८ मंसिर २०८१, शनिबार

निर्मला पन्त प्रकरणः फरार पूर्वप्रहरी उपरीक्षक विष्ट अदालतमा उपस्थित


निर्मला

५ चैत, भीमदत्तनदगर । कञ्चनपुर भीमदत्तनगरपालिका–२ का १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा सार्वजनिक न्याय र यातनाविरुद्धको कसुर मुद्दामा फरार अभियुक्त डिल्लीराज विष्ट आज बिहान अदालतमा उपस्थित भएका छन् । विष्ट जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक हुनुहुन्छ । हाल उहाँ बर्खास्त हुनुहुन्छ ।

कञ्चनपुर जिल्ला अदालतका श्रेष्तेदार हरिकष्ृण अवस्थीले अदालतको ३५ दिने सूचना जारी भएका बेला बर्खास्त प्रहरी उपरीक्षक विष्ट केहीबेर अघि अदालतमा निवेदनसहित उपस्थित भएको बताउनुभयो ।

निर्मला पन्त हत्या प्रकरणमा विष्टसहित केही प्रहरी कर्मचारीविरुद्ध निर्मलाका आमा दुर्गादेवी पन्तले सार्वजनिक न्यायविरुद्धको कसुर र भीमदत्तनगरपालिका–१९ बागफाँटाका दिलीपसिंह विष्टका दाजु खड्क विष्टले यातनाविरुद्धको कसुरमा गत पुसमा उजुरी दिएका थिए । श्रेष्तेदार अवस्थीले अदालतमा उपस्थित भएका विष्टको बयानपछि थुनछेक बहस हुने जानकारी दिनुभयो ।

उहाँसँगै अदालतमा अनुपस्थित रहेका प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) का प्रहरी नायब उपरीक्षक अङ्गुर जिसी भने उपस्थित भएका छैनन् । मुद्दाका आरोपी अन्य प्रहरी कर्मचारी यसअघि जिल्ला अदालत कञ्चनपुरबाट धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत कञ्चनपुरले उनीहरुलाई रु दुई लाख ५० हजारदेखि पाँच लाखसम्म धरौटी लिएर रिहा गर्न आदेश दिएको थियो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !