३ मंसिर २०८१, सोमबार

नेपालमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु, मृतकको संख्या ५६ पुग्यो


मृत्यु-निधन

काठमाडौं, साउन १६ । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट ४ जनाको मृत्यु भएको पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५६ पुगेको पुष्टि भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगको क्रममा सो कुराको औपचारिक रुपमा पुष्टि गरेका हुन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार पर्सा जिल्लाको वीरगञ्जस्थित गण्डक कोभिड अस्पतालमा उपचाररत वीरगञ्ज-१६ नगवाका ३५ बर्षीय पुरुष १ जनाको कोरोना संक्रमणवाट हिजो बिहिबार बेलुका मृत्यु भएको छ । ज्वरो आएपछि उनी साउन ५ गते निजी क्लिनिकमा पुगेका थिए । तर स्वास्थ्यमा सुधार नआएपछि १३ गते तराई हस्पिटलमा भर्ना भएका उनीलाई तराई हस्पिटलमा भर्ना भएकै दिन गण्डक कोरोना अस्पतालमा रिफर गरिएपछि पीसीआर परीक्षण गरिएको थियो । ज्वरो आउने, श्वास-प्रस्वासमा समस्या भएर मंगलबार १३ गते गण्डक कोरोना अस्पतालको इमजेन्सीमा भर्ना गरिएका उनको उपचारकै क्रममा आज बिहीबार बेलुकी ७:४० बजे निधन भएको थियो ।

यस्तै पर्सा जिल्लाको वीरगन्ज-२ छपकैयास्थित आफनै घरमा मृत्यु भएका ७० वर्षीय बृद्धमा पनि मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको थियो । घरमै मृत्यु भएको जानकारी आएपछि नारायणी अस्पतालको टोलीले गएर दिउँसो स्वाब संकलन गरी बिहीबार राति १० बजेतिर पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको हो । छपकैयास्थित घरमा एक्लै बस्दै आएका ती बृद्ध बिहीबार बिहान आफनै घरभित्र मृत अवस्थामा भेटिएका थिए । राती सुतेका बृद्ध बिहीबार बिहान नउठेपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए । वडा प्रहरी कार्यालय विर्ताबाट गएको प्रहरी टोलीले घरको ढोका तोडेर भित्र पस्दा बृद्ध कोठामा मृत अवस्थामा भेटिएका थिए । त्यसपछि बृद्धको स्वाब संकलन गरि पिसिआर परीक्षणका लागि नारायणी अस्पतालमा पठाइएको थियो ।

त्यस्तै पर्सा जिल्लाको वीरगञ्जको नारायणी अस्थायी कोरोना अस्पताल गण्डकमा उपचाररत जगदम्बा इन्टरप्राइजेजका ५६ वर्षीय प्रमुख कार्यकारी अधिकृतको पनि हिजो बिहीबार राति साढे ११ बजे कोरोना संक्रमणवाट मृत्यु भएको हो । वीरगञ्ज-११ श्रीपुर बस्ने भारत घर भएका उनी मुटुको रोगी थिए । उनको केही समयअघि मुटुको बाइपास शल्यक्रिया भएको थियो । कोरोना संक्रमण भएपछि उनको अवस्था गम्भिर भएको थियो । बिहीबार दिउँसोदेखि उनको शरीरमा अक्सिजनको मात्रा कम हुँदै गएको थियो । आईसीयु र भेन्टिलेटरमा समेत राखेर उपचार गर्दा पनि उनको मृत्यु भएको हो । उनलाई साउन ६ गते कोरोना संक्रमण पुष्टि भएपछि साउन ७ गते दिउँसो साढे १ बजे वीरगञ्जस्थित अस्थायी कोरोना विशेष अस्पताल गण्डकमा भर्ना गरिएको थियो ।

अन्त्यमा ललितपुर जिल्लाको पाटन अस्पतालको आइसियूमा उपचाररत पर्सा घर भएकी ६५ वर्षीया कोरोना संक्रमित महिलाको आज शुक्रबार बिहान ९ बजेतिर मृत्यु भएको हो । उनलाई गत साउन ६ गते अस्पताल भर्ना गरिएको थियो । मृतक महिला ललितपुर थसिखेलका बस्दै आएकी थिइन् । वीरगन्जबाट काठमाडौं उपत्यका आएसँगै रुघाखाेकी लगायत समस्या देखिएपछि उनी जाँच गराउन स्टार अस्पताल गएकी थिइन् । आइसोलेसनमा राखेर उपचार गर्ने क्रममा नै सास फेर्न गाह्रो भएपछि उनलाई स्टार अस्पतालमै भेन्टिलेटरमा राख्नु परेको थियो । आईसीयूमा राखेर उपचार भइरहेकै अवस्थामा कोरोना परीक्षण रिपोर्ट पनि पोजिटिभ आएपछि उनलाई पाटन अस्पतालको आईसीयूमा सारिएको थियो । उनमा निमोनियाको समस्या रहेको थियो । मृतक महिलामा उच्च रक्तचापको समस्या रहेकाे थियो ।

यो पनि पढ्नुहोस्

नेपालमा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु, मृतकको संख्या ५२ पुग्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !