झापा, ११ कात्तिक । अदालतबाट दुई महिना कैद र रु एक करोड १५ लाख जरिवाना ठहर भएका एक फरार अभियुक्त एक वर्षपछि आज पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय, झापाका सूचना अधिकारी राकेश थापाका अनुसार बैङ्किङ कसुर सम्बन्धी अभियोगमा गत पुस १४ मा उच्च अदालत, विराटनगरको इजलासले कनकाइ नगरपालिका ३ निवासी ५५ वर्षीय राजेन्द्र प्रसाद प्रसाईँलाई एक महिना कैद र रु २५ लाख बिगोसहित दुवै सजाय तोकेको थियो ।
प्रसाईंकै नाममा सुरेन्द्रकुमार उप्रेतीले दिएको जाहेरीका आधारमा सोही मुद्दामा सो अदालतले ०७६ पुस २१ गते एक महिना कैद र रू ९० लाख बिगोसहित दुवै सजाय फैसला गरेको थियो । प्रवक्ता थापाले कार्यालय खुलेपछि प्रतिवादीलाई अदालतमा उपस्थित गराइ थप कानूनी कारबाही अघि बढाइने बताउनुभयो ।
झापा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले अभियुक्तलाई आफ्नै गाउँबाट पक्राउ गरेको थापाले जानकारी बताउनुभयो । प्रसाईँलाई कार्यालय खुलेपछि अदालत समक्ष उपस्थित गराइने छ ।