१० पुस २०८१, बुधबार

सुर्खेतमा क्वारेन्टाइनबाट घर फर्किएपछि मृत्यु भएका युवामा कोरोना पुष्टि


मृत्यु-निधन

सुर्खेत, जेठ २३ । पश्चिम सुर्खेतका क्वारेन्टाइनबाट घर फर्केपछि मृत्यु भएका युवामा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ । पञ्चपुरी नगरपालिका-१, सानीडाँडाका २० वर्षीय युवाको बिहीबार बिहान करीव २ बजे मृत्यु भएको थियो । हिजो बिहीबार दिउँसो गरिएको स्वाब परीक्षणमा रिपोर्ट पोजिटिभ आएको कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले एक प्रेस बिज्ञप्ति जारी गर्दै जानकारी दिएका छन् ।

उनले स्थानीय तहसँग मिलेर स्वास्थ्यकर्मीले मृतक युवाको सम्पर्कमा आएका व्यक्तिहरुको स्वाब संकलन सुरु गरिएको बताए । साथै शव व्यवस्थापनका लागि वीरेन्द्रनगरबाट नेपाली सेनाको टोली हिँडेको जानकारी दिए । पञ्चपुरी नगरपालिका वडा नम्बर १ का अध्यक्ष धनबहादुर थापाले नजिकैको जंगलमा मृतक युवाको आजै दाहसंस्कार गर्ने तयारी भएको जानकारी दिए ।

जेठ पहिलो साता भारतको मुम्बईबाट आएका युवा दुई सातासम्म विद्यापुरस्थित जनता माविको क्वारेन्टाइनमा बसेर घर फर्केका थिए । बुधबार दिउँसो गरिएको आरडीटी परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि उनलाई घर पठाइएको थियो । वडाध्यक्ष थापाले कोरोना पुष्टि भएपछि उनीसँगै आएका अन्य युवा र क्वारेन्टाइनमा बसेका व्यक्तिहरुको पनि स्वाब परीक्षण गर्ने तयारी भइरहेको बताए ।

योसँगै कर्णालीमा कोरोनाको कारण मृत्यु हुनेको संख्या २ पुगेको छ । गत शनिबार दैलेखको दुल्लुमा क्वारेन्टाइनमा बसेका ३५ वर्षीय युवाको मृत्यु भएको थियो । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ । यसअघि नेपालमा सिन्धुपाल्चोकमा १ जना, बाँकेमा १ जना, गुल्मीमा १ जना, बारामा १ जना, ललितपुरमा १ जना, अर्घाखाँचीका १ जना, दैलेखका १ जना, बाजुराका १ जना, दोलखाका १ जना र पाल्पाका १ जना गरी १० जनाको कोरोना संक्रमणबाट मृत्यु भईसकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसको औपचारिक पुष्टि गर्न भने बाँकी छ । आज दिउसो मन्त्रालयले गर्ने नियमित पत्रकार ब्रिफिंगमा सोको पुष्टि गर्नेछ ।

यो पनि पढ्नुहोस्

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० पुग्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !