको सजाय सुनाएको हो ।

कल्पनाले रोल्पा रून्टीगढी गाउँपालिका-७ घर भई गोंगबुस्थित एक होटलमा बस्दै गरेका ४५ वर्षीय बोहोराको हत्या गरी टाउको, खुट्टा काटेकी थिइन् । उनको जिँउ सुटकेसमा राखेर नवज्योतिमार्गमा फ्याँक्न लगेकी थिइन् । टाउको र खुट्टा भने केही पर भेटिएको थियो ।

जिल्ला अदालत काठमाडौंले गोंगबुमा डेरा गरी बस्दै आएकी ३७ वर्षीया कल्पना मुडभरीलाई आजीवन काराबासको सजाय सुनाएको अदालतका सूचना अधिकारी नरेन्द्रकुमार शर्माले जानकारी दिएका छन् ।

शर्माका अनुसार फागुन १३ गते न्यायाधीश राजेन्द्र अधिकारीको इजलासले उनलाई जीवित रहुञ्जेल काराबासको सजाय सुनाएका हुन् । तर कल्पनाकी छोरी नाबालक समेत रहेको र छोरीको संलग्नता नदेखिएकोले उनलाई भने अदालतले सफाइ दिएको छ ।

गोंगबु बस्ने कृष्णबहादुर बोहराको टाउको र खुट्टा बिनाको शव गत साउन २५ गते सुटकेसमा भेटिएको थियो । पछि प्रहरी तालिम प्राप्त जोजो नामको कुकुरको मद्दतले टाउको र खुट्टा फेला पारेको थियो ।

शव भेटिए पनि प्रहरीले केही दिन कृष्णबहादुरको पहिचान खुलाउन सकेको थिएन । त्यसपछि प्रहरीले शवको तस्वीर सार्वजनिक गरेपछि उनको पहिचान खुलेको थियो । सोही अनुसन्धान पछि प्रहरीले कल्पनालाई पक्राउ गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !