२८ कार्तिक २०८१, बुधबार

धादिङमा पहिरो : २ जनाको मृत्यु, ४ गाडी पुरिए, ६ घाइते


धादिङमा पहिरो

धादिङ । अविरल वर्षापछि आएको पहिरोले पुरिँदा धादिङमा २ जनाको मृत्यु भएको छ भने ५ वटा गाडी पुरिनुका साथै ६ घाइते भएका छन् । आज शनिबार बिहान धादिङको पृथ्वी राजमार्ग अन्तर्गत बेनीघाट रोराङ गाउँपालिका-१० मा खसेको पहिराले ४ वटा सवारी साधनमा क्षति पुगेको छ ।

पहिराले क्षति पुर्याएको चारमध्ये ना ८ ख ४५४० ट्रक र ना ७ ख ३२० नम्बरको कण्टेनरको पहिचान खुलेको ईलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ । अन्य दुई वटा सवारी साधनको नम्बर खुलेको छैन ।

ना ८ ख ४५४० नम्बरको ट्रकमा रहेका चितवनको राप्ती नगरपालिका ६ बस्ने १८ वर्षीय वीरबल चेपाङ र ना ७ ख ३२० नम्बरको कन्टेनरमा सवार भारतकी ४३ वर्षीया सोनी देवीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

चेपाङको शव ट्रकमा चेपिएको अवस्थामा छ भने सोनीको पोखराको गण्डकी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरिक्षक महेन्द्र खड्काले बताए । ३ जनाको पोखरा स्थित गण्डकी अस्पतालमा उपचार भइरहेको छ ।

राजमार्गमा पुरिएका सवारी साधन पहिरो रोकिएपछि खोजी गर्न सकिने प्रहरीको भनाइ छ । सडक अवरुद्ध हुदाँ मालबाहक तथा यात्रुबाहक सवारीको लामो लाइन लागेको छ । त्यस्तै नारायणगढदेखि काठमाडौँंसम्म सात स्थानमा ठूलो पहिरो गएको ट्राफिक प्रहरीले जानकारी दिएको छ । तीमध्ये मुग्लिनबाट नारायणगढसम्म पाँच स्थानमा ठूलो पहिरो झरेको छ ।

त्यस्तै पृथ्वी राजमार्ग अन्तर्गत बेनीघाट रोराङ गाउँपालिका सहित गजुरी गाउँपालिका लगायतका सडक पहिराले अवरुद्ध भएको छ । त्यस्तै धादिङ सदरमुकाम जोड्ने कालुपाण्डे राजमार्ग अन्तर्गत सिद्धलेक गाउँपालिकाका परेवाटारमा पहिरोका कारण सडक अवरुद्ध भएको प्रहरीले जानकारी दिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !