१५ जेष्ठ २०८१, मंगलबार

धरानमा कोरोना संक्रमणवाट सप्तरीका ७३ वर्षीय वृद्धको मृत्यु


मृत्यु

धरान, साउन २ । सुनसरी जिल्लाको धरानमा रहेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत कोरोना भाइरस (कोभिड-१९) संक्रमित १ जनाको मृत्यु भएको छ । सप्तरी राजविराज नगरपालिका-१ घर भएका ७३ वर्षीय वृद्धको हिजो बिहीबार राति करिब सवा १० बजे मृत्यु भएको हो ।

गत असार ३१ गते सप्तरीको राजविराजबाट प्रतिष्ठानमा उपचारका लागि भर्ना भएका बृद्धको मृत्यु भएसंगै प्रदेश १ मा पहिलो पटक कोरोना संक्रमणवाट मानिसको मृत्यु हो । प्रतिष्ठानका अनुसार मृतकको बिहीबार बेलुका करिब ६ बजे कोरोना भाइरस कोभिड १९ परीक्षणमा पोजेटिभ देखिएको र राती मृत्यु भएको हो ।

प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार मृतकलाई उच्च रक्तचाप, मधुमेह, मुटुको रोग रहेको थियो । अस्पतालमा सुरुमा ल्याउँदा प्रतिष्ठानको विशेष आइसोलेटेड इमेरजेन्सी कक्षमा राखेर उपचार गरिएको र कोरोना पुष्टि भएपछि कोरोनाको आइसोलेसन कक्षमा सारिएको उनले जानकारी दिएका छन् ।

प्रवक्ता सापकोटाले दीर्घकालीन शारीरिक रोगका बिरामी भएकाले पनि विशेष निगरानीसहित उपचारमा राखेको बताए । हाल उनको शव अस्पतालको शव राख्ने मर्चुरीमा राखिएको छ । यससँगै सरकारको निर्दिष्ट गरेको प्रक्रिया अन्तर्गत सुरक्षा निकायले शवको व्यवस्थापन गर्ने भएकाले त्यसको तयारी भइरहेको अस्पतालले जनाएको छ ।

मृतकको परिवारले नै अस्पतालमा उपचारका लागि ल्याएको हुनाले कन्ट्याक्ट ट्रेसिङका लागि उनीहरुको पीसीआर गर्न सकिने अस्पतालले जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४० पुगेको छ । तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसको आधिकारिक पुष्टि गर्न भने बाँकी छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !