१२ मंसिर २०८१, बुधबार

ठूलो परिमाणमा घरेलु मदिरा नष्ट


Nepalpatra

२८ मङ्सिर, काठमाडौँ । महानगरीय प्रहरी परिसरले आज ठूलो मात्रामा बजारमा लैजान तयारी अवस्थामा राखिएका अवैध घरेलु मदिरा नष्ट गरेको छ ।

घरेलु मदिरा नियन्त्रण अभियानअन्तर्गत प्रहरीले बूढानीलकण्ठ नगरपालिका–१० स्थित कपन र सोही नगरपालिका ११ स्थित लसुनटारबाट सात हजार ५०० लिटर तयारी घरेलु मदिरा नष्ट गरेको हो । अभियानअन्तर्गत नै मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ (कोदो, मकै, गहुँ र भातको) १५ हजार ७०० लिटर नष्ट गरिएको प्रहरीले जनाएको छ ।

अवैध रुपमा उत्पादन गरिएको उक्त मदिरा र कच्चा पदार्थ स्थानीय वासिन्दा, वडा प्रतिनिधि र सञ्चारकर्मीको रहोवरमा नष्ट गरिएको हो । प्रहरीले मदिरा उत्पादन गर्न प्रयोग गरिने २०० लिटरको प्लास्टिकको ड्रम २७ वटा, २० लिटरको प्लास्टिकको ड्रम २३ वटा, प्लास्टिकका बाटा २६ वटा बरामद गरिएको महागरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिनुभयो ।

अभियानअन्तर्गत महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्द र महानगरीय प्रहरी प्रभाग कपनका प्रहरी निरीक्षक मीनबहादुर कुँवर क्षेत्रीको नेतृत्वको टोलीले बूढानीलकण्ठ नगरपालिकाको विभिन्न स्थानमा अवैध मदिरा उत्पादनस्थलको खोजी गरेको थियो ।

सो क्रममा बूढानीलकण्ठ नगरपालिका १० स्थित कपन र सोही नगरपालिकाको वडा नं ११ को लसुनटारमा खाली जग्गा भाडामा लिएर टहरो निर्माण गरी अवैध घरेलु मदिरा उत्पादन तथा बिक्री वितरण हुँदै आएको पाइएको थियो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !