२१ पुस २०८१, आइतबार

डब्लूएचओमा जागिर लगाइदिने लोभ देखाएर ठगी


पक्राउ

काठमाडौँ, २४ असार । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) मा जागिर लगाइदिने लोभ देखाएर एक व्यक्तिले लाखौँ ठगी गरेको खुलेको छ । नवलपुरको देउचुलीस्थित प्रगतिनगरका विजय पाण्डेले आफू विश्व स्वास्थ्य सङ्गठनको कर्मचारी हुँ भन्दै जागिर लगाइदिने बहानामा रकम ठगेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

डब्लूएचओमा जागिर खुलेको भन्दै चितवन भरतपुरकी अस्मिता अधिकारीलाई सम्पर्क गरी अफर लेटर, रिलाइबल नेपाल लाइफ इन्सुरेन्स कम्पनीका कागजातसमेत बनाई विश्वासमा पारी गत वैशाखमा आईएमईमार्फत रु एक लाख ८२ हजार लिएर फरार भएका थिए । उजुरीका आधारमा खोजी अभियानका क्रममा महाशाखाको टोलीले उनलाई पक्राउ गरेपछि उक्त रहस्य खुलेको हो ।

उनलाई मङ्गलबार काठमाडौँको बानेश्वरबाट पक्राउ गरी ठगी कसूरमा अनुसन्धान तथा कारवाहीका लागि आज महानगरीय प्रहरी परिसर, टेकुमा बुझाइएको महाशाखाका प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिनुभयो ।

अनुसन्धानका क्रममा उनले अन्य व्यक्तिलाई समेत ठगी गरेको खुल्न आएको छ । काठमाडौँका फर्निचर व्यवसायी धनबहादुर विष्टबाट रु १८ लाखको फर्निचर किन्छु भनी रु ५० हजार ठगी गरेको, चितवन भरतपुरका निशानबाबु घिमिरेलाई विश्व स्वास्थ्य सङ्गठनको नेपालस्थित कार्यालयमा जागिर लगाइदिने भनी रु तीन लाख ५० हजार ठगी गरेको पाइएको छ ।

यस्तै अछामकी रञ्जु बुढालाई एक वर्षसम्म नक्कली कार्यालयमा काम लगाइ तलब नदिई ठगी गरेको र नवलपरासी बस्ने दीपक खनाल, धनबहादुर क्षेत्री, मनाङका कासी गुरुङ तथा ठेगाना नखुलेका सरिता भण्डारी, रमा घिमिरेसमेतलाई जागिर लगाउने लोभ देखाएर ठगी गरेको खुल्न आएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !