७ बैशाख २०८१, शुक्रबार

नेपालमा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु, मृतकको संख्या ७० पुग्यो


मृत्यु

काठमाडौं, साउन २३ । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप ५ जनाको मृत्यु भएको पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७० पुगेको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगको क्रममा सो कुराको औपचारिक रुपमा पुष्टि गरेका हुन् ।

मन्त्रालयका अनुसार वीरगञ्जमा ३ जना, सिरहा र सर्लाहीका १/१ जनाको कोरोनाकै कारण मृत्यु भएको पुष्टि हो । मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार पर्साको वीरगञ्ज-९ का ४५ वर्षीय पुरुषको साउन २२ गते पाटन अस्पतालमा मृत्यु भएको हो । उनी मधुमेह र उच्च रक्तचापबाट पीडित थिए ।

यस्तै वीरगञ्ज ११ का ६९ वर्षीय पुरुषको साउन २० गते राति मृत्यु भएको हो । मृत्युपछि उनमा कोरोना पुष्टि भएको हो । साथै वीरगन्ज ११ कै ५७ वर्षीय पुरुषको साउन २२ गते निधन भएको छ । वीरगन्जस्थित गण्डक कोभिड अस्पतालमा उपचार गराइरहेका पुरुष मधुमेहका रोगी थिए । उनमा मृत्युपछि कोरोना पुष्टि भएको हो ।

यसैगरी मन्त्रालयले शुक्रबार सिरहा गोलबजार-१२ स्थायी घर भएका २५ वर्षीय पुरुषको कोरोनाले मृत्यु भएको पुष्टि गरेको छ । उनको साउन २२ गते बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा निधन भएको हो । मिर्गौलाका बिरामी उनी डायलासिस गराइरहेका थिए । उनलाई जनकपुरबाट रिफर गरिएको थियो । सर्लाहीका एक ४५ वर्षीय पुरुषको शुक्रबार पाटन अस्पतालमा निधन भएको छ । उनी साउन १९ गते उपचारका लागि अस्पताल भर्ना भएका थिए ।

 

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !