८ जेष्ठ २०८१, मंगलबार

कान्तिपुर दैनिकका बरिष्ठ पत्रकार बलराम बानियाँ मृत फेला


कान्तिपुर दैनिक

काठमाडौँ, साउन २८ । कान्तिपुर दैनिकका बरिष्ठ पत्रकार बलराम बानियाँ मृत फेला परेका छन् । साउन २६ गते सोमबार काठमाडौँको ढुंगेअड्डा तीनथानबाट हराएका बानियाँको शव भीमफेदी गाउँपालिका-८ सिस्नेरी स्थित माण्डो हाईड्रोपावरको फिल्टरमा फेला परेको हो ।

परिवारले महानगरीय प्रहरी परिसर काठमाडौँमा बनियाँ बेपत्ता भएको हुनाले ‘खोजी पाउँ’ भन्दै निवेदन दिएका थिए । बल्खुमा प्रहरीको गस्ती टोलीले सोमबार दिउँसो देखेपछि उनलाई सोधपुछ गरेको थियो । त्यसपछि उनी घर जाने भन्दै बल्खु खोलाको पुलमुनि गएको देखिएको प्रहरीले जनाएको छ ।

महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाका अनुसार बानियाँ पुलमुनि जाँदै गर्दा उनको जुत्ता हिलोमा अड्किएको र त्यसपछि खोलाको पानीमा लडेपछि स्थानीयले उद्धार गर्ने प्रयास गरेका थिए । तर पानीको अत्याधिक वहाबले गर्दा उद्धार गर्न नसकेको स्थानीयले बताएका छन् । त्यसबेला उनको पहिचान खुल्न सकेको थिएन ।

बल्खुमा उनको जुत्ता फेला परेको थियो । एसएसपी थापाले बानियाँ शव फेला परेको पुष्टि गर्दै उनको शवलाई अहिले हेटौँडा अस्पतालमा लगिएको बताए । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट बानियाँ बल्खु खोलामा लडेको र खोलाले बगाएर मकवानपुर पुर्याएको खुलेको छ । घटनाबारे महानगरीय अपराध महाशाखाले अनुसन्धान गरिरहेको छ ।

तनहुँ घर भएका बानियाँ कान्तिपुर दैनिकका सहायक-सम्पादक हुन् । बानियाँ पछिल्लोपटक एक दशकभन्दा अघिदेखि कान्तिपुरमा कार्यरत थिए । त्यसअघि पनि उनले कान्तिपुर, नागरिक लगायतमा सम्बद्ध रही पत्रकारिता गरेका थिए । बानियाँ नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सचिव थिए । उनका श्रीमती, एक छोरा र एक छोरी छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !