मनाङ । मनाङको नासो गाउँपालिका-४ खोत्रोमा हिजो शनिबार दिउँसो भएको ट्रक दुर्घटना मृत्यु हुनेको संख्या ६ जना पुगेको छ । प्रहरीका अनुसार सिमेन्ट बोकेर जाँदै गरेको ट्रक उकालो चढ्ने क्रममा अनियन्त्रित भइ ब्याक हुँदा सडकबाट करिब ४५ मिटर तल मर्स्याङ्दी नदीको किनारमा खसेका थियो ।
घटनास्थलमै ३ जनाको मृत्यु भएकोमा उपचारका लागि लमजुङ ल्याउने क्रममा थप २ जनाको बाटोमा र १ जना पुरानो मेडिकल कलेज चितवनमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मनाङले जानकारी दिए ।
लमजुङ सदरमुकाम बेसीशहरबाट सिमेन्ट बोकेर मनाङ सदरमुकाम चामे जाँदै गरेको ध १ ख ५९२ नम्बरको ट्रक दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको थियो। मृत्यु हुनेमा मनाङको नासो गाउँपालिका ४, ओडार गाउँका अन्दाजी डेढ वर्षका लियोन गुरुङ, ३५ वर्षीया मनिषा गुरुङ र अन्दाजी ३१ वर्षीया जलकाशी गुरुङको घटनास्थलमै मृत्यु भएको हो। मृतक लियोन मनिषाको छोरा हुन् । मनिषा र जलकाशी दिदीबहिनी हुन् ।
दुर्घटनामा गम्भीर घाइतेमध्ये २ जनाको ट्रकका सहचालक लमजुङको मर्स्याङ्दी गाउँपालिका ५, घेर्मुका २१ वर्षीय लक्ष्मण नेपाली र चामे गाउँपालिका ४ का २८ वर्षीय राजु विकलाई उपचारका लागि ल्याउने क्रममा बाटोमै मृत्यु भएको र गएराती उपचारको क्रममा नासो गाउँपालिका १ तालका ३ वर्षका थियोन गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते ट्रकका चालक तनहुँको भानु नगरपालिका ३ का २४ वर्षीय सुमन तामाङ, अन्दाजी ६ वर्षीय नियोल गुरुङको जिल्ला अस्पताल लमजुङमा प्रारम्भिक उपचारपछि पुरानो मेडिकल कलेज चितवनमा रिफर गरिएको छ ।