१२ बैशाख २०८१, बुधबार

कैलालीमा कोरोना संक्रमणबाट २ जनाको मृत्यु


मृत्यु

कैलाली, ३ असार । कैलाली जिल्लामा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट एक जनाको मृत्यु भएको छ । शनिबार कोरोना पुष्टि भएका कैलाली, गोदावरी नगरपालिका-४ का ४६ वर्षीय सङ्क्रमित पुरुषको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

यसअघि नवजीवन अस्पतालको आइसोलेशन वार्डमा उपचार हुँदा कोरोना पुष्टि भएपछि सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएका उनको आइसियुमा राखेर उपचार भइरहेकामा आज साँझ मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले बताउनुभयो । उनको गए रातिदेखि नै स्वास्थ्यावस्था बिग्रिएदेखि नै उपचारका लागि काठमाडौँ लैजान एयर एम्बुलेन्सका लागि पहल भए पनि उपलब्ध हुन सकेको थिएन ।

साथै नेपालगञ्ज मेडिकल कलेजको कोहलपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएकी कैलालीकी १ महिलामा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ । मङ्गलबार राति मृत्यु भएकी कैलाली लम्की नगरपालिका-२ की ४३ वर्षीया महिलामा बुधबार कोरोना सङ्क्रमण पुष्टि भएको नेपालगञ्ज मेडिकल कलेजको कोहलपुर अस्पतालले जनाएको छ ।

नेपालगञ्ज मेडिकल कलेजका अनुसार मृत्यु भएकी महिलाको टाउकोमा चोट लागेर रगत जमेकोमा उहाँलाई जेठ ३१ गते आइतबार अस्पतालमा ल्याएर भर्ना गरिएको थियो । उपचार शुरु गरेर जेठ २ गते दिउँसो उहाँको स्वाब सङ्कलन गरी भेरी अस्पताल नेपालगञ्जमा परीक्षणका लागि लगिएकोमा बुधबार बेलुकी आएको रिपोर्टमा कोरोना सङ्क्रमण पुष्टि भएको सहनिर्देशक कनोडियाले बताउनुभयो ।

सहनिर्देशक कनोडियाका अनुसार ती महिलाको आइसियुमा राखेर उपचार भइरहेको थियो । योसँगै दुई दिनको अवधिमा मेडिकल कलेजमा मृत्यु भएका दुई महिलामा कोरोना पुष्टि भएको छ । यसअघि सोमबार मृत्यु भएकी बाँकेको बैजनाथकी एक महिलामा पनि कोरोना पुष्टि भएको थियो । श्वासप्रश्वासमा समस्या भएपछि उहाँ पनि उपचारको लागि जेठ ३० गते अस्पताल भर्ना भएकी थिइन् ।

कैलाली लम्कीकी महिलाको शव अहिले मेडिकल कलेजको शव गृहमा राखिएको छ । शव व्यवस्थापनका लागि सरोकारवालासँग छलफल भइरहेको पनि अस्पतालले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु