१४ बैशाख २०८१, शुक्रबार

विपद्सम्बन्धी प्रतिकार्य योजना पारित, राहत, उद्धार र पुनःस्थापन प्रभावकारी बनाइने


गृह मन्त्रालय

काठमाडौँ । गृहमन्त्री अध्यक्ष रहेको राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन कार्यकारी समितिले ‘मनसुन पूर्व तयारी तथा प्रतिकार्य योजना २०७८’ पारित गर्दै उद्धार, राहत र पुनःस्थापनलाई प्रभावकारी बनाउने निर्णय गरेको छ ।

मनसुन भित्रिएसँगै मुलुकका विभिन्न जिल्लामा बाढी र पहिरोबाट धनजनको क्षति भएको सन्दर्भमा समितिले सबै निकायसँग समन्वयात्मक रुपमा जोखिम न्युनिकरण, राहत वितरण तथा उद्धारमा लाग्ने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाका प्रमुख गोविन्द रिजालका अनुसार मुख्यतः कसरी धनजनको क्षति कम गर्न सकिन्छ, सही रुपमा विपद्को सम्बोधन कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल केन्द्रित भएको जानकारी दिए ।

बैठकमा गृहमन्त्री खगराज अधिकारीले मन्त्रालयबाट स्रोत÷साधनमा कुनै कमी हुन नदिने स्पष्ट पार्दै जिल्ला विपद् व्यवस्थापन समितिलाई थप सक्रिय बनाउन निर्देशन दिएका छन् ।

मन्त्री अधिकारीबाट मुख्यगरी सरकारी निकायको कमजोरीका कारण कसैको पनि ज्यान नजाओस् भनेर गम्भिरताका साथ लाग्न मातहतका निकायलाई निर्देशन भएको प्राधिकरणका सहप्रवक्ता वेदनिधि खनालले जानकारी दिए ।

उहाँका अनुसार बैठकले प्रतिकार्य योजनासहित केही कार्यविधि समेत पारित गरेको छ । अब बाढी-पहिरो प्रभावितले झैँ आगलागी र डढेलो पीडितका लागि राहत तथा पुनःस्थापन कार्यक्रम अघि बढाउने गरी कार्यविधि पारित भएको उनले बताए । बैठकमा सिन्धुपाल्चोकको मेलम्ची, मनाङ लगायत जिल्लामा भएको क्षतिको अवस्थाबारे समिक्षा भएको थियो ।

आज पारित विपद प्रतिकार्य योजनामा मुख्यगरी पहिरोको वडास्तरीय नक्सा तयार पारी जोखिम न्युनकिरणका कार्यक्रम समावेश छ । यस्तै बाढी र कोभिड तथा पहिरोको र कोभिडको जोखिम पहिचान गरी नक्सा समेत तयार पारिएको छ ।

मानिसको सुरक्षित अवतरणका लागि खुला स्थानको पहिचान गरी आवश्यक तयारी गरिएको छ । मुलुकका विभिन्न क्षेत्रमा १५५ वटा खुला स्थान तय गरिएको छ । आवास पुनःनिर्माण तथा पुनस्थापन कार्यक्रमलाई प्रभावकारी बनाउने गरी अघि बढाइएको छ । आपत्कालिन कार्यका लागि स्रोत साधनको विवरण संकलन तथा व्यवस्थापन र परिचालनका आवश्यक तयारी पनि यसमा समावेश गरिएको छ ।

मन्त्रालयका विषयगत समितिलाई समेत परिचालन गर्ने गरी प्रतिकार्य योजना निर्माण गरिएको प्राधिकरणले जनाएको छ । मनसुन शुरुवाती कै समयमा मनाङ र सिन्धुपाल्चोकमा परेको भारी वर्षाले ठुलो धनजनको क्षति भएको छ । अहिले पनि मुलुकका धेरै ठाएामा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

यसैबीच प्रधानमन्त्री अध्यक्ष रहने विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठक बस्दै छ । अहिले केही बेरमा शुरु हुने बैठकमा मुलुकभर भएका विपद्जन्य घटनाका विषयमा समीक्षा हुने राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका सहप्रवक्ता वेदनिधि खनालले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !