१६ जेष्ठ २०८१, बुधबार

पर्साको वीरगञ्जमा कोरोना संक्रमणवाट थप २ जनाको मृत्यु


पुरुषको शव फेला

वीरगञ्ज, साउन २२ । पर्सा जिल्लाको वीरगन्जमा आज बिहीबार थप २ जनाको कोरोना भाइरस (कोभिड-१९) संक्रमणवाट मृत्यु भएको छ । वीरगञ्जको गण्डकस्थित अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा बिहीबार बिहान मृत्यु भएका वीरगन्ज-१० आदर्शनगरका ५६ वर्षीय पुरुषमा बिहीबार साँझ संक्रमण पुष्टि भएको हो ।

मृतक ती पुरुषको स्वाब संकलन गरेर नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा बिहीबार साँझ पीसीआर रिपोर्ट पोजिटिभ आएको अस्पताल स्रोतले जानकारी दिएको छ । मुटुरोगी समेत रहेका ती पुरुषमा निमोनिया र श्वासप्रश्वासको समस्या देखिएपछि गत मंगलबार २१ गते दिउँसो कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।

उपचारकै क्रममा बुधबार राति करिब १० बजेपछि स्वास्थ्य झन् बिग्रिएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो । उनको बिहीबार बिहान साढे ८ बजे मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

साथै गत साउन २० गते राति आफनै घरमा मृत्यु भएका वीरगन्ज-११ मुर्लीका ८० वर्षीय वृद्धमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।नारायणी अस्पतालको प्रयोगशालाबाट बिहीबार साँझ प्राप्त रिपोर्टमा ती वृद्धको पनि पीसीआर रिपोर्ट पाजेटिभ आएको अस्पताल स्रोतले बताएको छ ।

मूर्लीस्थित आफनै घरमा साउन २० गते राति मृत्यु भएका वृद्धको कोरोना परीक्षणका लागि बुधबार बिहान स्वाब संकलन गरेर नारायणी अस्पतालको प्रयोगशालामा पठाइएको थियो ।

साथै पर्सामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ भने साउनमा मात्रै पर्सामा १५ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६७ पुगेको छ तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसको आधिकारिक पुष्टि गर्न भने बाँकी छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !