१४ बैशाख २०८१, शुक्रबार

गुल्मीमा कोरोना संक्रमित ३६ वर्षीय पुरुषको मृत्यु


काठमाडौँ, जेठ ३२ । गुल्मी जिल्लाका कोरोना भाइरस (कोभिड-१९) संक्रमित पुरुषको मृत्यु भएको छ । रेसुंगा नगरपालिका वडा नम्बर-९ को आइसोलेसनमा उपचाररत धुर्कोट गाउँपालिका-४ का ३६ वर्षीय युवकको शनिबार राति १० बजे मृत्यु भएको रेसुंगा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनीले पुष्टि गरेका छन् ।

उनी यही जेठ २ गते भारतबाट गुल्मीस्थित गाउँमा आएका थिए । जैसीथोकस्थित पाञ्चायन माविको क्वारेन्टिनमा बसेका बेला जेठ १२ गते उनमा कोरोना पुष्टि भएको थियो । त्यसलगत्तै थप उपचारका लागि जेठ १३ गते उनलाई तम्घासस्थित आइसोलेशनमा राखिएको थियो । उनको ३ पटकसम्म गरिएको स्वाब परीक्षणमा पोजिटिभ रिपोर्ट आएको थियो ।

उनी २ वर्षदेखि आन्द्राको क्यान्सर रोगले पीडित थिए । केही दिनदेखि उनको स्वास्थ्य अबस्था गम्भीर थियो । उनी आइसोलेशनको बेडमा जान र झर्न नसक्ने भएपछि उनको भुँइमै राखेर उपचार गरिएको थियो । उनी २ वर्षदेखि अर्बुद र पायल्सको रोगी समेत थिए । उनलाई थप उपचारका लागि बुटबल लैजानुपर्ने भएपनि अस्वीकार गरेको रेसुङ्गा नगरपालिकाले जानकारी दिएको छ ।

उनको शवलाई हिजो राति नै उनकै जन्मस्थान नजिकै जैसीथोकस्थित जङ्गलमा नेपाली सेनाले व्यवस्थापन गरेको पनि मरासिनीले जानकारी दिएका छन् ।  गुल्मीमा यस अगाडि कोरोना संक्रमणकै कारण मदाने गाउँपालिका वडा नं. ६ का ४१ वर्षीय शिक्षकको रुपन्देहीको क्रिमशन अस्पतालमा मृत्यु भएको थियो । यससँगै गुल्मीमा कोरोनाका कारण ज्यान गुमाउने २ जना पुगेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसको आधिकारिक पुष्टि गर्न भने बाँकी छ ।

गुल्मी जिल्लामा कुल कोरोना सङ्क्रमित ११ जना छन् । दुई जना कोरोना जितेर घर फर्केका छन् । अझै विभिन्न क्वारेन्टिनमध्ये रेसुङ्गा नगरपालिकामा ३ जना, रुरु गाउँपालिकामा २ जना तथा धुर्कोट र छत्रकोट गाउँपालिकामा १/१ जना कोरोना संक्रमित छन् । उनीहरुको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु