५ असार २०८१, बुधबार

नेपालमा कोरोना संक्रमणवाट चौथो व्यक्तिको मृत्यु भएको पुष्टि


स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

१२ जेठ, वीरगञ्ज । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणवाट चौथो व्यक्तिको मृत्यु पुष्टि भएको छ । बाराको कलैया उपमहानगरपालिका-७ का ७० वर्षीय वृद्धको मृत्यु भएको ९ दिनपछि कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंग गर्दै प्रवक्ता  डा. विकास देवकोटाले सो कुराको जानकारी दिएका हुन् ।

उपचारको क्रममा जेठ ४ गते राति वीरगञ्जको नेशनल मेडिकल कलेजमा मृत्यु भई अन्त्येष्टि गरिसकेका वृद्धमा कोरोना संक्रमण पुष्टि भएको हो । वीरगञ्जस्थित नारायण उपक्षेत्रीय अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा रिपोर्ट शंकास्पद आएपछि उनको स्वाब पुनः परीक्षणका लागि काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । तर त्यसको रिपोर्ट १० दिनपछि आज सोमबार आएको हो ।

क्षयरोग, दम र निमोनियाबाट ग्रसित वृद्धलाई उनको परिवारले जेठ २ गते अस्पतालको भेन्टिलेटरमा भर्ना गराएका थिए । तर, कोरोना परीक्षणको रिपोर्ट नआउँदै जेठ ४ गते राति वृद्धको मृत्यु भएको थियो । अस्पतालले वृद्धको शव परिवारको जिम्मा लगाएपछि मृतकका आफन्तले पनि धार्मिक परम्परा अनुसार उनको अन्त्येष्टि गरिसकेका छन् ।

कोरोना आशंकामा स्वाब परीक्षण गरेर रिपोर्ट नै नआएको खण्डमा नेशनल मेडिकल कलेजले शव परिवारलाई दिएर गम्भीर लापरबाही गरेको देखिएको छ । यस्तै स्वाब संकलन भएको लामो समयसम्म रिपोर्ट नआउँदा संक्रमण फैलिन सक्ने जोखिम बढेको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या ६८२ पुगेको छ । नेपालमा कोरोनालाई जितेर अस्पतालवाट डिस्चार्ज भई घर फर्किनेको संख्या ११२ पुगेको छ । यसअघि नेपालमा सिन्धुपाल्चोकमा १ जना र बाँकेमा १ जना र गुल्मीको १ जना गरी ३ जनाको मृत्यु भएको थियो भने आज १ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणवाट अहिलेसम्म ४ जनाको मृत्यु भएको हो ।

यो पनि पढ्नुहोस्

नेपालमा संक्रमितको संख्या ६८२ पुग्यो, आज फेरि थपिए कोरोनाका नयाँ ७ संक्रमित

नेपालमा कोरोना संक्रमणवाट तेस्रो व्यक्तिको मृत्यु


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !