१२ मंसिर २०८१, बुधबार

कुटपिटबाट ज्यान गएपछि आठजना प्रहरी नियन्त्रणमा


पक्राउ

२४ कात्तिक, परासी । पश्चिम नवलपरासीमा अपरिचित समूहको कुटपिटबाट एकजनाको मृत्यु भएको छ । अर्का एकजना गम्भीर घाइते भएका छन् ।

बिहीबार राति जिल्लाको सुनवल नगरपालिका वडा नं १० स्थित गैँडाखाल गाउँमा युवाबीच आपसी विवाद हुँदा कुटपिटसमेत भएको प्रहरीले जनाएको छ ।

कुटपिटमा परी गम्भीर घाइते भएका सुनवल–१ बस्ने ३०/३२ वर्षीय गङ्गा कुमालको मृत्यु भएको हो । कुमाललाई इलाका प्रहरी कार्यालयले जिल्ला अस्पताल परासीमा उपचारका लागि पु¥याएकामा अस्पतालले राति नै मृत घोषणा गरेको थियो । उनको टाउकामा गहिरो चोट लागेको थियो । अर्का गम्भीर घाइते सोही ठाउँ बस्ने १६÷१७ वर्षीय राम कुँवरको भरतपुरको पुरानो मेडिकल कलेजमा उपचारपछि घर फर्केको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिनुभयो । उनको पनि टाउकामा चोट लागेको थियो ।

कुटपिटमा भाटो र चिर्पट प्रयोग भएको प्रहरीले जनाएको छ । के कारणले र कसले कुटपिट गरेको भन्ने नखुलेकाले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले सोही दिन नौजना शङ्कास्पद व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो । सोधपुछपछि छजनालाई सोही दिन छोडिएको र बाँकी तीनजनासहित थप पाँचजनालाई नियन्त्रणमा लिई सोधपुछ भइरहेको प्रहरी उपरीक्षक भट्टले जानकारी दिनुभयो । अहिले प्रहरी नियन्त्रणमा आठजना रहेका छन् ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !