रुकुम पूर्व, १४ वैशाख । रुकुम (पूर्व) मा एक युवतीको हत्या आरोपमा दुई बालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर ८ खराङकी २२ वर्षीया दिलकुमारी सेनको हत्याको आरोपमा शनिबार सोही ठाउँका १५ र १६ वर्षीय दुई किशोरलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
अभियुक्तले दाउराका लागि रुख ढाल्ने क्रममा वनबाट दाउरा लिएर घर फर्कँदै गरेकी सेनलाई च्यापेको थियो । शनिबार साँझ जिल्ला अस्पताल रुकुमकोटमा उपचारका क्रममा सेनको मृत्यु भएपछि अनुसन्धानका लागि दुई किशोरलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक दिनेश गुरुङले बताउनुभयो ।
घटनाको अनुसन्धानका लागि उनीहरुलाई आज जिल्ला अदालतमा पेश गरी पाँच दिनको म्याद थप गरिएको प्रहरी निरीक्षक गुरुङले जानकारी दिनुभयो । १८ वर्षमुनिका भएकाले प्रहरीले उनीहरुको नाम सार्वजनिक गरेको छैन । उनीहरुको मुद्दा बाल इजालसमा सुनुवाइ हुने प्रहरीले जनाएको छ ।