९ जेष्ठ २०८१, बुधबार

जीविकोपार्जनको जुक्ति निकाल्दै सर्वसाधारण


खाद्यान्न पसल

काठमाडौँ, १० वैशाख । कालिकोटको सुकुटेका रतन परियार लकडाउनअघि कालिमाटीको एउटा पसलमा काम गर्नुहुन्थ्यो । जडीबुटीमा बस्दै आउनुभएका उहाँकी श्रीमती रामकुमारीले तरकारी बेच्नुहुन्थ्यो । त्यतिबेलासम्म जेनतेन गुजारा चलेकै थियो । लकडाउनपछि छ जनाको परिवारलाई हातमुख जोर्न समस्या भयो । अहिले परिवारका सबै जना मनोहरा खेला छेउमा तरकारी उत्पादनमा लागिपरेका छन् । उनीहरु तरकारी उत्पादनदेखि बिक्रीसम्मको काम गर्दै आएका छन् ।

ओखलढुङ्गा चिसङ्खुगढीका धनराज ठकुरी तीन वर्षदेखि मनहोरा खोला किनारमा बाख्रापालन गर्दै आउनुभएको छ । अहिले लकडाउनमा उहाँको व्यवसाय ठप्प छ । ठकुरी परिवारलाई जीविकोपार्जन गर्न गाह्रो भएको छ । त्यसैले उनीहरु पनि मनोहोरा छेउछाउ तरकारी उत्पादन तथा बिक्रीमा जुटेका छन् । उहाँको खोरमा २२ खसीबाख्रा छन् । लकडाउनयता उहाँकोमा कोही पनि खसीबाख्रा किन्न आउनुभएको छैन । “तरकारी बिक्रीको पैसाले घर खर्च चलाउन सजिलो भएको छ”, ठकुृरीले भन्नुभयो ।

जडीबुटीदेखि मुलपानीसम्मको क्षेत्रमा मनहोरा वारिपारि दुवैतर्फ अहिले सर्वसाधारण धमाधम तरकारी उत्पादन तथा बिक्रीमा जुटेका छन् । यो सबैथोक गर्दा उनीहरुले सरकारले घोषणा गरेको लकडाउनको उत्तिकै ख्याल गरेका छन् । “खेतमा काम गर्न खासै समस्या छैन”, सनसिटीवारि तरकारी लगाउँदै गरेका परियारले भन्नुभयो, “तरकारी बिक्री गर्न पहिलाको जस्तो सहज छैन, निश्चित समयमा तरकारी बजारमा लगेर बिक्री गरिसक्नुपर्छ ।” सनसिटीमा कोरोना भाइरसबाट सङ्क्रमित व्यक्ति फेला पर्नुअघि परियार परिवारले त्यहीँ वरपर तरकारी बेच्ने गर्दथ्यो । अहिले उक्त क्षेत्रमा पहिलाको जस्तो तरकारी बिक्री गर्न नदिएको परियारले बताउनुभयो । “अचेल तरकारी बजारमा लगेर बिक्री गर्छु”, एक दशकदेखि काठमाडौँमा मजदुरी गर्दै आउनुभएका परियारले भन्नुभयो ।

कोरोना भाइरसको सङ्क्रमण फैलिने खतरालाई ध्यानमा राख्दै स्थानीय प्रहरी प्रशासनले तरकारी बजार बिहान दुई तीन घण्टा मात्र खोल्ने अनुमति दिएको छ । तोकिएको समयमा उपभोक्ता र व्यवसायीले खरिद बिक्री गरिसक्नुपर्छ । अहिले मनहोरा खोलाको दुवैतर्फ फाँटमा सयौँ व्यक्ति तरकारी उत्पादनदेखि बिक्रीवितरण गरिरहेका भेट्टिन्छन् । उनीहरु अधिकांशको आर्थिक अवस्था कमजोर छ । लकडाउनअघि विभिन्न ठाउँमा मजदुरी गर्दै आएका सर्वसाधारणले अहिले जीविकोपार्जनका लागि तरकारी लगाउने तथा उत्पादित तरकारी बिक्री गर्दै आएका छन् ।

लकडाउनको समयमा जीविकोपार्जनका लागि उनीहरुले जुक्ति निकालेका हुन् । काठमाडौँ महानगरपलिका–३२ की अनिता घिमिरे तरकारी बिक्रीबाट दैनिक रु ५०० सम्म आम्दानी हुने गरेको बताउनुहुन्छ । “जेनतेन घर खर्च चलाउनका लागि पुगेकै छ”, उहाँले भन्नुभयो । साँझ बिहान तरकारी किन्न उपभोक्ता खेतमै पुग्ने गरेका छन् । अरु बेला भने प्रहरीले दिँदैन । सो क्षेत्रमा प्रहरी परिचालन गरिएको छ । “हामीले खेतमा भीडभाड हुन दिएका छैनौँ” त्यहाँ खटिएका एक प्रहरीले भन्नुभयो, “निश्चित दूरी कायम गराएर मात्रै किनबेच गर्न दिन्छौँ ।”

महानगरीय प्रहरी परिसर काठमाडौँका निमित्त प्रमुख प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले उपत्यकामा तरकारी बिक्री वितरण सहजरूपमा भइरहेको जानकारी दिनुभयो । “बिक्री वितरणमा कुनै समस्या आएका छैन, हामीले यसलाई व्यवस्थित पारेका छौँ”, उहाँले भन्नुभयो । अहिले उपत्यकाका ११ ठाउँबाट तरकारी बिक्री वितरण भइरहेको राठौरले बताउनुभयो । “तरकारी ढुवानी तथा बिक्री वितरणको समय बिहान २ बजेदेखि ८ बजेसम्म तोकेका छौँ”, उहाँले भन्नुभयो । लकडाउनअघि विभिन्न व्यवसाय गर्दै आएकाहरुले पनि अहिले तरकारी किनबेचको काम गर्न थालेको उहाँले बताउनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !