१३ बैशाख २०८१, बिहिबार

नेपालमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु, मृतकको संख्या ९१ पुग्यो


मृत्यु

काठमाडौं, साउन २८ । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप ८ जनाको मृत्यु भएको पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९१ पुगेको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगको क्रममा सो कुराको औपचारिक रुपमा पुष्टि गरेका हुन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार ६ जना पुरुष र २ महिलाको मृत्यु भएको हो । मृत्यु हुनेमा काठमाडौंका १ जना महिला, धादिङका १ जना पुरुष, धनुषाका १ जना पुरुष र १ जना महिला गरी २ जना, सप्तरीका १ जना पुरुष, मोरङका १ जना पुरुष, कपिलवस्तुका १ जना पुरुष र बाराका १ जना पुरुष गरी जम्मा ८ जनाको मृत्यु भएको हो ।

काठमाडौं टेकु निवासी ७८ वर्षीया १ जना महिलाको ललितपुरस्थित किस्ट मेडिकल कलेज शिक्षण अस्पतालमा मृत्यु भएको छ । साउन २६ गतेदेखि किस्ट अस्पतालमा उपचाररत उनी मधुमेह, रक्तचापका समस्याबाट पीडित थिइन् ।

त्यस्तै धादिङ निलकण्ठ नगरपालिका-१४ निवासी ३२ वर्षीय पुरुषको साउन २७ गते ह्याम्स अस्पतालमा मृत्यु भएको छ । उनी क्षयरोगी समेत थिए । २७ गते कोरोना पुष्टि भएका उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

धनुषा जिल्ला जनकपुर उपमहानगरपालिका-१ निवासी ७१ वर्ष पुरुषको मेडिसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु साउन २८ गते मृत्यु भएको हो । उनलाई साउन ७ गते कोरोना पुष्टि भएको थियो ।

त्यसैगरी साउन १८ गतेदेखि पाटन अस्पतालमा उपचार गराइरहेकी धनुषा जिल्ला जनकपुर उपमहानगरपालिका-८ की ३८ वर्षीया महिलाको कोरोना संक्रमणबाट साउन २८ गते मृत्यु भएको हो । उनलाई साउन १८ गते कोरोना पुष्टि भएको थियो ।

यसैगरी साथै सप्तरी जिल्ला डाक्नेश्वरी नगरपालिका-८ घर भएका र राजविराज बस्दै ७२ वर्षीय पुरुषको साउन २७ गते मृत्यु भएको छ । उनी ४ दिनअघि ज्वरो आएर स्वाब संकलन गर्दा साउन २७ गते कोरोना पुष्टि भएको थियो । उनी थाइरोड तथा मधुमेहका तथा मुटुरोगी थिए ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारकाा क्रममा मोरङ बुढीगंगा गाउँपालिका-२ का ५५ वर्षीय पुरुषको साउन २८ गते कोरोना संक्रमणबाट मृत्यु भएको हो । ज्वरो खोकी र स्वासप्रश्वासमा समस्या आएपछि उनलाई साउन २६ गते प्रतिष्ठानमा उपचारका लागि ल्याइएको थियो ।

त्यसैगरी कपिलवस्तु नगरपालिका-२ तौलिहवा निवासी ४२ वर्षीय पुरुषको साउन २८ गते कोरोनाका कारण मृत्यु भएको हो । ज्वरो तथा निमोनिया भइ उनी साउन २५ गते बुटवलको कोरोना विशेष अस्पताल भर्ना भएका थिए । उनमा साउन २७ गते कोरोना पुष्टि भएको थियो ।

बारा जिल्ला कलैया उपमहानगरपालिका निवासी ७५ वर्षीय पुरुषको साउन २८ गते किष्ट मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको छ । उनी साउन २६ गते अस्पताल भर्ना भएका थिए । साउन २८ गते कोरोना पुष्टि भएका उनी मिर्गौला तथा दमका रोगी थिए ।

यो पनि पढ्नुहोस्

नेपालमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु, मृतकको संख्या ८३ पुग्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !