४ जेष्ठ २०८१, शुक्रबार

ट्रयाक्टर दुर्घटनाः सहचालकको मृत्यु, चालक घाइते


दुर्घटना

खोटाङ । ट्याक्टर दुर्घटना हुँदा खोटाङमा आज सोही ट्रयाक्टरका सहचालकको मृत्यु भएको छ । सप्तरीको फत्तेपुरबाट धान लिएर खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरी जाँदै गरेको सु–प–प्र–०१–००२ त ४२९८ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा उदयपुरको लिम्चुङ्बुङ गाउँपालिका–४ बलम्ताका १८ वर्षीय किरण राईको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा सोही ठाउँका ट्रयाक्टर चालक १९ वर्षीय तुजन राई गम्भीर घाइते भएको इन्द्रेणीपोखरीका वडाध्यक्ष देवेन्द्र राईले बताउनुभयो । सिम्पानी–रोक्सिमभञ्ज्याङ सडकखण्डअन्तर्गत इन्द्रेणीपोखरीको मेर्लामा अनियन्त्रित भएको ट्रयाक्टर सडकबाट पल्टिएर करीब तीन मिटर तल खसेको प्रत्यक्षदर्शीले बताएका छन् ।

दुर्घटनालगत्तै घटनास्थलमा इलाका प्रहरी कार्यालय खोटाङबजार र प्रहरीचौकी सिम्पानीबाट प्रहरी पुगेका छन् । घाइतेलाई कम्मरमुनिको भाग नचल्ने अवस्थामा उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रोक्सिमभञ्ज्याङ पुग्नुभन्दा करीब आधा घण्टा अगाडि ट्रयाक्टर दुर्घटनामा परेको स्थानीय बासिन्दाले जनाएका छन् । शव परीक्षणका लागि उदयपुर पठाउने तयारी गरिएको प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !