२ साउन, पर्वत । गएरातिदेखि परेको अविरल वर्षाका कारण पर्वतको जलजला गाउँपालिका–८, लस्ती बेरनेटामा एक किशोर बेपत्ता भएका छन् ।
राति अन्दाजी १ बजेको समयमा स्थानीय बमबहादुर परियारको ढुंगा माटोले बनेको टिनले छाएको एकतले कच्ची घरको माथिबाट आएको पहिरोले घर बगाउँदा परियारका १६ वर्षीय छोरा विकास परियार बेपत्ता भएका हुन् । उनी पहिरोमा पुरिएको हुनसक्ने प्रहरीको अनुमान रहेको छ ।
अविरल वर्षाकै कारण उक्त गाउँका १५ घरसमेत पूर्ण जोखिममा परेका छन् । पहिरोबाट जोखिममा परेका बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा राखिएको प्रहरीले जनाएको छ । वर्षाकै कारण जलजला गाउँपालिका–७, धाइरिङ, बास्कोट बस्ने भिमलाल आचार्यको घर पहिरोको कारण भत्किएको छ ।
घर भत्किँदा राति सुतिरहेका छजना घाइते भएका छन् । घाइतेको ढाड भाँचिएको, टाउकोमा गम्भीर चोट लागेकाले उपचारका लागि अस्पतालतर्फ लगिएको प्रहरीले जनाएको छ । ठाउँठाउँमा बाटो अवरुद्ध भएकाले सुरक्षा निकाय घटनास्थलसम्म पुग्न सकेको छैन ।
स्थानीयवासीले उद्धार कार्य जारी राखेको प्रहरीले जनाएको छ । अहिले प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालसहित सुरक्षा निकाय, रेडक्रसलगायत बन्दोबस्तीका सामान लिएर घटनास्थलमा पुगेको छ ।
बेनी—मालढुंगा सडक अवरुद्ध
यसैबीच, कुश्मा नगरपालिका–१ पाङस्थित मालढुंगादेखि म्याग्दी र मुस्ताङ जोड्ने मालढुंगा–बेनी सडक गएरातिदेखि अवरुद्ध भएको छ ।
गएरातिदेखि परेको अविरल वर्षाका कारण जलजला गाउँपालिका–८, लस्तीमा रहेका सांरगी, लस्ती, जुके र डम्डारे खोलामा आएको बाढीका कारण सडक अवरुद्ध भएको हो । पहिरोका कारण नजिकै रहेका दुई घरमा समेत क्षति पुगेको छ ।
त्यस्तै, सडकमा गुडिरहेको ध १ ज ५४२ नम्बरको एक ट्याक्सी बाढीले बगाएर कालीगण्डकी नदीमा पु¥याएको छ । ट्याक्सीमा सवार यात्रु भने सकुशल रहेको ट्राफिक प्रहरी कार्यालयका सुदीप सापकोटाले जानकारी दिनुभयो ।
ठूलो वर्षा भएका कारण तत्काल सडक खुलाउन नसकिएको हो । अहिले मिलनचोक प्रहरी चौकी र जिल्ला ट्राफिक प्रहरी कार्यालयको टोली पहिरो गएको स्थानमा पुगेर सडक खुलाउन पहल गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
सडक अवरुद्ध हुँदा म्याग्दीको बेनी र हिमालपारिको जिल्ला मुस्ताङबाट छुटेका लामो तथा छोटो दूरीका सवारीसाधन पर्वतको मिलनचोकमा अलपत्र परेका छन् भने अन्यबाट ती जिल्लामा आएका सवारीसाधन खनियाँघाटमा अलपत्र परेका छन् । सडक खुलाउनका लागि एस्काभेटर र डोजर मगाएर पन्छाउने काम भइरहेको छ ।(रासस)