८ बैशाख २०८१, शनिबार

कोरोनाबाट उद्योगी अग्रवालको निधन


मृत्यु प्रतीकात्मक तस्वीर

झापा । कोभिड–१९ सङ्क्रमणका कारण जिल्लाका पुराना तथा दर्जनौँ उद्योगका सञ्चालक पर्शुराम अग्रवालको निधन भएको छ । भद्रपुर नगरपालिका–५ निवासी उद्योगपति ६२ वर्षीय अग्रवालको उपचारकै क्रममा भारतको सिलिगुडीस्थित महाराजा अग्रसेन नर्सिङहोममा बुधबार राति निधन भएको हो ।

उहाँको शवलाई आज बिहान भद्रपुर ल्याएर नेपाल स्काउटको टोलीले दाहसंस्कार गरेको परिवारले जनाएको छ । केही समयअघि स्वास्थ्यमा समस्या आएपछि मेची अस्पतालमा उहाँको पिसिआर परीक्षण गराइएको थियो । गत जेठ ३१ गते अग्रवाललाई कोरोना सङ्क्रमण पुष्टि भएसँगै होमआइसोलेशनमा बसेर उपचार भइरहेको थियो । स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि थप उपचारका लागि उहाँलाई यही असार ४ गते सिलिगुडी लगिएको थियो । उपचारकै क्रममा नर्सिङहोममा उहाँको निधन भएको हो ।

विसं २०१६ मा जन्मिएका अग्रवालले भद्रपुरमै बसेर व्यापार व्यवसाय सञ्चालन गर्दै आउनुभएको थियो । शुरुमा घरमै ‘घडी बिडी’को उद्योग स्थापना गर्नुभएका उहाँले हाल मनसा सिमेन्ट उद्योग, मगमग चाउचाउ, ग्यालेक्सी इन्टरनेशनल स्कूल, गुट्खा उद्योग, घडी बिडी उद्योग, होटल, सिनेमा हललगायत सञ्चालन गर्दै आउनुभएको छ ।

मोहपाल धर्मशाला, भद्रपुर मारवाडी सङ्घ, भद्रपुर गौशाला र जिल्लाका विभिन्न मठमन्दिर बनाउन अग्रवालको ठूलो योगदान रहेको पत्रकार गोपाल गिरी बताउनुहुन्छ । अन्य जिल्लामा कोभिड–१९ को सङ्क्रमणसँगै मृत्युको दर घटे पनि झापामा भने दैनिक कोरोना सङ्क्रमणकै कारण तीनदेखि चार जनाको मृत्यु भइरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !