११ मंसिर २०८१, मंगलबार

बस दुर्घटनाः एकको मृत्यु, ५८ घाइते


durghatana

३० साउन, नुवाकोट । विदुर नगरपालिका–९ लामाटारमा आज बिहान भएको बस दुर्घटनामा भएका घाइतेमध्ये एक जनाको मृत्यु भएको छ ।

म्यागङ गाउँपालिका– २ बुङ्ताङबाट काठमाडौंँका लागि छुटेको वा २ ख २८०४ नम्बरको बस दुर्घटना हुँदा घाइते भएकी विदुर–७ तुप्चेकी ५६ वर्षीया मोतीमाया तामाङको उपचारका क्रममा काठमाडौँमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिनुभयो । हेलिकप्टरमा काठमाडौंँ लगिएकी तामाङको ग्राण्डी अस्पतालमा उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ५८ जना घाइते भएकामा आठ जनालाई उपचारका लागि काठमाडौंँ लगिएको छ । गम्भीर अवस्थाका साल्मेका ५६ वर्षीय प्रेमसिह तामाङ, ५७ वर्षीय होमबहादुर तामाङ, २० वर्षीया दिवामाया तामाङ, ७५ वर्षीय छिरिङ तामाङ, ५६ वर्षीय पूर्वबहादुर लामा तामाङ, वीरबहादुर विक, उत्तम तामाङ र ४० वर्षीया मङ्गलीमाया तामाङलाई थप उपचारका लागि काठमाडौंँ पठाइएको हो । उनीहरुको राजधानीका ग्रीनसिटी र ग्राण्डी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । अन्य घाइतेको त्रिशूली अस्पतालमा उपचार भइरहेको बताइएको छ । मिनीट्रकलाई बाटो दिने क्रममा सडकको डिल भासिएर दुर्घटना हुँदा बस ४० मिटर तल कोदोबारीमा पुगेको थियो ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !