८ मंसिर २०८१, शनिबार

रोकिएन गैँडा मर्ने क्रम, फेरि अर्को मृत फेला


गैँडा मृत फेला

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा सोमबार एउटा गैँडा मृत फेला परेको छ । निकुञ्जको भित्री (कोर) इलाकामा ३५ वर्षको भाले गैँडा मृत फेला परेको हो ।

निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार रिउ र राप्ती नदीको दोभानको दक्षिण किनारमा मृतावस्थामा गैँडा फेला परेको हो । सो गैँडा बूढो भएर कालगतिले मरेको आकलन गरिएको छ ।

उक्त गैँडा निकुञ्जको बाघमारा पोष्ट र गोलाघाट क्षेत्रमा नियमितरूपमा देखिने गरेको र रेखदेखमा नै रहेको अधिकारीले जानकारी दिनुभयो । उक्त गैँडाको खाग खुर सुरक्षित रहेको छ ।

यससँगै चालु आर्थिक वर्षमा प्राकृतिक कारणले १३ र चोरी शिकारीबाट चार गैँडा मारिएका छन् । निकुञ्जमा गैँडा मर्ने र मारिने क्रम बढेपछि निकुञ्जले समिति बनाएर अध्ययन गरिरहेको छ ।

यस विषयमा प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले समेत निकुञ्जको स्थलगत अवलोकन गर्नुका साथै निकुञ्जका कर्मचारी तथा सुरक्षाकर्मी र स्थानीय जनप्रतिनिधिसँग छलफल गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !